logo
२०८१ बैशाख १५ शनिवार



लोकतन्त्र, जनतन्त्र र प्रजातन्त्रको बाटो

दलभित्र जनतन्त्र स्थापित गर्न नसक्नेले देशमा लोकतन्त्र चलाउन सक्दैन

विचार/दृष्टिकोण |


लोकतन्त्र, जनतन्त्र र प्रजातन्त्रको बाटो


रामनारायण विडारी

लोकतन्त्र, जनतन्त्र र प्रजातन्त्र यी सबैलाई अङ्ग्रेजीमा डेमोत्र्mयासी भन्ने गरेको पाइन्छ । तर नेपाली भाषामा भने यी शब्दको बेग्लाबेग्लै अर्थ लगाउने गरिन्छ । राजातन्त्रवादीहरूले प्रायः प्रजातन्त्र भन्न रुचाउँछन् । सुरुमा डेमोक्र्यासीको अनुवाद राजतन्त्रमा भएको हुँदा प्रजातन्त्र भन्ने शब्द चयन गरियो । राजाले जनतालाई प्रजा भन्ने गरेकोले प्रजाहरूको शासनलाई प्रजातन्त्र भनियो ।
राजा त्रिभुवनले २००७ मा प्रजातन्त्र नै शब्द प्रयोग गरे पनि आफ्नो घोषणामा भने विधान सभाको निर्वाचनबाट गणतन्त्र स्थापना गर्ने भन्ने कुरा गरेको देखिन्छ । यो शब्दको अर्थ नबुझिकन गरेको हो वा यही नै भन्न खोजेको हो, त्यसको सम्बन्धमा आजसम्म पनि आआफ्नै व्याख्या छ । गणतन्त्र भन्नुको अर्थ राजतन्त्र होइन भन्ने कुरा अहिले सामान्यतः सबैले बुझ्छन् । गणहरूको तन्त्र वा समूहको तन्त्र वा जनताको तन्त्र भन्ने अर्थमा यो शब्द चयन भएको देखिन्छ । सामान्यतः जनतन्त्र नेपाली शब्द कम्युनिस्टहरूले प्रयोग गर्छन् । २०६२ सालको जनआन्दोलनपछि जनतालाई प्रजातन्त्र शब्द मन परेन र लोकतन्त्र शब्द प्रयोग गर्न थालियो । अहिलेको संविधानमा लोकतन्त्र शब्द नै पर्याप्त रूपमा प्रयोग भएको छ भने २०४७ को संविधानमा प्रजातन्त्र शब्दले स्थान पाएको थियो । जनतन्त्र शब्द गैरकम्युनिस्टले खास प्रयोग गर्दैनन् । सत्तामा गएका कम्युनिस्टले पनि लाज डरले जनतन्त्र शब्द प्रयोग गर्दैनन् । जस्तो जनसरकार, जनमुक्ति सेना, जनसभा, जनअदालत आदि शब्द गैरकम्युनिस्टले सामान्यतः प्रयोग गर्दैनन् । उनीहरू प्रजातन्त्र र लोकतन्त्र नै प्रयोग गर्छन् ।
जे होस्, प्रजातन्त्र २००७ मा राणाको हातबाट शाहको हातमा जनताको सहयोगबाट नै आयो । नेपालको दुईतिरका छिमेकी मुलुकमा उपनिवेश शासन र निरङ्कुश शासन हटाएर एकातिर लोकतन्त्र र अर्कोतिर जनतन्त्र आयो । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेर चार जना सपूतले बलिदान दिएपछि राणाले आफूमा निहित भएको शासन राजामा सरेको घोषणा गरे । यसलाई कसैले क्रान्ति नै भन्न रुचाए, कसैले यो सामान्य आन्दोलन भने । जे भए पनि प्रधानमन्त्री पदचाहिँ जन्मसिद्ध नहुने भयो । मुलुक प्रमुख मात्र जन्मसिद्ध हुने भए । यो पनि प्रगतितर्फको बाटो मान्नु स्वाभाविक हो ।
