logo
२०८१ बैशाख १४ शुक्रवार



गर्मी सुरु भयो, सरुवा रोगबाट जोगिने यस्ता छन् उपाय

स्वास्थ्य |


गर्मी सुरु भयो, सरुवा रोगबाट जोगिने यस्ता छन् उपाय


काठमाडौं, चैत १२ गते । गर्मी मौसम सुरु भएसँगै विभिन्न संक्रमणजन्य रोगको संक्रमण देखिन थालेको छ । जाडो मौसममा भन्दा गर्मीमा संक्रमणजन्य रोगहरु बढी फैलिने चिकित्सक बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस, हाइड्रोफोबिया, चिकुनगुनिया जस्ता रोग देखिने गर्दछन् ।

जनस्वास्थ्य विशेषज्ञका अनुसार गर्मी मौसममा फैलिने अधिकांश रोग पेटसँग सम्बन्धित हुन्छन्, जुन पानी, खाना र सरसफाइका कारण फैलिने गर्दछन् । नेपालमा गर्मी सुरु भइसकेकाले पनि अब संक्रमणजन्य रोगका विरामी पनि बढ्ने चिकित्सक बताउँछन् । गर्मी मौसममा संक्रमणजन्य रोगबाटजोगिन सावधानी अपनाउनपर्ने सुझाव छ, सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको । डा. पुनका अनुसार गर्मी महिनामा टाइफाइड, हैजा, ठेउला, दादुरा रुघाखोकी, झाडापखाला, हेपाटाइटिस ए र इ, आउँ, जन्डिस जस्ता सरुवा रोग फैलिने गर्छन् ।

कुन रोग कसरी फैलिन्छ ?

ठेउला, दादुरा, रुघाखोकी जस्ता सरुवा रोग हावाबाट फैलिन्छन् भने टाइफाइड अर्थात् हेपाटाइटिस ए र ई, झाडापखाला, हैजा लगायतका सरुवा रोग दूषित पानीबाट सर्ने डा. पुन बताउनुहुन्छ । जनस्वास्थ्य विज्ञका अनुसार यस्ता रोगहरु विशेष गरी हावा, पानी, लामखुट्टृेलगायत कीटको संक्रमणबाट हुने गर्दछन् । ‘गर्मी मौसममा यी रोगका ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि यसको जोखिम उच्च हुन्छ,’ डा पुनले भन्नुहुन्छ, ‘गर्मी महिना लाग्दै गर्दा धेरै मानिस बाहिरै घुम्ने, बाहिरै खाने प्रचलनले गर्दा पनि रोग फैलिने गर्दछ ।’ डा.पुनको कुरासँग जनस्वास्थ्य विज्ञ डा. शरद वन्त पनि सहमत हुनुहुन्छ ।

गर्मी मौसममा एउटै खालका रोगहरु हरेक वर्ष दोहोरिने भएकाले समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. वन्तको भनाइ छ । ‘गर्मी मौसम सुरु भएसँगै सिजनल भेरिएन्ट सधै दुख दिने गर्छ,’ डा वन्तले भन्नुभयो, ‘यो मौसममा पहिले जुन रोगले दुःख दिएका छन्, अहिले पनि त्यस्तै रोग फैलिने सम्भावना छ त्यसैले आफ्नो स्वास्थ्यप्रति आफैँ सजक हुनुपर्छ ।’

सरकारले रोगको बारेमा जनचेतनामूलक सन्देश प्रवाह गर्नु पर्ने डा.वन्तको सुझाव छ । गर्मी महिनामा पानीबाट र खानाबाट रोग लाग्ने भएकाले पानीको मुहान सफा राख्नु जनस्वास्थ्य विज्ञ डा. केदारप्रसाद बराल जोड दिनु हुन्छ । ‘यो समयमा विशेषगरी पेट सम्बन्धि धेरै रोग लाग्ने गर्दछन् । जस्तै, झाडापखाला, वान्ता हुने, रुघाखोकी लाग्ने, जन्डिस र फुडप्रोइजन,’ डा. बराल बताउनुहुन्छ, ‘संक्रमणजन्य रोगबाट बच्न शुद्ध पानी पिउने, खाना साजी खाने, बासी खाना सकेसम्म नखाने र यदि खानै परेमा चिसो ठाउँमा राखेर राम्ररी तताएर मात्रै खाने।’

संक्रमणजन्य रोगहरुले कुनै पनि बेला महामारीको रुप लिने भएकोले सरकारले स्वास्थ्य संस्था तयारी अवस्थामा राख्नु पर्ने डा. बराल बताउनुहुन्छ । ‘स्थानीय सरकार तयारी अवस्थामा बस्नुपर्छ, गाउँगाउमा महामारी फैलिहाल्यो भने आवश्यक पर्ने औषधि र स्वास्थ्यकर्मीलाई स्वास्थ्यचौकीमा तयारी अवस्थामा राख्नुपर्छ,’ बराललको सुझाव छ।

