जिरी समाचारदाता
चरीकोट (दोलखा), फागुन २२ गते । डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुमलगायतका सामग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामग्री हुन् । बाँस र निगालोको मसिनो कप्टेरा तथा चोयाबाट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक वस्तुभित्र पर्छ तर हिजोआज यी सामग्री निर्माण गर्ने मानिस गाउँघरमा कमै छन् । भीमेश्वर नगरपालिका–४, जिलु, सुप्लुङ्गाका भोजबहादुर नगरकोटीले यो सामग्री बुन्न ३७ वर्षअघि सिक्नुभएको थियो । दैनिक जीवनमा आवश्यक डोको, डालो, थुन्से २०४२ सालमा चरीकोटस्थित हाटबजारमा एक महिनासम्म धाउँदा पनि नपाएपछि करिब दुई महिना लगाएर सिकेको उहाँ बताउनुहुन्छ ।
“त्यस समय सुस्पाको थामी समुदायले चरीकोटको हाटबजारमा बिक्री गर्न ल्याउँथे तर म हाट पुग्दा अरूले उठाइसक्थे,” भोजबहादुरले भन्नुभयो, “हाटबजारमा नपाएपछि किनेर ल्याएको डोको हेर्दै सिकेँ र दुई महिनामा राम्रैसँग डोको बुन्न थालँे । ” ६३ वर्षीय नगरकोटीले अहिले डोको, थुन्से, भकारीलगायतको सामग्री बुनेर बिक्री गर्दै आउनुभएको छ । गाउँमा यस्ता सामग्री बनाउने कम रहेकाले माग उच्च छ ।
गाउँघरमा घाँस दाउरा, मल, अन्न तथा फलफूल बोक्न डोको र थुन्सेको माग बढिरहेको उहाँले बताउनुभयो । डोको दिनमा दुई वटासम्म र थुन्से तथा भकारी एउटा बनाउन सकिने उहाँले बताउनुभयो । डोको हाल बजारमा चार सय, थुन्से तीन सय र भकारी आठ सय रुपियाँसम्म बिक्री हुन्छ ।
वडा नं. ४ जिलु, डाँडागाउँका ७६ वर्षीय अक्कलबहादुर कुमालले पनि लामो समयदेखि डोको, थुन्से बुन्दै आउनुभएको छ । घरायसी प्रयोजन र नजिकको छिमेकीका लागि मात्रै डोको, थुन्से बुन्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “यस्तो काम युवाले नजानेको र सिक्ने प्रयाससमेत नगरेकोले चिन्ता बढेको छ । ”
करिब एक हजार घरधुरी रहेको जिलु कृषि तथा पशुपालनको मुख्य केन्द्र भए पनि कृषि कर्मका लागि अत्यावश्यक सामग्री निर्माणमा कसैले पनि चासो दिएका छैनन् ।वडा नं. ४ का वडाध्यक्ष हरिवंश चौलागाईंले कृषिसँग सम्बन्धित सबै कार्यमा सहयोग गरेको भए पनि यस काममा नागरिकको चासो नभएकोले पालिकाको कार्यक्रममा नपरेको भन्दै आगामी दिनमा यस्ता सामग्री उत्पादन गर्न तालिम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।