logo
२०८१ बैशाख १४ शुक्रवार



तराई–मधेसमा आज होली मनाइँदै, जनकपुरमा शनिबार

प्रदेश |


तराई–मधेसमा आज होली मनाइँदै, जनकपुरमा शनिबार


विजयकुमार साह
ढल्केबर, चैत ४ गते । आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको तथा रङ्ग र अबिरको पर्व होली तराई–मधेसमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक मनाइँदैछ ।
काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै होली मनाइएको थियो । हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ । तर जनकपुरमा भने शनिबार मात्र होली मनाइने भएको छ ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने चलन अनुसार जनकपुरमा शनिबार होली मनाउन लागेको हो । बिहीबार जनकपुर आइपुगेका १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुले शुक्रबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा सम्पन्न गर्नुभएको छ ।
सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । तराईमा पनि होली पर्व एकआपसमा रङ्गअबिर लगाएर र शुभकामना साटासाट गरेर मनाइन्छ । होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।
फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । ‘होलिका दहन’को दिन राति गाउँ टोलका मानिस परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गर्दछन् । ‘होलिका दहन’ भइसकेपछि होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन् ।
तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।
हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
 हाेलीका कारण  खसीकाे मासु किलो रु. २०० बढेर प्रतिकिलो रु एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु. ३८० बाट प्रतिकिलो रु. ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिनुभयो ।

होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?