चितवन समाचारदाता
चितवन, चैत १९ गते । भरतपुर महानगरपालिकाको मुख्य स्थानमा स्मार्ट बत्ती जडानको कार्य सुरु गरिएको छ । पहिलो चरणमा महानगरपालिकाले मुख्य राजमार्ग र वाइपास क्षेत्रमा र दोस्रो चरणमा भित्री सडकमा स्मार्ट बत्ती जडान गर्ने भएको हो । महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भन्नुभयो, “महानगरको मुख्य चोकमा रहेका ट्राफिक आइल्यान्ड हटाएर स्मार्ट लाइट जडान गर्ने काम सुरु गरेको छ ।” उज्यालो सहर अभियानअन्तर्गत महानगरले स्मार्ट लाइट जडान कार्य थालेको उहाँले जानकारी दिनुभयो ।
सवारीको चाप हुने मालपोत चोक, हाकिमचोक, चौबिसकोठी, शहीदचोक, पुलचोकलगायतका स्थानमा स्मार्ट बत्ती जडानका लागि संरचना निर्माण सुरु भएको छ । नेपाल सरकारको योजनामा महानगरले काम सुरु गरेको हो । त्यस्तै चोरी तथा लुटपाट कम गर्न, दुर्घटना न्यूनीकरण गर्न, सहरी सौन्दर्य बढाउन र मानवमा खुसी दिनसमेत स्मार्ट बत्ती महìवपूर्ण भएकाले स्मार्ट लाइट जडान गर्न लागिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।
भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो । अभियानअन्तर्गत ७८ दशमलव एक किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो । महानगरका अनुसार सडक बत्ती जडान गर्न निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएको छ । सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने दाहालले जानकारी दिनुभयो । यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।