भरतपुर समाचारदाता
चितवन, चैत २७ गते । भरतपुर महानगरपालिका–२, आँपटारीको सुकुम्बासी बस्तीका सुकमाया परियारलाई बुधबार जीवनकै सबैभन्दा खुसीको दिन बन्यो । सोही बस्तीमा जीवनको ४० वर्ष बिताएका ६२ वर्षीय सन्तबहादुर विकको पनि बुधबार जीवनकै सबैभन्दा खुसीको दिन मात्र बनेन सोच्दै नसोचेको आश्चर्यको दिन बन्यो ।
झन्डै चार दशकदेखि बसोबास गर्दै आएका परियार र विकको मात्र होइन ९८ दलित परिवारमध्ये ४६ परिवारले आफू बस्दै आएको जमिनको लालपुर्जा प्राप्त गरेको खुसियालीमा बुधबार साँझ घरमा दीपावली गरे ।
गोरखाको ध्याम्पेसालमा जन्मिएकी सुकमाया परियारले उमेर पुग्दा नपुग्दै रेशमबाबु परियारसँग बिहे गर्नुभयो । बिहे गरेको अर्को वर्ष छोरी जन्मिइन्, त्यसको दुई वर्ष पुग्दा नपुग्दै छोरा जन्मियो । गाउँले परिवेश र एक जनाको कमाइले बाँच्नै मुस्किल भएपछि चितवन झरेका परियार दम्पती भरतपुर–११ मा कोठा भाडामा लिएर बस्दै कामको खोजीमा भौँतारिए । सुकमायाकै भनाइमा दैवको लीला अपरम्पार ! डेढ–डेढ वर्ष अन्तरमा पाँच सन्तान जन्मिए, चार छोरा र एक छोरी ।
घर भाडा पनि तिर्न नसक्ने अवस्था भएपछि ती लालाबालासहित परियार दम्पती भरतपुर–२ को आँपटारीमा स्याउले झुपडी बनाएर बस्न थाले । कहिले नगरपालिकाका मान्छे आउने भोलिदेखि घर खाली गर भन्ने कहिले वनका मान्छे आउने स–साना बाबुनानी लिएर कहाँ जाने उहाँ ज्यादै चिन्तित हुनुहुन्थ्यो । उहाँकै भनाइमा श्रीमान् रेशम भने पीडा सहन गर्न मादक पदार्थ सेवन गर्न थाले । दस वर्षअगाडि त्यही कारण उनले यो संसार छोडेर गए ।
श्रीमान्को मृत्यु पछि परिवारका पुरै बोझ आफ्नो टाउकोमा आएको बताउनु हुने सुकमायालाई जीवनको सबैभन्दा खुुसीको दिन बन्यो लालपुर्जा हात पर्दाको दिन । भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट लालपुर्जा वितरण गरिएको थियो ।
आफ्नो अतीत सम्झँदै उहाँले भन्नुभयो, “जेनतेन गरेर ब्लक लगाएर घर त बनाइयो तर कुन दिन सरकारले त्यो कब्जा गर्ने र आफ्नो बिचल्ली बनाउने हो भन्ने चिन्ताले सताइरहन्थ्यो । प्रत्येक पाँच–पाँच वर्षमा हुने चुनावको बेला नेताहरू आउने र तपाईंहरूको जमिन नापी हुन्छ भन्ने आश्वासन दिने तर चुनाव सकिएपछि पहिले जस्तै हुने अवस्था थियो । ” उहाँले भन्नुभयो, “सोच्दै नसोचेको भयो । मैले कहिल्यै यसरी लालपुर्जा आफ्नो हातमा आउला भन्ने सपनामा पनि सोचेको थिइनँ । भोट माग्न आउने बेला दया देखाए जस्तो गर्ने र चुनाव पछि नाक मुखसमेत देखाउँदैनथे । जे होस् रेणु दाहालले यो काम गर्नुभयो धन्यवाद छ उहाँलाई । ”
चितवनको शुक्र नगरबाट कामको खोजीमा भरतपुर–२ मा आएर बस्दै आउनुभएका सन्तबहादुर विकले ६२ वर्षको उमेरमा पक्का नेपाली नागरिक भएको अनुभव गर्नुभएको छ । २०१७ सालमा जन्मिए पनि उहाँले २०५३ सालमा मात्र नागरिकता लिनुभएको थियो । यही जग्गाका लागि पनि कति पटक त्यो नागरिकताको फोटोकपी उहाँले दिनुभयो गनेर साध्य छैन । जो आए पनि नागरिकता र फोटो चाहियो तपाईंको जग्गाको लालपुर्जा आउँछ भन्थे तर कसैले गरेनन्, अहिले भने सोच्नै नसोचेको भयो ।
विकले १२०.६५ वर्ग मिटर र परियारले १३० वर्ग मिटर घडेरीका रूपमा जग्गा प्राप्त गर्नुभएको छ । उक्त ठाउँका बासिन्दाको एउटै मात्र साझा पीडा थियो, जग्गा आफ्नो हुन्छ कि हुँदैन । बस्तीका बाँकी रहेको बासिन्दा लालपुर्जा पाउने आशामा छन् ।
भूमि आयोगद्वारा वितरण गरिएको जग्गाधनी पुर्जामा अंशबन्डा र अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट दस वर्षसम्म कुनै पनि व्यक्तिलाई हक हस्तान्तरण गर्न पाइने छैन भन्ने उल्लेख छ । उक्त अवधिपश्चात् त्यस्तो जग्गा स्वामित्वविहीन हुने गरी कुनै पनि बेहोराले हक हस्तान्तरण गर्न पाइने छैन भन्ने लेखिएको छ ।