logo
२०८१ मंसिर ११ मंगलवार



चौँतीस किलोमिटर सडक कालोपत्रे

प्रदेश |


चौँतीस किलोमिटर सडक कालोपत्रे


काभ्रे समाचारदाता

काभ्रे, फागुन १६ गते । काभ्रेको धुलिखेल नगरपालिकाले चार वर्ष पाँच महिनाको अवधिमा ३४ किलोमिटर सडक कालोपत्रे गरेको छ । स्थानीय तहको निर्वाचन अगाडि १२.५ किलोमिटर मात्र कालोपत्रे रहेको धुलिखेलमा अहिले ४६.५ किलोमिटरमा कालोपत्रे सडक पुगेको नगरपालिकाले जनाएको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठले नगरपालिकाका १२ वटै वडामा कालोपत्रे पु¥याउन काम भइरहेको बताउनुभयो । यस अवधिमा पाँच किलोमिटर सडक ढलान, ७१ किलोमिटर सडक ग्राभेल र ३२० किलोमिटर माटे सडक निर्माण गरेको नगरप्रमुख व्याञ्जूले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाले पक्की नाली ३० किलोमिटर र कच्ची नाली ३१० किलोमिटरसहित ३४० किलोमिटर नाली निर्माण गरेको जनाएको छ । ‘एक घर एक धारा’ अभियानमा रहेको धुलिखेलले साढे चार वर्षमा दुई हजार ५१९ घरधुरीमा खानेपानी पु-याएको दाबी गरेको छ । नगरपालिकाभित्रका पाँच हजार ७१६ घरधुरी अर्थात् ८१ प्रतिशतमा खानेपानी पुगेको जनाएको छ ।

तीन स्वास्थ्य चौकी र १७ विद्यालयका २४ भवन साढे चार वर्षमा निर्माण भएको छ । आर्थिक वर्ष २०७४/२०७५ देखि २०७७/२०७८ सम्ममा पालिकाले दुई अर्ब ६० करोड ४२ लाख ६९ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार रुपियाँ खर्च भएको थियो । चालू आवको माघ मसान्तसम्ममा ६३ करोड ५० लाख पाँच हजार रुपियाँ आम्दानी र ३९ करोड ४१ लाख ३० हजार रुपियाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख व्याञ्जूले धुलिखेल नगरलाई समुन्नत आर्थिक सहरका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, सबै विद्यालयलाई डिजिटल प्रविधि, निरपेक्ष गरिबीमुक्त नगर, शतप्रतिशत घरमा शुद्ध खानेपानी, एक घर एक महिला उद्यमी, उज्यालो सहर, सुकुम्बासी र छुवाछूत मुक्त नगर तथा स्वस्थ सहरको अवधारणा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले तरकारी, दूध, अण्डा, मासु र खाद्यान्नमा आत्मनिर्भर नगर, एक वडा एक व्यायामशाला, योग तथा ध्यान केन्द्र निर्माण, एक वडा एक उद्यम विद्यालय, पर्यटन तथा अपाङ्गमैत्री पदमार्ग, बहुउद्देश्यीय धुलिखेल बसपार्क, घरदैलोमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने योजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?