वि.सं. २०१५ मा नेपालमा पहिलोपटक आम निर्वाचन भई प्रधानमन्त्री जनताको छोरा बीपी कोइराला हुनुभयो । नेपाली जनताले काँग्रेसलाई बहुमत दिएर पठाएका थिए । यो बहुमतको सरकारलाई भित्र र बाहिर, दायाँ र बायाँका व्यक्तिहरूले बदनाम गराउने कार्य गर्न थाले । राजाले यही निहुँमा जननिर्वाचित काँग्रेसको सरकारलाई अपदस्त गरी सबै शासन आफ्नो हातमा लिएर २०१९ मा अर्को संविधान बनाएर ३० वर्ष निर्दलीय व्यवस्था चलाए । यो समय नेपालको प्रजातन्त्रको शून्य समय भन्न सकिन्छ । त्यो संविधान फाल्न निम्ति धेरैले ज्यान गुमाउनु परेको थियो । जेल बस्न वाध्य भएका थिए । त्यसबेला जनमत निर्दलीय प्रणालीविरुद्ध ल्याउन विशेष भूमिका बहिष्कार गरेर र उपयोग गरेर धेरै व्यक्तिले समय खर्चे । २०३८ मा यही संविधान अनुसार दोस्रो आम निर्वाचन भयो । यस निर्वाचनलाई उपयोग गर्ने एक मात्र व्यक्ति वा समूह थियो  रूपचन्द्र विष्ट (जनमुखी) । पछि २०४३ को तेस्रो आम निर्वाचनमा वर्तमान केही कम्युनिस्टहरू र काँग्रेस दुवैले उपयोग गरे । यो कालखण्डमा समेत प्रजातन्त्र शब्द नै
प्रयोग गर्दथे ।
२०४७ को संविधान आएपछि नेपाली काँग्रेसले फेरि बहुमत ल्यायो र सरकार बनायो । राजावादीहरू पनि यस समयमा झिनो दलको रूपमा थिए । तर पूरा अवधि नबित्दै काँग्रेस आफँैले संसद् विघटन गरेर बहुमतको दुरुपयोग गरे । यसरी बहुमत काँग्रेसले पाउने अनि सदुपयोग गर्न नजानेर विघटन गर्ने र राजावादी लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर आफू अल्पमतको स्वादमा रमाए । परिणामतः यो संविधान असफल भयो । यसरी काँग्रेसलाई बहुमत अफापसिद्ध भयो ।
अन्तरिम संविधान २०६३ का आधारमा संविधान सभाको निर्वाचन २०६४ मा भयो । माओवादीलाई सरकार चलाउन एकलौटि बहुमत जनताले दिए । संविधान बनाउन मात्र अरू दलको मत आवश्यक हुने अवस्था बनाइदिए । यसपटक पनि सत्ता चलाउन नजानेर वा यो सत्तामा माओवादी आएको सहन नसकेर गरिएका सबै षडयन्त्रमा फसेर माओवादी सरकारबाट हट्यो । संविधान सभामा पनि सफल भएन । यसरी कम्युनिस्ट माओवादीलाई
पनि बहुमत पचेन ।
वि.सं. २०७४ को निर्वाचनमा पनि जनताले कम्युनिस्टहरूलाई पुनः बहुमत दिए । यसमा मिश्रित कम्युनिस्ट थिए । यिनले पनि पूरा समय सरकार चलाउन सकेनन् । झन् प्रतिनिधि सभा नै विघटन गर्न पुगे । जुन कुरा संविधान अनुकूल थिएन । फलतः सत्तामा रहेको कम्युनिस्ट पार्टीमा पनि नराम्रो गरी फुट आयो । यहाँ पनि बहुमतको सदुपयोग होइन, दुरुपयोग नै भयो । नेपालको ठूलो कम्युनिस्ट पार्टी क्षत विक्षत भयो ।
