logo
२०८१ बैशाख १५ शनिवार



के–टू, शेर्पाज् र गोर्खाज् !

नयाँ पुस्ताले नयाँ ऊर्जा, उमङ्गको नयाँ सन्देश प्रवाह गर्न सक्छ

विचार/दृष्टिकोण |


के–टू, शेर्पाज् र गोर्खाज् !


कृष्णमुरारी भण्डारी

यतिखेर हामी आन्तरिक राजनीतिको खिचातानी र झम्टाझम्टीमा व्यस्त मात्र होइन, अस्तव्यस्त नै छौँ । राजनीतिक जटिलताको गाँठो फुकाउने कि कस्ने भन्ने होडबाजी सर्वोच्च अदालतको इजलासमै सीमित छैन, सडकमा छताछुल्ल भइरहेको छ । तर विश्वभरका छापाका पाना, टेलिभिजनका पर्दा, इलेक्ट्रोनिक सञ्चार माध्यमका साइटहरू नेपाल र नेपालीको बहादुरीका कथाहरूले भरिएका छन् ।
अन्तरविरोध जस्ता लाग्ने यी दुई अवस्थालाई कसरी हेर्ने ? रनाहा छुटिरहेको छ ।
अमेरिकाको ख्यातिप्राप्त दैनिक ‘द न्यूयोर्क टाइम्स’ ले २०२१ जनवरी २९ को प्रथम पृष्ठ ‘एङ्कर’ मा के–टू शिखरमा फरफराइरहेको नेपाली झण्डा समाइरहेका पर्वतारोहीहरूको रङ्गीन तस्वीर छाप्यो–‘फर नेपाल ः क्लाइम्बर्स कंक्वेयर्स अ किलर इन वीन्टर ।’ दोस्रो पृष्ठको शीर्षक छ–फस्र्ट वीन्टर एसेन्ट अफ के–टू इज
‘फर नेपाल’ । पहिलो र दोस्रो पृष्ठ गरेर एक पेज लामो र चार वटा तस्बिर रहेको खोजमूलक समाचारले नेपाल र नेपालीलाई गौरवान्वित गरेको छ । यस्ता लेख जापान, फ्रान्स, बेलायत लगायतका टिभी, पत्रिका, रेडियो, अनलाइनमा बग्रेल्ती प्रकाशित÷प्रसारित छन् ।
हाम्रो शक्ति र विशेषता के के रहेछन्, त्यसको पहिचान गरेर अझ निखार ल्याउनुपर्ने मौका हो यो । यसैको लागि देशव्यापी छलफल हुनुपर्ने हो । सातसय ५३ वटै स्थानीय निकायका वडावडा, सातै प्रदेश, सतहत्तरै जिल्ला र सङ्घीय संरचनामा के कुराले हामी आत्मनिर्भर बन्न सक्छौँ ? विश्वभर छाउन सक्छौँ ? नेपाल र नेपालीहरूको वाहवाह हुनसक्छ ? भन्ने विषयमा घनिभूत बहस, छलफल र कार्यक्रमहरू सञ्चालन हुनुपर्ने हो । जनलय थपिनुपर्ने हो । ‘इनर्जी’ लाई ‘सिनर्जाइज’ गर्नुपर्ने हो । क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको शब्दमा भन्ने हो भने, एक युगमा एकपटक आउने अवसर हो यो !
