logo
२०८१ बैशाख १६ आईतवार



राजनेता सिध्याउने परजीवीहरू

राजनीतिमा परजीवी कोरोना भाइरसजस्तै विभिन्न रूपरङ्ग र बहानामा यताबाट उता गरिरहन्छ ।

विचार/दृष्टिकोण |


राजनेता सिध्याउने परजीवीहरू


कृष्णमुरारी भण्डारी

नेपाली राजनीति परजीवीहरूबाट आक्रान्त छ । द्वैध चरित्रका परजीवीहरूको कारण यतिखेर कोरोना विषाणुले जस्तै राजनीतिलाई गाँजेको छ । यो महामारीबाट जोगिनु पर्ने ज्यादै ठूलो दबाब र चुनौती राजनीतिक नेतृत्वमाथि ऐतिहासिक रूपमा परेको छ । नेतृत्वले परजीवीबाट मुक्त भई निर्णय गर्न सकेमा खोपपछि कोरोनाबाट सुरक्षित भएझैंँ राजनीतिक परिदृश्य सँंगालिनुको साथै उकुच पल्टिएको राजनीतिले निकास पाउनेछ ।
परजीवीहरू दोधारे, स्वार्थी, आत्मकेन्द्रित र अत्यन्तै सङ्कुचित हुन्छन् । परजीवीले कसरी भाँडभैलो मच्चाउन सक्छन् भन्ने थाहा पाउन अन्यत्र जानै पर्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबमोजिम ०७४ सालमा निर्वाचन भयो । सङ्घ, प्रदेश र स्थानीय तहको चुनाव भई दुई तिहाइ बहुमतको पहिलो निर्वाचित गणतान्त्रिक सरकार बन्यो । तर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ अगाडि बढ्न बाधा अवरोध सिर्जना भइरहेछ । सातसाल यता एउटा पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएको छैन । लथालिङ्ग पार्ने परजीवीहरूनै हुन् । ती दिलोज्यान दिएर लागेका छन् । दुष्परिणामहरू देखापरिरहेका छन् । समाजशास्त्रका एक मूर्धन्य प्राध्यापक भन्छन्, परजीवीहरूले ‘डिस् एग्रिमेन्ट’ (असहमती) लाई ‘डिस्प्युट’ (विवाद), ‘डिस्प्युट’ (विवाद)लाई ‘कन्फ्लिक्ट’ (द्वन्द्व), ‘कन्फ्लिक्ट’ लाई ‘क्राइसिस’ (सङ्कट) मा पु-याउँछन् र त्यसबाट आफूले लाभ लिन्छन् ।

