logo
२०८१ बैशाख १३ बिहीवार



कैलालीमा ८६९ प्रजातिका वनस्पति

प्रदेश |
बिज्ञान |


कैलालीमा ८६९ प्रजातिका वनस्पति



अविनाश चौधरी
धनगढी, चैत २८ गते । वनजङ्गल र सिमसार क्षेत्र रहेको कैलालीमा ८६९ प्रजातिका वनस्पति पाइने गरेको छ । यो जिल्लामा ८१२ प्रजातिको फूल फुल्ने र ५७ उन्यू प्रजाति गरेर ८६९ प्रजातिका वनस्पति पाइने गरेको वैज्ञानिक रुपमा पुष्टि भएको वनस्पति अनुसन्धान केन्द्र कैलालीले जानकारी दिएको छ ।

२३ औं वनस्पति दिवसको अवसरमा सो कार्यालयले पत्रकारसंग अन्तरक्रिया गर्दै यहाँ पाइने गरेको वनस्पतिको तथ्याङ्क सार्वजनिक गरेको हो । जसमध्ये ५०२ प्रजातिका वनस्पतिलाई स्थानीयले परम्परागत ज्ञान र सीपका आधारमा प्रयोग गर्दै आएका केन्द्रले जानकारी दिएको छ । परम्परागत ज्ञान र सीप धेरै राम्रो रहेको र त्यो हराउन नहुने वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । उहाँले कैलालीमा दुई वटा वनस्पति उद्यानमा वनस्पतिको संरक्षण हुँदै आएको जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानमा विभिन्न प्रजातिका वनस्पतिको संरक्षण गरिएको छ । १४९.५ हेक्टर क्षेत्रफलमा रहेको सो उद्यानमा विजयसाल, बेंत, वनमूला, खयर, सुनाखरी र लौठ सल्लाको स्वस्थानीय संरक्षण भइरहेको प्रमुख भट्टले बताउनुभयो । ‘यसको राम्ररी संरक्षण भयो भने भोलिका दिनमा धनगढीको प्रमुख सौन्दर्य स्थलको रुपमा देवहरिया उद्यान रहनेछ’, उहाँले भन्नुभयो । वनस्पति उद्यानमा संरक्षण, अध्ययन, अनुसन्धान र पुनःउत्पादन हुन आवश्यक रहेको भट्टको भनाइ थियो ।

यसैगरी, केन्द्रले कैलालीको गोदावरीमा पनि १०.६ हेक्टर जमिनमा गोदावरी संरक्षण क्षेत्र बनाएर वनस्पतिको संरक्षण गर्दै आएको छ । यहाँ पाइने वनस्पतिको सदुपयोग गर्न सकिएमा धेरै फाइदा हुने वनस्पति अनुसन्धान केन्द्र कैलालीका वैज्ञानिक अधिकृत मदनराज भट्टले बताउनुभयो । ‘तर, हाम्रो देशबाट कच्चा पदार्थको रुपमा थोरैमात्रै जडिबुटी बाह्य देशमा गइरहेको छ’, उहाँले भन्नुभयो । ‘थुप्रै जडिबुटी भए पनि हामीले त्यसबाट फाइदा लिन सकेका छैनौं ।’

नेपालमा हालसम्म एक हजार १२३ प्रजातिका झ्याउ, दुई हजार ४६७ प्रजातिका च्याउ तथा ढुसी पाइने गरेको छ । नेपालमा च्याउमात्रै एक हजार २९१ प्रजातिका पाइने गरेको छ । जसमध्ये १५९ प्रजातिका च्याउ खान मिल्ने रहेको प्रमुख भट्टले जानकारी दिनुभयो । एक सय प्रजातिका च्याउ भने खान नहुने, विषालु रहेको जनाइएको छ ।
‘खास गरेर कमिला वा कीराले खाएको च्याउ देखिन्छ भने त्यो खान योग्य मानिन्छ’, उहाँले भन्नुभयो । ‘तर, हेर्नमा राम्रो देखिने, कमिला वा कीराले नखाएको चम्किलो च्याउ देखिएमा हामीले छुनु पनि हुन्न । ज्यानै जान सक्छ ।’

यसैगरी, नेपालमा ९९८ प्रजातिका लेउ, ५८२ प्रजातिका न्यूरो तथा उन्यू, कोणधारी वनस्पति २८, लालीगुराँस ३२ र फूल फुल्ने पाँच हजार ३०९ प्रजातिका वनस्पति पाइने गरेको जनाइएको छ । फूल फुल्नेमध्ये ३१२ प्रजाति नेपालमामात्रै पाइने गरेको केन्द्रले जानकारी दिएको छ ।

नेपालमा सबैभन्दा पहिले पत्ता लागेको वनस्पति मगर काँचे (बेगोनिया पिक्टा) हो । सन् १८०२ जुलाई २१ मा नारायणहिटी आसपासमा बुखानन् हेमिल्टन नामका संकलकले मगर काँचेलाई सङ्कलन गर्नुभएको थियो । सन १८०५ मा जेम्स इडवार्ड स्मिथले मगर काँचेको वैज्ञानिक पुष्ट्याइँका साथ नामाकरण गर्नुभएको थियो ।
धनगढीको देवहरिया उद्यानमा रहेको सुनाखरी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?