logo
२०८१ बैशाख ८ शनिवार



गोरखापत्रसँग सहकार्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

प्रदेश |


गोरखापत्रसँग सहकार्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता


रमेश पौडेल

पोखरा, चैत ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गोरखापत्र संस्थानका प्रकाशनलाई नागरिक समक्ष छिटो र छरितो पु-याउन प्रदेश सरकार सहयोग निम्ति तयार रहेको बताउनुभएको छ  । गोरखापत्र संस्थानको टोलीसँग पोखरामा आज भएको औपचारिक भेटघाटमा उहाँले सरकारले बजेटमै समावेश गरेर हुन्छ वा के गरेर हुन्छ, गोरखापत्रलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो  । मुख्यमन्त्री पोखरेलले गोरखापत्रलाई नीतिगत रूपमै सङ्घ र प्रदेश सरकारले सम्बोधन गरेर लैजानुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई, दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, मुनाका सम्पादक हरिप्रसाद भट्टराई, गोरखापत्रका गण्डकी प्रदेश समाचारदाता संयोजक रमेश पौडेललगायत सहभागी रहनुभएको थियो ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्रको गण्डकी प्रदेश संस्करण यहीँबाट प्रकाशन गर्ने गरी योजना बनाइरहेको जानकारी गराउँदै जग्गा, भवन र छापाखानाका लागि सरकारसँग सहयोगको अपेक्षा गर्नुभयो । साथै ‘प्रिन्ट मिडिया’ को प्रभाव काम भइरहेका बेला संस्थानले अनलाइन संस्करणलाई थप प्रभावकारी बनाउन लागेको भन्दै सुवेदीले प्रदेशको राजधानीमा जनशक्ति थप गरेर समाचार ‘अपलोड’ गर्न लागिएको बताउनुभयो । महाप्रबन्धक ऐरीले गोरखापत्रको प्रादेशिक कार्यालय तत्काल आवश्यक रहेको भन्दै खाली रहेका सरकारी कार्यालयमा व्यवस्थापन गर्नसकिने बताउनुभयोे । संस्थान प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको उहाँको भनाइ थियो  ।

गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्रका प्रकाशनलाई समायानुकूल बनाई थप प्रभावकारी रूपमा उपभोक्तामाझ पु¥याउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले संस्थान र गण्डकी सरकारबीच के कस्तो सहकार्य गर्न सकिन्छ, यसका लागि कार्यदल नै बनाउनुपर्ने बताउनुभयो । दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाले संस्थानका सबै किसिमका प्रकाशनलाई प्रदेश सरकारले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो  । त्यसैगरी मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईले इतिहास बोकेको गोरखापत्रले सही समाचार मात्र दिने भएकाले प्रदेश सरकारले आफ्नो प्रकाशनका रूपमा लिन आग्रह गर्नुभयो ।

गोरखापत्रका गण्डकी ब्युरो संयोजक रमेश पौडेलले रेडियो नेपालको प्रदेश कार्यालयमा प्रशस्त जग्गा रहेको भन्दै त्यसमा गोरखापत्र संस्थानको कार्यालय स्थापना गर्नसकिने बताउनुभयो । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले गोरखापत्रका प्रकाशन थप प्रभावकारी बनाउन सर्वेक्षण गर्नुपर्ने भन्दै अबको युग डिजिटल भएकाले त्यसैअनुसार अगाडि बढ्न सुझाव दिनुभयो  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?