logo
२०८१ बैशाख १२ बुधवार



चेपाङ परिवारका लागि आवास निर्माण

प्रदेश |


चेपाङ परिवारका लागि आवास निर्माण


चितवन समाचारदाता

चितवन, चैत २७ गते । चितवनको कालिका नगरपालिकाले घर नभएका चेपाङ परिवारलाई आवास निर्माण गरिदिएको छ ।
गरिब विपन्न समुदायका चेपाङलाई मेयर आवास कार्यक्रममार्फत घर निर्माण गरेको हो । पालिकाको शक्तिखोर, सिद्धीमा चेपाङ समुदायको बस्ती बाक्लो छ ।

गरिबीका कारण सुरक्षित आवास नभएको र आवास नै नभएका परिवारलाई पहिचान गरेर घर निर्माण गरेको कालिका नगरपालिका प्रमुख खु्मनारायण श्रेष्ठले जानकारी दिनुभयो । “हामीले घर नभएका चेपाङ समुदाय सबैलाई आवास निर्माण गर्ने लक्ष्य थियो तर त्यो यस पटक सम्भव भएन,” उहाँले भन्नुभयो, “आउँदा दिनमा निर्माण गर्दै लैजाने छौँ । ”

बजेटको अभाव नभए पनि निर्माणका क्रममा आइपर्ने झन्झट र प्रक्रिया पूरा गर्न नसकेका कारण बाँकी घर बनाउन नसकिएको प्रमुख श्रेष्ठले बताउनुभयो । सुकुम्बासीका रूपमा बसोबास गर्दै आएका सीमान्तकृत समुदायका परिवारलाई सुरक्षा दिन मेयर आवास कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले ४० वटा घर निर्माण गर्ने भने पनि अहिले २१ वटा घर मात्र पालिका र जनसहभागितामा निर्माण गरेको कार्यालयका सूचना अधिकारी प्रकाश पौडेलले बताउनुभयो । कार्यालयका अनुसार एउटा घर निर्माण गर्न पाँच लाख ६० हजार रुपियाँ खर्च भएको छ । भवन निर्माणमा पालिकाले प्रतिघर चार लाख ८० हजार रुपियाँ र बाँकी जनसहभागिता रहेको छ ।

पालिकाको सम्पूर्ण खर्चमा घर निर्माण गर्न सकिए पनि जनसहभागिता नगराउँदा अपनत्वको भावना नहुने भएकाले थोरै रकम सहभागिता गराएको पालिका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
कालिका नगरपालिकाभित्र कम्तीमा नौ हजार चेपाङ समुदाय रहेको नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य लक्षण चेपाङले जानकारी दिनुभयो । पालिकाको शक्ति खोर, सिद्धि र पदमपुर क्षेत्रमा चेपाङ समुदायको बाक्लो बस्ती छ ।
चेपाङ समुदायमध्ये २० प्रतिशतको सुरक्षित आवास छैन चेपाङ सङ्घका केन्द्रीय सदस्य लक्षण चेपाङले भन्नुभयो सुरक्षित आवास निर्माण गर्नुपर्ने दायित्व सरकारको हो । सङ्घ, प्रदेश र स्थानीय सरकारले चेपाङ सङ्घसँग समन्वय गरेर कार्यक्रम गर्नुपर्ने भन्दै पालिकाले गरेको आवास कार्यक्रम उपयुक्त रहेको उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?