logo
२०८१ मंसिर १० सोमवार



होटल हब बन्दै मूलकोट

प्रदेश |


होटल हब बन्दै मूलकोट


सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत १२ गते । बीपी राजमार्ग निर्माणसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित मूलकोट होटलको हब (केन्द्र) बन्दै गएको छ । बीपी राजमार्ग खुलेसँगै मूलकोटमा ठूला लगानीका होटल खुल्न थालेका छन् । पूूर्वी पहाड तथा तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्ग निर्माणसँगै मूलकोटमा यति बेला दर्जनौँ होटल खुलेका छन् । बीपी राजमार्गको ट्र्याक सडक खुलेदेखि नै यहाँ ठूलो लगानीमा होटल खोल्ने क्रम सुरु भएको थियो । यहाँका होटल सबै भरिभराउ नै हुन्छन् । बीपी राजमार्गसँग जोडेर निर्माण भएको मध्यपहाडी राजमार्गले पूर्वी पहाडका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई जोडेको छ ।

“यहाँका धेरै होटल सधैँजसो भरीभराउ हुन्छ,” सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्बुसिंह मोक्तानले भन्नुभयो, “सोलुखुम्बु जाने पर्यटकले नै धेरैजसो ठूला होटल भरिएका छन् । ” अर्का स्थानीय बासिन्दा मीन श्रेष्ठका अनुसार ठूला तथा साना लगानीका होटल बीपी राजमार्गमा प्रशस्तै खुलेका छन् । बीपी राजमार्गको सिन्धुली सदरमुकाम सिन्धुलीमाढी, माझीटार, भिमान, ढुङ्ग्रेबास, भद्रकाली, खनियाँखर्क, खुर्कोट, खाल्टे, मूलकोट, रामटार, झाँगाझोली, रातमाटालगायतका क्षेत्रमा होटल खुल्ने क्रम बढेको छ ।

सबैभन्दा बढी होटल मूलकोट र खुर्कोटमा खुलेको उहाँले सुनाउनुभयो । राजमार्ग सञ्चालनले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि व्यवसायीहरूले होटलमा लगानी गर्न थालेका हुन् । नयाँ होटल खोल्ने र पुरानाले सुविधा थप्न थालेपछि होटल व्यवसायमा लगानी बढेको सिन्धुली होटल व्यवसायी सङ्घका महासचिव सीताराम पहाडी बताउनुहुन्छ ।

उहाँका अनुसार पछिल्लो समय सबैभन्दा बढी सुनकोसी गाउँपालिकामा होटलहरू खुलेका छन् । गाउँपालिकाको वडा नं. ५ मूलकोटमा मात्रै ठूला लगानीका ४० भन्दा बढी होटल तथा रेस्टुुरेन्ट खुलेका छन् । बीपी राजमार्ग हुँदै दैनिक सयौँको सङ्ख्यामा यात्रुहरू आवतजावत गर्ने भएकाले व्यवसायीहरू होटल खोल्न आकर्षित भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?