logo
२०८१ बैशाख १५ शनिवार



घरको खरानी हेर्दै त्रिपालको बास

प्रदेश |


घरको खरानी हेर्दै त्रिपालको बास
सांकेतिक तस्बीर


उदयपुर समाचारदाता

उदयपुर, चैत ३० गते । एक जना वृद्धाको मानवीय क्षतिसहित आठ घरमा आगजनी भएको उदयपुरको घटनाका पीडितहरूको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–१, शिखरपुरका अग्नि पीडितहरूले आगलागीपछि घर उभ्याउन नसक्दा दिनचर्या कष्टकर बनेको हो । पीडित मनमाया राईले घटना भएको दुई हप्ता बितिसक्दा पनि कसैले एउटासम्म घर उभ्याउन नसकेको बताउनुभयो । गत चैत १३ गते दिउँसोको आगजनीबाट बिचल्ली परेका आठ घर परिवारलाई खानका लागि राहत मिले पनि बस्ने राम्रो व्यवस्था नभएको उहाँले बताउनुभयो । बालबालिका र महिलाहरू त्रिपालमुनि बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । पीडित गम्बर मगरले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताउनुभयो ।

घरको खरानी हेर्दै त्रिपालमुनि बसेका पीडितलाई अझै हातमा काम आएको छैन । पीडितहरू नयाँ घर उभ्याउन नसक्दासम्म कहालीलाग्दो आगलागी घटना बिर्सन नसक्ने भएका छन् । “भएभरको जायजेथा खरानी भयो ।” पीडित धनमाया मगरले भन्नुभयो, “मनमा पीडा हुन्छ, हातमा काम आउँदैन ।” पीडितहरूले धुले भुइँमा भात पकाएर भोक टार्ने गरेका छन् । हावा चल्ने मौसम भएकाले त्रिपालभित्र पनि आगो लाग्ने जोखिम छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार दुई हप्ताअघि एकै बस्तीको ८ घरमा आगजनी हुँदा अन्दाजी ७५ वर्षीया वृद्धा शिवमाया मगरको जलेर मृत्यु भएको थियो । आगजनीबाट ओम मगर, गम्बर मगर, शेरबहादुर मगर, भैरवबहादुर मगर, पदमबहादुर मगर, धनमाया मगर, डिकबहादुर मगर र मनमाया मगरको घर जलेर पूर्णरूपले क्षति भएको थियो । घरसँगै अन्नपात, लत्ताकपडा, भाडाँकुडा पूर्णरूपले जलेको र खसी, बाख्रा, बङ्गुरलगायत चौपायाहरू
मरेका थिए ।

बस्तीका अधिकांश मानिसहरू घाँस दाउरा, मेलापात र बाहिर गएको अवस्थामा आगलागी भएको थियो । एउटा गोठबाट एक्कासि उठेको आगोले बस्तीमा नजिक–नजिक रहेका ८ वटा घर खरानी बनाएको थियो । आगलागीको बेला बेस्सरी हावा चलेकोले नजिकका घरहरू जलेका थिए । एउटा बाहेक सबै घरमा फुसको छानो थियो । तीन दिनपछि मात्र आगलागी पूर्णरूपले नियन्त्रणमा आएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान पीडितहरूको छ ।

यसैबीच, प्रदेश सांसद नारायण बुर्जा मगरले ८ पीडित घर परिवारलाई प्रतिघर १० हजार रुपियाँका दरले आर्थिक सहयोग गर्नुभएको छ । घटनापछि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाले विभिन्न राहत तथा सहयोग पु¥याएका छन् । पीडितहरूका अनुसार घरै गुमाएकाहरूको मुख्य चाहना र चिन्ता घर ठड्याउने छ । सङ्घीय सांसद सुरेशकुमार राईले घरको लागि टिनको छानोको व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ । प्रदेश सांसद बुर्जा मगरले पनि घर निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?