logo
२०८० चैत्र १६ शुक्रवार



गाउँको विकासमा जुट्न थाले युवा

प्रदेश |
समाज |


गाउँको विकासमा जुट्न थाले युवा



ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १६ गते । कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवा विकास निर्माणमा जुट्न थालेका छन् । सङ्घ, प्रदेश र गाउँपालिकाबाट स्थानीयस्तरमा विनियोजन भएका विभिन्न विकास योजनाको कार्यान्वयन गर्न युवा अघि सरेका छन् ।

गाउँ फर्किएका युवा विकास निर्माणमा जुट्न थालेपछि बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता हटेकाे छ । गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण वडा स्तरमा रोजगारी सिर्जना हुनथालेको हो ।

वडामा भित्रिएका विकास योजनाहरुले गाउँमा रोजगारी सिर्जना भएको र युवा दैनिक रुपमा काम गर्न थालेको रघुगङ्गा गाउँपालिका १ का वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । युवाले काम गर्न थालेपछि योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ थियो ।

विगतका वर्षमा अन्य गाउँबाट मजदुरहरु ल्याउनुपर्ने अवस्था थियो वडाध्यक्ष फगामीले भन्नुभयो ‘ शहर बजार र विदेशमा वस्ने युवा गाउँ फर्किएपछि बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता हटेको छ । विकास योजनामा स्थानीय युवाले रोजगारी पाएका छन् ।’

स्थानीय सरकार भएपछि गाउँको विकासमा धेरै बजेट आउने गरेकाले काम पाइन थालेको रघुगङ्गा गाउँपालिका १ का बेलबहादुर थजालीले बताउनभुयो । सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको पूर्वाधार विकासमा आएको बजेटमा गाउँकै युवाले रोजगारी पाएको उहाँले बताउनुभयो । गाउँमै काम पाइन थालेपछि शहरबजारमा काम खोज्न जानुपर्ने अवस्था हटेको उहाँको भनाइ छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरुले योजनाको जिम्मा लिएर काम गर्न थालेको उहाँले बताउनुभयो । ऋण लिएर बहराइन पुगेको थिएँ कोरोना महामारीका कारण भनेजस्तो काम नपाएपछि गाउँ फर्किएँ बेगका लजर सिंजालीले भन्नुभयो ‘अहिले गाउँको विकास योजनाहरुका काम गर्न थालेको छु, दैनिक र ९ सयदेखि १२ सय रुपियाँसम्म कमाइ हुने गर्दछ ।’

उपभोक्ता समितिमार्फत कार्यान्वनय हुने विकास योजनाहरु कार्यान्वयनमा जुटेको उहााले बताउनुभयो । गाउँमा विकास योजनाहरु धेरै मात्रामा भित्रिने हो भने गाउँमै रोजगारी पाइने र विदेश जानुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।

स्थानीय सरकार आएपछि गाउँमा रोजगारी सिर्जना भएको कुमार मल्लले बताउनुभयो । पूर्वाधार विकासका योजना गाउँमा धमाधम भित्रिन थालेपछि युवाले रोजगारी पाएको उहाँको भनाइ छ । उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनामा युवाको सहभागिता रहेको उहाँले बताउनुभयो ।

गाउँको विकासका लागि आएका योजनाहरुमा काम गर्दा पैसाका साथै आनन्द पनि मिल्ने मीन पुर्जाले बताउनुभयो । गाउँको विकास योजनामा काम गर्दा रोजगारी पनि पाएका छौं योजनाप्रति अपनत्व पनि सिर्जना भएको छ पुर्जाले भन्नुभयो ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने भावना पनि जागेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?