को हुन् परजीवी ?
नेपाली शब्दसागरअनुसार परजीवी भनेका ‘अर्काको भरमा बाँच्ने, आफ्नो जरा नहुने, अरू रुख बोटविरुवाको रसले बाँच्ने आकाशवेली, सुनाखरी आदि । परजीवी किटाणुको रूपमा अरू प्राणीको रगत चुसीचुसी बाँच्ने जीवात, जुम्रा, किर्ना, रक्तजीवी किटाणु ।’
मान्छेको रूपमा अरूको पौरख र कमाइमा बाँच्ने, अरूको ख्यातीमा जोडिने, अरूको उपलब्धिमा लाभ लिने, अरूलाई देखाएर आफ्नो स्थान बनाउने, अरूको अस्तित्वमा मात्रै आफ्नो अस्तित्व हुने । राजनीतिमा परजीवी कोरोना भाइरसजस्तै विभिन्न रूपरङ्ग र बहानामा यताबाट उता गरिरहन्छ । रिङ्ग अर्थात् ग्राउण्ड बाहिर बसेर राजनीतिक परजीवीले खेल्नु खेल्छन् । लोककथाका दुई बिराला आपसमा झगडा गरी चतुर बाँदरको शरण पुग्छन् रोटी बराबर बाँड्न । बाँदरले बिरालाको रोटी तराजुमा तौलिएर कहिले एकातिर बढी कहिले अर्कातिर बढी गरेर बढी भएको जति खाँदै जान्छ । जोख्दाजोख्दै रोटीजति बाँदरले खाएर सकिन्छ । दुवै बिराला जिल्लाराम पर्छन् । यो कथाको सन्देश भाइ फुटे गवार लुटे हो ।
राजनीतिमा परजीवीले मै हुँ भन्ने राजनीतिज्ञलाई पनि त्यस्तै अवस्थामा पु¥याइदिन्छन् । किनभने परजीवी भनेको बोटविरुवाको होस् वा जनावरको अथवा मानिसको, तिनीहरू जुन घरमा आश्रित हुन्छन् त्यसैलाई खाइदिन्छन् । राजनीतिक परजीवीहरूले राजनीतिज्ञहरूलाई दोधारेले जस्तै चाकरी गरेर र चुक्ली लगाएर खुराफात गरीगरी हुँडारले जस्तै समाप्त पारिदिन्छन् । कसैलाई बहुचर्चित बनाउन अरूलाई सिध्याएपछि मात्र आफ्नो अस्तित्व हुन्छ भनी हौस्याउँछ, फुक्र्याउँछ, लोभ्याउँछ र बिराट स्वरूपझै प्रस्तुत गर्छ परजीवी । जसले आश्रय दियो, जसको संरक्षणमा हुक्र्यो त्यसैलाई मटियामेट पारिदिन्छ । कसैलाई धनी बन्न बुद्धि, विवेक, लगानी र उद्यमबाट होइन, परजीवीले छिटो धनी बन्न यस्तो अवसर अरू बेला पाइँदैन त्यसैले लुट, चोरी, डकैती र भ्रष्टाचार गर्न सुषुप्त रूपमा उक्साउने गरिरहन्छ । उनीहरू ‘रेन्ट सिकिङ’ (दस्तुर उठाई खाने) स्वभावका हुन्छन् । त्यसैले तस्कर, कालाबजारी, बिचौलिया, माफियाहरूसँग परजीवीहरूको घनिभूत बसउठ हुन्छ । यो वा त्यो बहानामा आफूले लाभ लिन नेतृत्वलाई प्रयोग गरिरहन्छ । जसलाई समाजशास्त्री प्राध्यापक ‘अथोरिटी‘को ‘युज, ‘मिसयुज’ र ‘एब्युज’ गरेको हो भन्छन् ।

