logo
२०८१ जेष्ठ ३ बिहीवार



म्याग्दीको तातोपानी कुण्डमा चहलपहल बढ्न थाल्यो

प्रदेश |
पर्यटन |


म्याग्दीको तातोपानी कुण्डमा चहलपहल बढ्न थाल्यो



अमृतप्रसाद पौडेल
बेनी, फागुन ११ गते । विश्वभर फैलिएको (कोभिड–१९)कोरोना भाइरस सङ्क्रमणको जोखिम केही मात्रै भए पनि कम भएपछि हिमाली जिल्ला म्याग्दीको तातोपानी कुण्डमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बेनी नगरपालिकाको ४ नम्बर वडामा पर्ने प्राकृतिक चिकित्सालयको रुपमा लिइने तातोपानी कुण्डमा आउने बिरामीहरु बढेका हुन् ।
कोभिड–१९ को जोखिमलाई कारण देखाउँदै स्थानीय प्रशासनले बन्द गराएको तातोपानी कुण्ड पछिल्लो समय देशभर नै सङ्क्रमण घट्दै गएपछि फागुन १ गतेदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको गरिएको थियो । अहिले कुण्डमा दैनिक महिला दुई सयजना र पुरुष एक सय जनाले नियमित नुहाउने गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।
जोखिम कम भएको भए पनि पूर्ण रुपमा जोखिम मुक्त भएको अवस्था नरहेकोले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि अनुमति दिइएको अध्यक्ष शाक्यको भनाइ छ । अहिले कुण्डमा दुई जना विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीहरुले नुहाइरहेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । खुट्टाको दुखाईका कारण आएकोमा तातोपानी कुण्डमा नुहाएपछि दुखाई कम हुँदै गएको पोखरा लामाचौरकी आछेम गुरुङले अनुभव सुनाउनुभयो ।
पिठ्युँ तथा खुट्टाको दुखाइ कम हुने उद्देश्यसहित आएकी पोखरा महानगरपालिका हबेलीमार्गकी मैना सुवेदी पनि कुण्डमा नुहाउँदै आउनुभएको छ । सुवेदी आफ्नो पिठ्युको दुखाई कम हुने अपेक्षासहित आएको सुनाउनुभयो ।
तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्र्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?