सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, चैत १२ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, मल्लागाउँनिवासी दुर्गा अधिकारीलाई हरेक दिनको बिहान खानेपानीको व्यवस्था गर्ने चटारो हुन्छ । आफूले पैसा तिरेर राखेको धारामा खानेपानी नआएपछि छिमेकको घरमा जानु परेको उहाँको गुनासो छ । उपभोक्ता अधिकारीले भन्नुभयो, “खानेपानीको एकदमै समस्या छ, खानेपानी लिन छिमेकीकहाँ जान्छु । ”
आफ्नो घरको धारामा नियमित पानी नआएको एक महिनाभन्दा बढी भएको उहाँले सुनाउनुभयो । धारामा खानेपानी नआए पनि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थालाई भने नियमित शुल्क तिर्दै आएको उहाँको भनाइ छ ।
“कहिलेकाहीँ त-याकतुरुक आउँछ, त्यही पानी भरेर राख्यो । नत्र छिमेककहाँ जानुको विकल्प छैन,” उहाँले भन्नुभयो, “छिमेकको पनि समस्या मेरोजस्तै छ । जसको घरमा आउँछ, उतै गाग्री बोकेर कुद्यो । ”
सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले भने गर्मी मौसम सुरु भएसँगै खानेपानीको मुहानमा स्रोत सुक्दै गएपछि समस्या आएको जनाएको छ । संस्थाका प्राविधिक जगन्नाथ घिमिरे भन्नुहुन्छ, “गर्मीले मुहानमै खानेपानी सुक्दै आएको छ । आएको खानेपानीलाई दिन बिराएर टोल–टोलमा डेढ दुई घण्टाका दरले वितरण गर्दै आएका छौँ । ”
पहिले दैनिक उपभोक्ताको घरमा बिहानभरिजसो खानेपानी वितरण गर्दै आएकोमा सुक्खा मौसम सुरु भएपछि समय घटाई दिन बिराएर वितरण गर्दै आएको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा बढ्दो सहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न अब दैनिक १० लाख लिटर खानेपानी थपिने गरी योजना निर्माण भइरहेको संस्थाले जनाएको छ ।
सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा थप दुईवटा नयाँ मुहानमा योजना सञ्चालन गरी खानेपानी थप्न लागेको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार संस्थाको १५ प्रतिशत लगानीसहित प्रदेश सरकारको २१ करोड रुपियाँ लगानीमा बहुवर्षे योजनाअन्तर्गत दुई वर्षअघि ती योजना निर्माण सुरु गरिएको हो । कमलामाई नगरपालिका ४ र ५ को बीचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलामा नयाँ मुहान बनाई निर्माण गरिएको ती नयाँ योजनाको काम अहिले ८० प्रतिशत सम्पन्न भएको छ ।
अहिले सदरमुकाममा ३० हजार उपभोक्ताले खानेपानी उपभोग गरिरहेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तीन वर्षभित्र पानी सङ्कलनका लागि छवटा रिजर्भ ट्याङ्की र दुईवटा लिफ्ट खानेपानी योजना निर्माण गरी सदरमुकामको खानेपानीलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।
उहाँका अनुसार हाल कमलामाई नगरपालिका–४ स्थित ग्वाङखोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलाका दुई मुहानबाट दैनिक २५ लाख लिटर हाराहारीमा खानेपानी आपूर्ति गरी सदरमुकामका ३० हजार उपभोक्तालाई वितरण गरिँदै आएको छ । नयाँ योजना सम्पन्न भएपछि अहिले भइरहेको तीन हजार पाँच सय धारामा थप तीन हजार धारा थपिने अनुमान गरिएको छ ।
गडौली खोलाबाट पानी लिफ्टद्वारा तानी उक्त स्थानमा थप एक लाख लिटरको पानी ट्याङ्की निर्माण गरिएको छ । उक्त योजनाबाट ठूलीटारमा दुई सय घरधुरीसहित माझीटार हँुदै माढीबजारका उपभोक्तालाई पानी वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।