खुराफाती परजीवी
नेपालको जहानियाँ राणा शासनविरुद्ध क्रान्ति गर्न राजनीतिक रूपमा सचेत राजनीतिज्ञहरूको स्थापनाकालदेखिको इतिहास हेर्ने हो भने जुट्ने, टुट्ने, फुट्ने, चोइटिने, खिइने, चेप्टिने, सुइरिने र एक्लिने संस्कृति नै बनेको छ । प्रजापरिषद्, काँग्रेस र वामपन्थी पार्टीहरू यही नियति बेहोर्दै आएका छन् । यी पार्टीहरू जुन उद्धेश्यका लागि स्थापना भएका हुन्, त्यो पूरा नहुँदै, क्रान्ति र त्यसपछिका उपलब्धि संस्थागत हुन नपाउँदै, क्रान्ति लगत्तै किन यसरी विखण्डित हुन्छन् ? राजनीतिक गतिमै किन अवरोध पार्छन् ?
यस विषयमा गएको साता समाजशास्त्रका ती प्राध्यापकसँग छलफल भएको थियो । उनका पुस्तक, कार्यपत्र र लेखहरूको पनि लामो चर्चा परिचर्चा भयो । स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक, सामाजिक, सांस्कृतिक धार र क्रान्ति/प्रतिक्रान्तिका विषयमा खुलेर बहस गरियो । अन्तर्राष्ट्रिय ख्याति पनि कमाएका ती प्राध्यापकले विश्वासका साथ आफ्नो अनुभव बाँडे । उनको चुरो कुरो चाहिँ प्रस्तुत आलेखको सन्दर्भमा परजीवीहरूकै कारण बारम्बार नेपालमा अस्थिरता मौलाइरहेको हो । उनले भने, लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिपछि पनि सोभियत रुसको बोल्शेभिक पार्टीमा टुट, फुट, गुट र विचलन आएको थियो । चीनमा माओको सांस्कृतिक क्रान्तिमा परजीवीका कारण व्यापक विचलन आएको सबैलाई अवगत नै छ । भारतमा पनि गान्धी नेतृत्वमा भएको बेलायती उपनिवेशविरोधी आन्दोलनको सफलतासँगै देश नै टुक्रियो । भारत स्वतन्त्र भएपछि पनि गुट र फुट जारी रह्यो ।
उनी भन्छन्, समाजको पहिलो एकाइ परिवार हो । जहाँ परजीवीकै कारण परिवार विखण्डन हुन्छ र घर भाँडिन्छ । परिचयको लय नै हराउछ । आत्मीय सहृदयी र आपसी सद्भाव र समर्पणसहितको सम्बन्ध नै क्षतविक्षत् हुन्छ । स्वार्थ पूरा गर्न लोग्नेलाई ‘भाउजूको त निकोचाल देखिन दाइ’ भन्यो । यस्तो भनेको मेरै कानले सुनेँ, आँखाले देखेँ भनेर कुरा लगायो । अनि यो त अति भयो विचार पु-याउनु होस् है दाइ निकोचाल छैन भनेर चुकुल हाल्यो । अरू खुराफाती लगाएर त्यसमा मसला छक्र्यो । तेस्रोबाट चुक दलायो । दाइलाई हँ भन्ने पा-यो । उता भाउजूलाई भने दाइबारे शङ्का उत्पन्न गर्ने छुल्याइ गरेर मुख मिठ्याउने र शोषण गर्ने दोधारे परजीवीहरूको षडयन्त्रमूलक योजना नै हुन् । जुन कुरा सम्बन्ध नबिग्रिएसम्म दाइ भाउजूले नै थाहा पाउँदैनन् ।
निकट विगतमा नेकपा एकता भाँडिनु र एमाले तथा माओवादी पार्टी छुट्टाछुट्टै हुनुमा सर्वोच्च अदालतको फैसलाको प्राविधिक कारण होइन कि त्यो परजीवीहरूको लाभ र उनीहरूको पहिचान व्यवस्थापन गर्न नेतृत्व चुकेको कारण यसो भइरहेको प्राध्यापक दाबी गर्छन् । उनको अभिमत छ, परजीवीहरूको आफ्नो रूप हुँदैन । प्रष्ट स्वरूप पनि हुँदैन । तर उनीहरू कोरोना विषाणुजस्तै सबैतिर उपस्थित भइरहेका हुन्छन् । त्यस्ता परजीवीहरू नेतृत्वको हात, आँखा, कान, नाक, छाला र जिब्रोसम्म पुग्छन् । र, सदैव मूल पक्षहरूलाई कोरोनाले झैँं दुष्प्रभावित पारिरहेका हुन्छन् । उनीहरूले त्यो आफ्नो नितान्त व्यक्तिगत, पारिवारिक समूहको लाभको लागि मात्र गतिविधि सञ्चालन गरिरहेका हुन्छन् । यो कुरो बेलैमा नेतृत्वले पहिचान गर्न नसक्दा र परजीवीहरूको प्रभावमा पर्दा कतिपय समयमा नेतृत्व नै नारायणहरि भइसकेको हुन्छ । अस्तित्व समाप्त हुन्छ । मटियामेट हुन्छ ।
बढो असजिलो मान्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनका लौह पुरुषसमेत परजीवीका कारण मटियामेट भएको प्रष्ट्याए । एक समय झण्डै झण्डै गिरिजाप्रसाद कोइरालाको पनि हालत त्यस्तै थियो । ती प्राध्यापकले प्रतिप्रश्न गर्दै तत्कालै भने– सम्झनु हुन्छ, पञ्चायतकालको भूमिगत गिरोहको नाम ? गिरिजाप्रसादको बेलाको एकेजीबीको जगजगी ? अहिले वामपन्थी एकता हुन नदिने पनि त्यस्तै परजीवीहरू हुन् । डरलाग्दा परजीवीका झुण्ड तपाईं हामी पनि महसुस गर्न सक्छौँ । बिहान एउटा क्याम्प, दिउँसो अर्को क्याम्प र साँझ तेस्रो ! हुन् चाहिँ कसको ? वामपन्थी आन्दोलन जुन लक्ष्य, गति र उपलब्धिका साथ अघि बढ्दै संसद्मा झण्डै दुईतिहाई बहुमत थियो, यो वामपन्थी उभार देखेर परजीवीहरूले आफ्नो लाभ र अस्तित्व नै सङ्कटमा पर्नसक्ने अनुभव गरिरहे । नेतृत्वलाई विखण्डनका लागि उक्साउन दिन र रात नभनी लागे । उक्साइरहे । परजीवीहरूकै उक्साहट र उछलकुदको परिणाम नै अहिले पार्टी एकतामा सकस परेको हो ।
समाजशास्त्री भन्छन्, परजीवीहरू यति सशक्त हुन्छन् कि आफ्नो मिसनमा निरन्तर लागिरहन्छन् । उनीहरूको कुनै स्वाभिमान हुँदैन । स्वार्थ मात्र हुन्छ । केवल दौराको फेर नै उनीहरूको कन्स्टिच्युयन्सी (निर्वाचन क्षेत्र) हो । त्यसपछि यो वा त्यो समूहको नाउमा धम्क्याउने, थर्काउने, मोलाहिजा गर्ने, आर्थिक लाभदेखि अस्तित्व रक्षाको समेत अभिभारा बोकेर प्रस्तुत हुन्छन् । परजीवीहरू विषयलाई रहस्यमय र षडयन्त्रमय बनाउनमै आफ्नो अस्तित्व देख्छन् । रहस्य र षडयन्त्रको आवरणमा आमजनतालाई दिग्म्रमित पार्न प्रयत्नशील रहिरहन्छन् । तथ्य र तर्कमा भन्दा उनीहरू बढी भावना, मिथकहरू राखेर आफ्नो स्वार्थसिद्ध गर्छन् । उनीहरू आफ्नो पृष्ठभूमि लुकाउन चाहन्छन् र जनताको पीरमर्काको पक्षमा लागेको स्वाँग पार्छन् । चाप्लुसी गर्छन् । कृत्रिम रूपमा प्रस्तुत हुनसक्छन् । साँखुल्ले बन्छन् ।
उनीहरू ‘ग्लेमरस’ विषयवस्तुमा आफूलाई ‘सेलेब्रिटी’ जस्तो देखाउछन् । परजीवीहरू सूचना प्रविधि, सञ्चारमाध्यमको भरपूर उपयोग गरिरहेका हुन्छन् । यति चतुर हुन्छन् कि उनीहरूको धुत्र्याइँ न सञ्चारकर्मीले थाहा पाउँछन् न त नेतृत्वले नै भेउ पाउँछ । झट्ट हेर्दा ज्यादै काविल विनयशील, अनुशासित, रातबिहान केही नभनी खटिइरहने, हात मुख व्यवहार सबैतिरबाट मस्का लगाइरहने, जीहजुरीमा अब्बल, जे परे पनि छाँद हाल्ने, ‘ल्वायल’ र इमानदार चाकरको रूपमा प्रस्तुत भएर नेतृत्वको नजरमा छुटाउनै नहुने ‘इण्डिस्पेन्सेवल पार्ट’ जस्तो बनिरहेका हुन्छन् । परजीवीहरू कतिखेर कसको ‘स्पोनसरसीप’मा नेताको भित्री कोठासम्म पुगे, त्यहाँ ‘परमानेन्ट’ स्थान बनाए, मनोनित भए न नेतृत्वले न त समाजले नै थाहा पाउँछ । जतिबेला परजीवीहरूबारे नेतृत्वलाई थाहा हुन्छ समय गुज्रिसकेको हुन्छ ।

