logo
२०८१ बैशाख १८ मंगलवार



१० महिनामा एक करोड ६९ लाखले लगाए खोप, कुन प्रदेशमा कति

स्वास्थ्य |
मुख्य समाचार |


१० महिनामा एक करोड ६९ लाखले लगाए खोप, कुन प्रदेशमा कति


काठमाडौं, मङ्सिर ५ गते । नेपालमा अहिलेसम्म कोरोना विरुद्धको एक करोड ६९ लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० महिनाको अवधिमा एक करोड ६८ लाख ८३ हजार १६० मात्रा खोप लगाएको हो । सरकारले गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु गरेको थियो ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन, जापानी कोभिड–१९ एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३० दशमलव १ प्रतिशत अर्थात् ९१ लाख ९ हजार ६ सय ६६ जनाले एक मात्रा र २५ दशमलभ ९ प्रतिशत अर्थात् ७८ लाख ७६ हजार ७ सय ३ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

त्यस्तै ४६ प्रतिशत लक्षित समूहले पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३९ प्रतिशत लक्षित समूहले दोस्रो मात्रा खोप पाएका छन् । पहिलो मात्रामा कोभिड–१९ एस्ट्राजेनेका र फाइजर खोप ३० लाख ३३ हजार ४७० जनाले लगाएका छन् । त्यस्तै १५ लाख ४० हजार ६९ जनाले जोन्सन खोप लगाएका छन्।

दोस्रो डोजमा १७ लाख ९३ हजार ३८ जनाले कोभिड १९ एस्ट्राजेनेका र ४४ लाख ६८ हजार ३९९ जनाले भेरोसेल र फाइजर लगाएका छन् । त्यस्तै १५ लाख ४० हजार ६९ जनाले जोन्सन लगाएका छन्।

कुन प्रदेशमा कतिले लगाए खोप ?
परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार प्रदेश १ मा ३९ प्रतिशतले पहिलो मात्र खोप लगाएका छन्। २४ प्रतिशत जनसङ्ख्याले दोस्रो खोप लगाएका छन् भने ६ प्रतिशतले जोन्सन खोप लगाएका छन्।

प्रदेश २ मा ३३ प्रतिशत जनसङ्ख्याले पहिलो मात्रा, १७ प्रतिशत दोस्रो मात्रा र ९ प्रतिशतले जोन्सन खोप लगाएका छन्। बागमती प्रदेशमा ६९ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन् । ५७ प्रतिशतले दोस्रो मात्रा र ९ प्रतिशतले जोन्सन खोप लगाएका छन्। गण्डकी प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा, ३७ प्रतिशतले दोस्रो र ८ जनाले जोन्सन खोप लगाएका छन् ।

लुम्बिनी प्रदेशमा ३८ प्रतिशतले पहिलो मात्रा २७ प्रतिशतले दोस्रो र ८ प्रतिशतले जोन्सन खोप लगाएको तथ्याङ्क रहेको छ । कर्णाली प्रदेशमा ३३ प्रतिशत पहिलो, २२ प्रतिशत दोस्रो र ६ प्रतिशतले जोन्सन खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशतले पहिलो मात्रा, २९ प्रतिशत जनसङ्ख्याले दोस्रो र ७ प्रतिशत जोन्सन खोप लगाएका छन् ।

कसले कहिले लगाए खोप ?
सरकारले माघ १४ गतेबाट कोराना विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा फागुन १० गतेसम्म अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइएको थियो ।

दोस्रो चरणमा फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र हिमाली जिल्लामा ५५ वर्षदेखि माथिका र तेस्रो चरणमा ५५ देखि ६३ वर्ष समूहका नागरिकलाई खोप दिइएको थियो ।

त्यसपछि सरकारले १८ वर्षमाथिका नागरिकलाई खोप लगाएको थियो । सरकारले कार्तिक २८ बाट मङ्सिर ४ गतेसम्म १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइएको छ । बाँकी रहेका १२ देखि १७ वर्षका बालबालिकालाई मङ्सिर ५ गतेबाट खोप लगाउन थालिएको छ ।

कसरी आयो खोप ?
परिवार कल्याण महाशाखाका अनुसार नेपालले अहिलेसम्म अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत खोप प्राप्त गरेको छ । शुक्रबारसम्म नेपालमा २ करोड ५४ लाख ७० हजार ६३० डोज खोप प्राप्त गरिसकेको छ। एक करोड ४७ लाख ७०८ डोज भेरोसेल खोप चीनबाट ल्याएको हो ।

त्यस्तै १ लाख ६२० डोज फाइजर कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाएको हो । ३ लाख ४८ हजार डोज एस्ट्राजेनिका क्यानेडियन सरकारले नेपाललाई उपलब्ध गराएको हो ।

भारतबाट अनुदानमा १० लाख मात्रा, नेपाली सेनालाई कोभिशिल्डकै एक लाख मात्रा, चीनबाट अनुदान सहयोगमा हालसम्म १८ लाख मात्रा भेरोसेल खोप, गाभीमार्फत ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप नेपालले प्राप्त गरेको छ ।

यस्तै, अमेरिकाबाट जोनसन एण्ड जोनसन खोप १५ लाख ३४ हजार मात्रा नेपालले अनुदानमा प्राप्त गरेको छ ।

सरकारले पुससम्म लक्षित जनसङ्ख्याको दुई तिहाई र चैत मसान्तसम्म सबै जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोपका लागि नागरिकले लाइन बस्नु नपर्ने बताउनुभएको छ । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले डिसेम्बरभित्र ६० लाख खोप ल्याउने बताउनुभयो ।

नेपालमा ९ लाख १४ हजार ९५ जनामा कोरोना पृष्टि भएको छ । जसमध्ये अहिलेसम्म ११ हजार ४९५ जनाको मृत्यु भइसकेको छ । यो कुल सङ्क्रमितको १.४ प्रतिशत हो । नेपालमा कोरोना सङ्क्रमितमध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् । जुन कुल सङ्क्रमितको ९७.७ प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?