यो समृद्ध भनिने मुलुकलाई समेत विरलै प्राप्त हुने अवसर हो । यस्तो अवसर अहिले नेपाल र नेपालीले पाइरहेका छौँ । राष्ट्रलाई नै यस्तो अवसर दिलाउने दस भाइ नेपाली हुन्–१) निर्मल पूर्जा २) मिङ्गमा ग्याल्जेन शेर्पा ३) गेल्जे शेर्पा ४) मिङ्गमा डेभिड शेर्पा ५) मिङ्गमा तेन्जी शेर्पा ६) दावातेम्बा शेर्पा ७) पेमा छिरि शेर्पा ८) किलुमेम्बा शेर्पा ९) दावातेन्जेङ शेर्पा १०) सोना शेर्पा ।
यी दस जनालाई प्रायः नेपालीले चिनेका छैनन् । पर्यटन व्यवसायमा लागेकाहरूले भने यिनलाई विश्वकै दस उत्कृष्ट हिमाल आरोही भनेर जान्दछन् । तर साहसिक पर्यटनको क्षेत्रमा यिनीहरूलाई साहसी र प्रेरणाको स्रोत मानिन्छ । नमानुन् पनि किन ? संसारभरका ६० जना विश्वविख्यात आरोहीहरू विश्व रेकर्ड कायम गर्न हिउँदयाममा कसैले चढ्न नसकेको विश्वको दोस्रो अग्लो हिमाल के–टू चढ्न त्यसको आधार शिविरमा पर्खिरहेका थिए । तर आँट गरिरहेका थिएनन् । तिनै विख्यात आरोहीहरूलाई सहयोग गर्ने पथप्रदर्शक, बाटो बनाउनेलगायत आरोहणमा मद्यत गर्न र रेकर्ड तोड्ने अभिलाशा लिएर यी दस नेपाली त्यहीँ सामेल थिए । आज भन्यो, भोलि भन्यो चढ्ने साइत जुरिरहेको थिएन । एकदिन तिनै दसमध्ये एक निर्मल पूर्जाले भन्नुभयो – “हैन हो साथीहरू हो कति दिन यसरी कुरेर बस्ने ? कति कुर्ने ? हामीले साहस नगरे कसले गर्ने ? नेपालीले आँट गरौँ ! यसो गर्न सक्यौँ भने आफ्नै हिमालको पहिलो आरोहण गर्न नपाएका नेपालीले नयाँ विश्व रेकर्ड कायम गर्न सक्छौँ ।”
बेलायती सेनाको विशेष फोर्समा काम गरिसक्नुभएका उहाँले आफ्नो प्रतिभा र क्षमता बेलायती सेनामा होइन, आफैँले हिमाल आरोहण गरेर प्रदर्शन गर्नुपर्छ भनेर आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै अग्ला हिमशिखर छ महिना छ दिनमा चढिसक्नुभएको थियो । उहाँमा विश्व रेकर्ड होल्डर बन्ने हुटहुटी थियो । गर्मी सिजनमा चढिसकेको के–टूबारे उहाँलाई थाहा नहुने कुरै भएन ।
विश्वको पहिलो अग्लो हिमाल सगरमाथा हो । दोस्रो अग्लो के–टू (२८ हजार २ सय ५१ फिट) हो । के–टूलाई पिरामिड माउन्टेन पनि भन्छन् विदेशीहरू किनभने यो झण्डै मिश्रको पिरामिड आकृतिको देखिन्छ । यो आरोहणका लागि गाह्रो हिमालमध्ये एक मानिन्छ । हिउँदमा त कसैले पनि आरोहण गर्न सकेका थिएनन् । यो चुचुरो चुम्ने पर्वतारोहीमध्ये चार जनामा एक जना मर्ने गरेको रेकर्ड छ ।
अत्यन्त भिरालो भूगोल, मान्छे नै उडाउने जस्तो तीव्र गतिको हावा, अविरल हिमपात, घरभन्दा ठूला हिउँका ढिक्काको लगातार गइरहेको पहिरो, साँघुरो गौँडो, माइनस साठी डिग्री चिसोमा देउता नपुकारी अगाडि बढ्न नसकिने र पाइलापाइलामा मृत्युसँग लाक्पा खेल्दै अहिलेसम्म दूरुह रहेको के–टू शिखर चुम्ने साहसी वीर आरोहीहरूले आरोहणको इतिहासमा विश्वरेकर्ड कायम गरे । नेपाली राष्ट्रिय गान गाउँदै एकै पटक शिखर चढेर सबै नेपालीलाई गौरवान्वित बनाए । यिनको रेकर्डको सामूहिकता आश्चर्यबोधक छ ! हिमाल चढ्दा को पहिला को दोस्रा भन्ने परम्परालाई निमिट्यान्न पारे सामूहिकताको उत्कृष्ट नमुना प्रस्तुत गरे । के–टू आरोहणलाई ग्लोबलाइज्ड (विश्वव्यापी) गराए । यो पत्याउन नसकिने तर अनुमान मात्र गर्न सकिने विषय हो । साहस, ऐक्यबद्धता र वीरताका यिनका गाथाहरू आउँदो लामो समयसम्म गाइने निश्चित छ ।
