logo
२०८१ मंसिर ९ आईतवार



मिटर बाकस निःशुल्क

प्रदेश |


मिटर बाकस निःशुल्क


नारायणगढ समाचारदाता

भरतपुर, चैत १९ गते । बिजुली चोरी नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरण भरतपुर, शाखाले विपन्न समुदायका नागरिकको घरमा निःशुल्क रूपमा विद्युत् मिटर बाकस जडान सुरु गरेको छ । भरतपुर महानगरपालिकासँगको समन्वयमा प्रधिकरणले विद्युत् चोरी हुने सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गरी निःशुल्क मिटर वितरण सुरु गरेको हो । प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले विद्युत् चोरी नियन्त्रण र अनधिकृत रूपमा गरिने विद्युत् प्रयोगबाट हुने विद्युतीय दुर्घटना न्यूनीकरण गर्न विपन्न समुदायका नागरिकको घरमा निःशुल्क मिटर बक्स जडान गर्ने कार्य थालनी गरिएको जानकारी दिनुभयो ।

“पहिलो चरणमा भरतपुर महानगरभित्रका ५० विपन्न समुदायका नागरिकका घरमा मिटर बक्स जडान गर्ने योजना छ,” पौडेलले गोरखापत्रसँग भन्नुभयो, “अहिले १७ घरमा जडान भइसकेको छ ।” भरतपुर महानगरभित्र आफ्नो कार्यक्षेत्र भएको प्राधिकरणको भरतपुर शाखाअन्तर्गत वर्षमा एक लाख ५८ हजार युनिट विद्युत् खपत हुने गरेको छ । यसरी खपत हुने विद्युत्मध्ये पाँच प्रतिशत चोरी हुने गरेको प्राधिकरणको ठम्याइ छ । चोरी तथा चुहावटलाई शून्यमा झार्ने उद्देश्यले यो अभियान थालिएको इन्जिनियर पौडेलले बताउनुभयो ।

निःशुल्क जडान गरिएको मिटर प्राधिकरणको मापदण्डअनुसारको पाँचदेखि ३० एम्पिएर क्षमताको रहेको छ । भरतपुर महानगरकी प्रमुख रेणु दहालले वडा कार्यालयले विपन्न परिवार सिफारिस गरेका आधारमा मात्रै विद्युत् मिटर निःशुल्क जडान गरिएको बताउनुभयो ।
“हरेक नागरिकका घरमा बिजुली बलोस् भन्ने महानगरको चाहना हो । यही चाहना पूरा गर्न गरिब विपन्न परिवारका घरमा निःशुल्क मिटर जडान सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । यसले विद्युत् चोरी नियन्त्रण हुने विश्वास उहाँको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?