logo
२०८१ बैशाख २० बिहीवार



भरतपुर महानगरमा प्रतिष्ठाको लडाइँ

प्रदेश |


भरतपुर महानगरमा प्रतिष्ठाको लडाइँ


शालिग्राम नेपाल

चितवन, चैत ३० गते । प्रतिष्ठाको विषय बनेको चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवारी सत्ता गठबन्धनका कसले पाउने भन्ने निश्चित नहुँदा नेकपा एमालेका उम्मेदवार भने जनताबीच चुनावी प्रचारमा पुग्नुभएको छ । स्थानीय निर्वाचन आउन ३१ दिन बाँकी हुँदा गठबन्धनका तर्फबाट मेयर कुन पार्टीले पाउने निश्चित भएको छैन तर नेकपा एमालेले भने महानगरको मेयर पदमा सर्वसम्मत रूपमा विजय सुवेदीलाई अगाडि सारेको छ । उपमेयरमा चाहिँ दुई दिनभित्र टुङ्गो लगाउने तयारी गरेको छ ।

नेकपा एमाले प्रचार विभाग प्रमुख रविकिरण पौडेलले भन्नुभयो, “हामी मेयरमा सर्वसम्मत रूपमा उम्मेदवार खडा गरेर प्रचारमा लागिसकेका छौँ । अब दुई दिनभित्र उपमेयरमा को उठाउने निश्चित गर्नेछौँ । ” सातवटा पालिका रहेको चितवनमा सबैभन्दा धेरै चासोको विषय भरतपुर महानगरपालिका रहेको थियो । त्यसलाई टुङ्गो लगाएर आफ्ना एजेन्डासहित जनताको घरदैलोमा हामी गएका छौँ, उहाँले भन्नुभयो, “एक मात्र गाउँपालिका रहेको इच्छाकामनामा दानबहादुर गुरुङलाई अध्यक्ष उठाइने भएको छ । ”
जिल्लाको पाँचवटा पालिकामा भने केही दिनभित्रै सबै उम्मेदवार टुङ्गो लगाउने तयारी भएको पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रमध्ये कसले भरतपुरको मेयर पद लिने भन्ने विषयमा रस्साकस्सी भएको कारण भागबन्डा मिल्न सकेको छैन । नेकपा माओवादी केन्द्रले फेरि पनि आफूले भरतपुरको मेयर पद पाउनुपर्ने दबाब दिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भन्न्नुभयो, “जनताले फेरि पनि रेनु दाहालको नेतृत्व खोजेकाले हामीले पाउनुपर्ने दाबी कायम छ । सत्ता गठबन्धनमध्ये एक माओवादी केन्द्रका अध्यक्षको निर्वाचन क्षेत्र रहेको जिल्लामा विकासका बाँकी काम रहेकाले हाम्रो पार्टीको नेतृत्व महानगरले खोजेको छ,” उहाँले भन्नुभयो । हाम्रो पार्टीले ‘विकासको नमुना हेर्न भरतपुर जाउँ’ भन्ने नारा नै राखेकाले आउँदो निर्वाचनमा विजय हासिल गर्न सहज हुनेछ, अधिकारी बताउनुहुन्छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले यस पटक महानगरमा आफूहरूले नेतृत्व पाउनु पर्छ भन्ने माग कायम रहेको बताउनुभयो । “पार्टीको केन्द्रीय समितिको निर्णय नै स्थानीय आवश्यकताको आधारमा तालमेल गर्ने भन्ने रहेको छ, त्यहीअनुसार हामीले पाउनु पर्छ भन्ने माग जायज छ । केन्द्रीय समितिको निर्णयविपरीत पार्टी सभापति जान हुँदैन भन्ने हाम्रो भनाइ हो । जिल्ला पार्टीबाट भरतपुर कुनै पनि हालतमा हामीले पाउनु पर्छ भन्ने निर्णय गरेका छौँ,” कोइरालाले भन्नुभयो, “हाम्रो निर्णयविपरीत भागबन्डा हँुदैन भन्नेमा हामी ढुक्क छौँ । ”

पद पाउने विषयमा ढिलाइ हुँदा भने चिन्ता लागेको कोइराला बताउनुहुन्छ तर पनि महानगरमा हाम्रो बलियो उपस्थिति रहेकाले जित्नका लागि समस्या छैन । काँग्रेसको नेतृत्व जनताले खोजिराखेका छन्, उहाँले भन्नुभयो, “हामी जनताको घरमा विभिन्न माध्यमबाट पुगिराखेका छौँ । ”

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले मेयर पदमा एमाले उम्मेदवार क्षमतावान् र कुनै विषयमा खोट नभएकाले जित सुनिश्चित भएको बताउनुहुन्छ । “हाम्रो नेतृत्वमा सरकारले गरेका कामको प्रचार र हामीले गर्न सक्ने योजना जनतामाझ लगेका छौँ त्यसैले कुनै समस्या छैन” अध्यक्ष न्यौपाने भन्नुहुन्छ ।

गत स्थानीय निर्वाचनमा सात पालिकामध्य पूर्वी चितवनका चारवटा पालिकामा एमालेले मेयर र उपमेयर जितेको थियो । भरतपुरमा एमालेको नेतृत्व नहुँदा जिल्लामा पार्टीले जितेको जस्तो महसुस गरेको छैन । त्यसैले महानगरको नेतृत्व एमालेले जित्नै पर्ने गरी प्रतिष्ठाको विषय बनाएको छ । काँग्रेस भने पार्टीको राम्रो पकड भएको स्थान गुमाउन चाहँदैन । माओवादी केन्द्र पार्टी केन्द्रीय अध्यक्षको निर्वाचन क्षेत्र भएको कारण फेरि पनि नेतृत्व लिने तयारीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?