नेपाली आरोहीले हिउँदमा के–टूको सफल आरोहण गरेपछि आश्चर्य चकित बनेर पाकिस्तान सरकार र त्यहाँका प्रधानमन्त्री इमरान खानले आधार शिविरमा विशेष हेलिकोप्टर पठाएर पाकिस्तानी राजधानीमा गर्नुभएको स्वागत र वीरताको प्रशंसाले आरोहणको महìव स्पष्ट हुन्छ । अर्को, बिर्सन नहुने तथ्य के पनि छ भने भारतीय काँग्रेसका नेता राहुल गान्धीले नेपालीले हिउँदमा के–टू चढेको थाहा पाउनेबित्तिकै यो विश्वव्यापी महìवको घटना हो भनेर बधाइ दिँदै ट्वीट गरिहाल्नुभयो । नेपाली दस भाइले गरेको यो आरोहण अन्तर्राष्ट्रिय परिघटना नै बनेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विश्वभर चर्चित बनाउने पर्वतारोहीहरूलाई स्वागत र सम्मान गरेर हौसला प्रदान गर्नुभएको छ ।
टे«किङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष सिर्जनशील पर्यटन उद्यमी ज्योति अधिकारी भन्नुहुन्छ, हामीसँग के छैन ? यो विषय विद्यालयस्तरबाटै बालबालिका र युवालाई सिकाउनुपर्छ । श्रम गर्ने र आफ्नो श्रमप्रति गौरव गर्ने संस्कृति विकास गर्नुपर्छ । हाम्रा पर्वत शृङ्खलाहरूको महìव हाम्रै बालबालिका र युवाले नबुझेसम्म हामीले यसको प्रवद्र्धन गर्न सक्दैनौँ । उहाँ भन्नुहुन्छ, ‘‘विद्यालयस्तरका पाठ्यक्रममै यी विषयहरू समावेश गर्दै बच्चैदेखि पदयात्रा, पर्वतीय शृङ्खलाहरूको आरोहण र जैविक विविधता र पर्यावरणको महìव सिकाउनुपर्छ । जसले भविष्यमा लाखौँ आरोही बनाउन सक्छ र संसारमा जसरी वीर गोर्खाली, इमानदार र साहसी नेपाली भनेर छुट्टै पहिचानसहितको स्थान बनाई आर्थिक उन्नति गर्न सक्छन् ।”
समृद्ध नेपाल सुखी नेपालीको महìवको कडीको रूपमा पहिचान गरी यी विषयहरूमा राष्ट्रिय जागरण ल्याउन सकियो भने मुलुकले आर्थिक उन्नतिमा काँचुली फेर्न सक्छ । बिचौलिया, दलाल, ठग, गुण्डा, लुटेरा, अल्छी, आवारा झुण्डहरूको दिन सकिन्छ । नयाँ पुस्ताले नयाँ ऊर्जा, उमङ्गको नयाँ सन्देश प्रवाह गर्न सक्छ । हाम्रो भूगोल, हाम्रो शारीरिक बनोट, हाम्रो क्षमता केमा छ ? के कुराले हामी अन्तर्राष्ट्रियरूपमा सबैभन्दा अगाडि हुनसक्छौँ ? यसको पाटो खुल्नेछ । संसारभर छरिएर रहेका नेपालीहरू आफूमा रहेको इमानदारी, कठोर परिश्रम, सिर्जनशीलता र निरन्तरताको मणि पहिचान गर्न सक्छन् । सर्वत्र गौरवबोध गर्न सक्छन् । जसरी यी दस भाइले गरे ।
अबको नेपालको उन्नति आर्थिक कूटनीतिबाट मात्रै सम्भव छ भन्ने बत्तीमुनि उज्यालोका लेखक अश्विन पुडासैनी नेपालले लाभ लिनसक्ने, समृद्धि हासिल गर्न सक्ने, विश्वमा भाइचारा र बन्धुत्वसहित आफ्ना सबल पक्षहरूको विकास विस्तार गर्न, वैदेशिक लगानी भिœयाउन आर्थिक कूटनीतिमार्फत हाम्रा सबै कूटनीतिक संयन्त्रहरू चलायमान गर्न सकिन्छ भन्नुहुन्छ । जलविद्युत्, पर्यटन, वैदेशिक सहायता र निर्यात प्रबद्र्धन गर्न जल, जमिन, जडीबुटी र जनशक्तिको भरपूर विकास गर्नुपर्छ ।
‘गोर्खाज् !’
