logo
२०८१ बैशाख ७ शुक्रवार



विकासका लागि पुनः एमाले आवश्यक : अध्यक्ष ओली

प्रदेश |


विकासका लागि पुनः एमाले आवश्यक : अध्यक्ष ओली


गणेश पौडेल (पर्वत)
नवीन शिशिर विक (गल्कोट)

पर्वत, चैत २७ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कालमा सुरु गरेका योजना पूरा गर्न र देशलाई समृद्ध बनाउनका लागि पुनः एमालेको जित आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले पर्वतले कुस्मामा शनिबार आयोजित आमसभामा बोल्दै अध्यक्ष ओलीले विकास निर्माणले तीव्रता पाएको देखेपछि आफ्नो नेतृत्वको सरकार आफ्नै पार्टीका मान्छेबाट ढाल्ने खेल सुरु भएको र संसदबाट नसकेपछि अदालतबाट ढालेको बताउनुभयो ।

“हामीले सुरु गरेका योजना अहिले पूरा हुँदैछन्, ती योजना अहिलेको सरकारले बाध्य भएर कार्यान्वयन गरिरहेको छ,” उहाँले भन्नुभयो, “केही योजना अलपत्र पार्न खोजिएकाले आगामी सरकार बनाएर पुनः सुरु गर्छौं ।” उहाँले आफ्नो कार्यकालको काम जनकपुर रेल सेवा अहिले उद्घाटन भएकोमा देउवा सरकारलाई धन्यवाद दिनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेप्रति जनलहर बढेर गएकाले आगामी चुनावबाट गठबन्धन गरिरहेका दलहरू बिलाएर जाने बताउनुभयो । एमालेप्रति जनताको विश्वास बढेकाले अहिलेको लहर देखिएको उहाँको दाबी छ । जिल्ला र बस्तीमा एमालेको पक्षमा बढेको जनलहर देखेर गठबन्धनमा सामेल भएका दलहरू आत्तिन थालेको उहाँले बताउनुभएको हो ।

“देशभर एमालेको पक्षमा जनलहर बढिरहेको छ,” अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको पक्षमा देखिएको जनलहरले गठबन्धनमा सामेल दलहरूको सातो गएको छ ।” उहाँले पर्वतमा देखिएको जनलहरले पनि गठबन्धन गरेका दलको सातो गएको हुनुपर्छ भन्नुभयो । ओलीले देशैभर एमाले प्रवेश गर्ने लहर चलेको र घरमा पनि प्रवेश गराउनेका कारण एक छिन फुर्सद नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले गठबन्धन सरकारले आफ्नाहरूलाई जागिर खुवाउने र आफन्त भर्ना गर्नेबाहेक केही नगर्ने बताउनुभयो । ओलीले अधिकांश समय आफ्नो प्रधानमन्त्री कालमा भएका कार्यको विवरण सुनाउन र गठबन्धन सरकारको आलोचनामा समय खर्चिनुभएको थियो ।

नेपाली युवाले बनाउँछन् नेपाल
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले नेपालको विकास नेपाली युवाले गर्न सक्ने बताउनुभएको छ ।
नेपाली युवामा जोस, जाँगर, ऊर्जा र काम गर्न सक्ने क्षमता रहेको उल्लेख गर्दै मरुभूमि हराभरा बनाउने नेपालीले स्वदेश बनाउन सक्ने ठोकुवा गर्नुभएको हो ।

राजनीतिक अस्थिरता, शासकीय क्षमतामा कमजोरी, नेतृत्व क्षमताको अभावले गर्दा युवा शक्ति विदेशिन बाध्य भएको बताउँदै अध्यक्ष ओलीले साउदी, कतार, मलेसिया, दुबईलाई समृद्ध बनाउने नेपालीले आफ्नो मातृभूमि बनाउन योगदान गर्नुपर्ने बताउनुभएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी बागलुङले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शासकीय व्यवस्थापन, कुशल नेतृत्व, विकास र समृद्धिको योजना र सपना भएको सक्षम राजनीतिक नेतृत्व र पार्टीले मात्रा युवालाई देश विकासमा समर्पित हुन प्रेरित गर्ने बताउनुभयो ।

वर्तमान सरकारले विकास निर्माणबारे आफ्नो नेतृत्वको सरकारले तयार गरेका योजना काट्नेबाहेक अन्य कुनै पनि काम नगरेको बताउनुभयो । “नौ महिनामा देश कङ्गाल बनाउन सकिने रहेछ,” अध्यक्ष ओलीले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा एक वर्षलाई पुग्ने विदेशी मुद्रा थियो, अहिले चौपट बनाए ।”

नेपाल राष्ट्र बैङ्कका गर्भनर आफ्नो कार्यकर्ता बन्न नमानेपछि निलम्बन गरिएको उहाँले टिप्पणी गर्नुभयो । देशको अर्थतन्त्र चलाउने विषयलाई सरकारले मजाक बनाएको अध्यक्ष ओलीको भनाइ थियो । “मेरो काम बनाउने हो,” उहाँले भन्नुभयो, “हिजो मैले शिलान्यास गर्दा विरोध गर्ने, हँसिमजाक गर्नेहरू अहिले त्यही परियोजना उद्घाटनमा व्यस्त छन् ।

अध्यक्ष ओलीले पार्टीका सबै कमिटीलाई चुनावकेन्द्रित हुन निर्देशन दिनुभएको थियो । एमालेप्रति जनलहर सिर्जना भएको बताउँदै उहाँले समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हरेक तहमा एमालेको सरकार अनिवार्य भएको बताउनुभयो । मधेसमा नेकपा एमालेप्रति आकर्षण बढ्दै गएको हुँदा विगतमा भन्दा धेरै सिट जित्ने दाबी गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?