मधुसुधन तिमल्सिना
काभ्रे, चैत ३ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास र आमनागरिकको जीवनस्तर सुधारका लागि पाँच वर्ष काँग्रेसले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको अवस्था परिवर्तन गर्न काँग्रेस आवश्यक रहेको बताउनुभयो ।
महामन्त्री थापाले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिएको बताउँदै त्यसको अन्त्य र युवालाई रोजगारी दिने काँग्रेसको प्राथमिकता रहेको बताउनुभयो । “नेपाललाई मान्छे बेच्ने देश होइन, सामान बेच्ने देश बनाउने काँग्रेसको सोच छ,” उहाँले भन्नुभयो । उहाँले तत्कालीन नेकपाको सरकारले आमनागरिकको जीवनस्तरमा सुधार ल्याउने म्यान्डेट पाए पनि उसले काम गर्न नसकेको बताउनुभयो । नेकपाअगाडिको सरकारले संविधान निर्माण, राजतन्त्र अन्त्य, पञ्चायत अन्त्य गर्नमा ध्यान दिनु परेको थियो । तर केपी ओली नेतृत्वको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेकाले काँग्रेस मुलुकका लागि पनि चाहिएको हो भन्नुभयो ।
उहाँले एमसीसी नेपालको हितमा रहेकाले गाउँगाउँमा गएर जनतालाई बुझाउन अपिल गर्नुभयो । “कम्युनिस्टले भ्रम र भय बेच्छन्, त्यो काँग्रेसले चिर्नुपर्छ”, उहाँले भन्नुभयो । कम्युनिस्ट पार्टीले पटक–पटक काँग्रेसले उद्योग बेचेको आरोप लगाउने गरेको बताउँदै महामन्त्री थापाले सरकारले चलाएको उद्योग घाटामा गएपछि बेचेको हो भन्नुभयो । “यो लुकाउनुपर्ने कुरा छैन, सरकारले चलाएको जुत्ता उद्योग, चुरोट र चिनी उद्योगका कारण वार्षिक एक अर्ब घाटा लागेपछि बेचेकै हो”, उहाँले थप्नुभयो, “शिक्षा र स्वास्थ्यबाहेकमा राज्यले लगानी गर्ने होइन । उद्योगीले उद्योग खोल्ने हो । राज्यले त्यसको संरक्षण गर्ने मात्र हो । ” नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले एमालेकै कारण ५४ वटा विधेयक संसद्बाट बन्न नसकेको बताउँदै एमालेलाई जिताउन आवश्यक नभएको धारणा राख्नुभयो ।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले काँग्रेसले भीडको राजनीति कहिल्यै नगर्ने बताउँँदै जनताको हितका लागि काम गर्ने बताउनुभयो । राजनीतिलाई जनताको न्याय र सेवामा लाग्ने अवसरका रूपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय उर्मिला केसी र गणेश लामा, बागमती प्रदेशका महामन्त्रीद्वय कञ्चनचन्द्र बादे र राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, प्रतिनिधि सभा क्षेत्र नं. १ का सभापति दिनेश लामा, २ का सभापति महेश खरेल, प्रदेश सभा सभापति रामहरि श्रेष्ठ, बनेपा नगर सभापति महेश कर्माचार्यलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यसहित दर्जनौँ मानिस विभिन्न पार्टी छाडेर काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।