logo
२०८१ जेष्ठ ५ शनिवार



मन्थली बसपार्क अस्तव्यस्त

प्रदेश |


मन्थली बसपार्क अस्तव्यस्त


रामेछाप समाचारदाता

रामेछाप, चैत २९ गते । जिल्ला सदरमुकाम मन्थलीमा रहेको बसपार्क समयमै आवश्यक मर्मत सम्भार हुन नसक्दा अस्तव्यस्त बनेको छ । मन्थली नगरपालिका–१ मा रहेको बसपार्कभित्रका खाल्डाखुल्डी मर्मतका लागि सुरु गरिएको काम पनि अहिले रोकिएपछि सवारीसाधन पार्किङमा समस्यासँगै होटल व्यवसायी र अन्य व्यापारीको व्यापारसमेत प्रभावित भएको छ ।

समयमै मर्मतको काम नसकिँदा मन्थली बसपार्क अस्तव्यस्त बनेको चालक कुमार खत्रीले बताउनुभयो । मन्थली बसपार्कमा निर्माणको काम सुरु भएको लामो समय भइसक्यो, अहिले बसपार्क वरिपरि निर्माण सामग्री राखिएपछि यातायातका साधन पार्किङमा समस्या भएको छ, उहाँले भन्नुभयो । गत वर्षदेखि नै अस्तव्यस्त बनेको बसपार्क निर्माणमा सरोकारवाला निकायले खासै चासो नदिएको चालक कार्कीको भनाइ छ ।

मन्थली बसपार्कमा दिनहुँ ३० देखि ४० वटा बस पार्किङ गरिन्छ । दैनिकजसो बसपार्कमा धुलो, धुवाँ र हिलोका कारण व्यवसायमा असर परेको होटल व्यवसायी मानबहादुर आलेले बताउनुभयो । “लामो समयदेखि बसपार्क मर्मतको काम रोकिएर भद्रगोल भएको अवस्था छ, हामीले भनेको कुरा कसैले सुन्दैन, छिटोभन्दा छिटो मर्मत भए सबैका लागि राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो ।

सहरी विकास तथा भवन सिन्धुलीमार्फत लुमिनस कन्स्ट्रक्सनले ३३ लाख रुपियाँको लागतमा चालू आर्थिक वर्षका अन्त्यसम्म सम्पन्न गरिसक्ने सम्झौता गरेको थियो । फलामे डन्डीलगायतका निर्माण सामग्रीमा ५० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएकाले तत्काललाई निर्माणको काम रोकेको लुमिनस कन्स्ट्रक्सनका सञ्चालक रोशन श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?