समाधान के हो ?
समाजशास्त्री निखार्छन्, नेतृत्वले हो यतिखेर संवेदनशील हुने । एकान्तमा एकाग्र भई अनपेक्षित निर्णय लिने । परजीवीहरूले पत्तै नपाई निर्णय सुनाउने । त्यसैले चमत्कारिक नेतृत्व स्थापित हुने यस्तै समयमा हो । जो परजीवीबाट मुक्त भई निर्णय गर्न सफल हुन्छ । राजनीतिक नेतृत्वले समाज, जनता र मुलुकलाई केन्द्रबिन्दुमा राखेर निर्णय लिने हो । यतिबेला दायाँ बायाँ किन्तु परन्तु केही पनि गर्नु हुँदैन । संसारका जति पनि सफल राजनेताहरू छन् उनीहरूले यस्तै सङ्कटको घडीमा आफ्नो चमत्कारिक निर्णय क्षमता प्रदर्शन गरेका छन् । तत्काल अप्रिय लाग्ने तर सुदूर भविष्यसम्म समाजको रूपान्तरणका लागि सकारात्मक प्रभाव पार्ने निर्णय क्षमता नै चमत्कारिक राजनेताको विशेषता हो । हामीकहाँ पनि त्यस्ता राजनेताको अभाव त होइन तर सङ्कटमा त्यस्तो निर्णय क्षमता देख्न बाँकी नै छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?