कोभिडको समय घट्यो, संक्रमणजन्य रोगको भय कोभिड–१९ को डरले आम मानिसहरुले स्वास्थ्यका मापदण्ड पालन गर्नुका साथै सरसफाइमा ध्यान दिएकोले विगत दुई वर्षदेखि मौसमी रोगहरूमा कमी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउनुहुन्छ । कोभिडकालमा अन्य संक्रमणजन्य रोग लिएर अस्पतालमा बिरामी नआएको सरुवा रोग विशेषज्ञ डा. पुनले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘एउटा त कोरोनाकालमा मान्छेहरुले स्वास्थ्य मापदण्ड अपनाए, अर्को कुरा लामो समय लकडाउन हुँदा मान्छेहरुले बाहिरको खाना खानुपरेन ।’ सरुवा रोगबाट बच्ने उपाय वान्त तथा झाडापखाला लाग्नुको प्रमुख कारण नै दूषित खाने–पानी हो ।

साथै, बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि सरुवा रोग लाग्न सक्ने चिकित्सकको भनाइ छ । ‘सकेसम्म घरमै पकाएको खानेकुरा खाँदा पनि रोगहरुबाट बच्न सकिन्छ’, डा पुन भन्नु हुन्छ, ‘बाहिर खाना जाँदा खानेकुरा कतिको सफा छ, पानी कतिको शुद्ध छ त्यो विचार गर्नुपर्छ। ‘सागसब्जी तथा सलाद पनि सफा पानीले पखालेर मात्र खाने गर्नुपर्दछ ,’डा बरालले भन्नुभयो, ‘यो मौसममा झिँगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ’।

पानी उमालेर पिउनाले पनि संक्रमणजन्य रोगबाट बच्न सकिने चिकित्सकहरुको राय छ । नसर्ने रोग सम्बन्धि तथ्यांक नेपाल बर्डन अर्फ डिजिज २०१७ का अनुसार नेपालमा कुल जनसंख्याको ४.५१ प्रतिशतको अकाल मुत्यु झाडापखालाले हुने गरेको देखिएको छ। जुन सन् १९९० मा १२.१७ प्रतिशत मानिसको मुत्यु झाडापखालाले हुने गथ्र्यो । गर्मी प्रि मनसुन र मनसुन मौसममा मुलुकमा सरुवा रोगको जोखिम अझै पनि नेपालमा भएकोले सरकाले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

त्यस्तै, नेपाल बर्डन अफ डिजिजको २०१७ को तथ्यांक अनुसार नेपालमा झाडापखाला जन्य रोगबाट ३.४२ प्रतिशत संक्रमित हुने गरेका छन् । स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली (एचआएमएस)को आर्थिक वर्ष २०७६–७७ का लागि तयार पारेको देशभरका विभिन्न अस्पतालको तथ्यांक अनुसार नेपालमा ३७ हजार ६६७ जना मौसमी रोगबाट संक्रमि हुने गरेको देखिएको छ। जसमध्ये ७०७ जनाको मुत्यु हुने गरेको छ । त्यस्तै २७ हजार १७६ जना मानिसहरु पानी जन्य रोगबाट संक्रमित हुने गरेको एचआएमएसले उल्लेख गरेकाे छ । जसमध्ये ४९१ जनाको मुत्यु हुने गरेको छ।

त्यस्तै, एचआएमएसको तथ्यांकअनुसार नेपालमा वायुजन्य रोगबाट २२ हजार ३१४ जना संक्रमित हुने गरेका छन् भने ८६४ जनाको मुत्यु भएको छ। सरकारको तयारी यस्तो छ मौषमी रोगलाई ध्यानमा राखेर रोग फैलन नदिन सरकारले तयारी गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले तयारी स्वरुप महाशाखाले आवश्यक औषधि र कीटहरु खरिद गरेर तयारी स्थानीय तहमा पठाइसकेको छ ।

महाशाखाले स्थानीय सरकारको सहयोगमा पानीका मुहान र पानी वितरण संघ–संस्थाहरुको अनुगमन गरिरहेको डा. दासले जानकारी दिनुभयो । यसका साथै सरकारले स्थानीय तहमा रोगहरु र कीटजन्य रोगहरु सम्बन्धी सूचना प्रवाह गर्न आग्रह गरेको छ। महामारी फैलियो भने दु्रत प्रतिक्रिया टोली अर्थात ¥यापिड रेस्पोन्स टिमलाई तालिम दिएर तयारी अवस्थामा राखेको डा. दास बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?