विदेशीहरू ‘गोर्खाज’ भन्दै त्यसपछाडि आश्चर्यबोधक चिह्न लगाएर नेपालीको नाम लिने गर्छन् । बेलायतसँग नेपालको नालापानीको युद्ध होस् वा टिष्टा र काँगडामा नेपालीहरूको वीरताबाट अङ्ग्रेजहरू नतमस्तक नै भएका हुन् । धेरै वटा युद्धमा गोर्खालीसँग हारे पनि । औपचारिकरूपमै गोर्खा रेजिमेन्ट बनाएर बेलायत कहिल्यै सूर्य नअस्ताउने साम्राज्य विस्तार गर्न सफल भयो । रगत बगाउन मात्र होइन, जीवन नै दिन सक्ने, आफू विजयी नबन्ने तर अरूलाई विजयी बनाउने, भिक्टोरिया क्रश पाउन होइन जिम्मेवारी पूरा गर्न बलिदानी गर्ने जाति भनेर चिनिन्छ गोर्खाज । पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खालीले प्रदर्शन गरेको सौर्य र देखाएको वीरता विश्व इतिहासमा कहिल्यै नमेटिने गरी स्थापित नै छ । संसारका जुन कुनामा पनि गोर्खाली भनेपछि भनिहाल्छन् – यी बहादुर छन्, विश्वासी छन्, मिहिनेती छन्, भरपर्दा छन् । मानौँ हाम्रो परिचयको पर्याय नै यही हो । नेपोलियन बोनापार्टको भनाइ नै छ–गोर्खाली जस्तो वीर भयो भने कहिल्यै कसैले हार खानु पर्दैन ।
‘शेर्पाज् !’
गोर्खाजपछि शेर्पाज्ले अर्को पहिचान बनाएको छ । अहिलेको युगमा नेपालमा रहेको अथाह स्रोत भनेको पर्वतीय हिमशृङ्खला र पर्यटन क्षेत्र नै हो । साहसिक पर्यटनको कुरा आयो कि शेर्पाज् जोडिइहाल्छन् किनभने पर्वत अथवा हिमालय पहाडमा विभिन्न आरोहणमा शेर्पाहरू इमानदारी र बहादुरीका साथ खटिइरहन्छन् । त्यसैले सगरमाथाको आरोहण होस् कि के–टू आरोहण शेर्पाको सहभागिता र सहयोगमा सफलतापूर्वक सम्पन्न हुन्छ भन्ने विश्वास छ ।
गोर्खाज् हुन् कि शेर्पाज् यी ‘चेन अफ कमाण्ड’ मा चल्छन् । टिमवर्क (सामूहिकता) मा विश्वास गर्छन् । यी कसैको दयामायाले बनेका पनि होइनन् । यिनको रगतका कणकणमा काम÷कर्तव्यप्रति निष्ठा छ । आफ्नो काम र इमानदारीले यिनीहरू बहादुर, भरपर्दा र विश्वासी बनेका हुन् । यी नेपालका ब्राण्ड हुन् – गोर्खाज् भए युद्धको मैदानमा सुरक्षित होइन्छ, शेर्पाज् भए हिमालमा सुरक्षित भइन्छ !
अब के गर्ने?
नेपाललाई ‘ग्लोबलाइज’ गराउने के–टू आरोहणको गीत मात्र गाएर पुग्छ ? अवश्य पुग्दैन । जबसम्म पूरै राष्ट्रलाई गौरवान्वित गराउने यो शिक्षालाई भविष्यमुखी बनाउन्नौँ, केही समयमै यसको राप र ताप सकिन्छ । केही बहादुर र दक्षता प्रदर्शन गर्नेहरू अरू देशमा बस्ने र पलायन भएर टुङ्गिनेछ । किनभने योग्य र सबल व्यक्तित्वलाई जसले पनि रातोगलैँचा बिछ्याउँछ । अहिले आरोहीहरूलाई फूलमाला र खादा लगाएर गुणगान गाएर स्वागत गर्नेहरूले पनि भविष्यमुखी बनेर अगाडिको योजना बनाउनुपर्छ । आजको बहादुरी भविष्यको गर्भमा कदापि नहराओस् । नयाँ बहादुर, सुरवीर, सक्षम र उदाहरणीय नागरिक उत्पादन गर्ने कारखाना नै हो समथर, मध्यपहाड र हिमाल । नयाँ पुस्तालाई डोराएर रूपान्तरण गर्ने काम अब स्कुल, कलेज, विश्वविद्यालयका पाठ्यक्रममा मात्र होइन, प्रिस्कुलदेखि नै सुरु गर्नुपर्छ । हिमाल, पहाड, तराई, नदी, ताल÷तलैया, चराचुरुङ्गी, जीवजन्तु, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुर, स्वयम्भू, तराई पहाड समावेश गरेर प्रत्येक विद्यार्थीहरूलाई अनुभूति गराउनुपर्छ । साक्षात्कार गराउनुपर्छ । तब न उनीहरूले गौरव गर्छन् । त्यसैले भनिन्छ–‘थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली’ !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?