यसबाट के देखिन्छ भने लोकतन्त्र, प्रजातन्त्रको मान्यता सदुपयोग गर्न वर्तमान नेता सक्षम छैनन् । संसदीय व्यवस्थामा अभ्यस्त छैनन् । दलीय राजनीति कम्युनिस्टको गर्ने, सत्ता सरकार संसदीय व्यवस्थाको सञ्चालन गर्न अहिलेकाले जानेनन्् । यो व्यवस्था सुधारिएको संसदीय व्यवस्था हो, नेता–दलचाहिँ उही पुरानै शैलीका भए । अठाराँै शताब्दीको बेलायतको कुरा यहाँका नेता अहिले गर्छन् । बेलायत २१ सौँ शताब्दीको संसद् चलाउँछ, हामी भने पुरानै बेलायती व्यवस्थाको धङधङ्गीमा रहेका छौँ ।
नेताले सरकारमा जाने र सरकारबाट हट्ने कुरा सामान्य रूपमा लिन नसकेको कारण देश, जनता, न्याय, विकास अलपत्र परेकोमा सबै चिन्तित छन् । बहुमत दिएर पठाउँ– दुरुपयोग गरी अपच साबित गरिदिन्छन् । सबैलाई अल्पमत बनाएर पठाउँ– मिलुवा सरकार बनाएर आपसमा तानातान गरी भत्कन्छन् । अब चुनाव केको लागि गर्ने ? कम्युनिस्टलाई दिए पनि उस्तै, काँग्रेसलाई दिए पनि उस्तै, पालैपालो गरे पनि उस्तै । जनतालाई अलमल्याएर राख्न भने सफल भए, विकास, इन्साफ, प्रगतिबारे असफल भए, के गर्ने ? रिस उठ्यो, जङ्गल पस्यो र तर्सायो । अनि आफूले दुःख पाएको, सहरमा बस्नेले खाए – पिएको हेरेर फेरि फक्र्यो । उही एउटै आहालमा मिसियो ! सबै रोग र फोहोर सा¥यो । अनि सबै उस्तै ! यो चक्रव्युहबाट कसरी पार पाउने ? यो नै अहिलेको खाँचोको विषय हो ।
दलभित्र जनतन्त्र स्थापित गर्न नसक्नेले देशमा लोकतन्त्र चलाउन सक्दैन । दलमा निरङ्कुश हुनेले शासनमा लोकतन्त्र देखाउन सक्दैन । जसरी पकेटमाराले चोर र डाँकाको विरोध गर्न सक्दैन, त्यसैगरी दलभित्र जनतन्त्र दिन नसक्नेले मुलुकको शासनमा लोकतन्त्र दिन
जान्दैन वा सक्दैन ।
यो पाठ पढेर हँुदैन, यो त गरेर अनुभूति–अनुभव–साक्षात्कारबाट मात्र हुन सक्छ । यसमा इमान मात्र कामयावी हुन्छ । धन, छल–बलबाट हुँदैन, न त शक्तिबाट । यही कमी हाम्रो राजनीतिमा हुन गएको छ । हाम्रा दलमा, नेतामा हुन गएको छ । राजनीतिलाई कपटनीति, जालनीति, रहस्य नीतिको रूपमा लिएर जाने कार्य भइरहेको छ । राज्यका जनताको हित निम्ति गरिने नीतिको नाम राजनीति हो । तर यसलाई दल र नेताहरूबाट लाजनीतिको रूपमा परिणत गरिएको छ । यही रोग नै महारोग हो । यसको उपचार नैतिकताको बलमा हुने हो । इमान र विवेकमा भर पर्ने हो । इमान र विवेकमा टाट पल्टेका, स्वार्थ र शक्तिमा शरण परेकाहरूबाट मुक्त हुने वास्तविक राजनीति नै अहिलेको मुख्य बाटो हो । यो मूल बाटोलाई कसरी सफा राख्ने ? यही नै समस्याको
समाधान हो ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?