logo
२०८१ बैशाख १४ शुक्रवार



निर्वाचन आयोगको जोड सम्पूर्ण नेपाली नागरिकलाई पूर्ण खोप

अझै छ प्रतिशत लक्षित जनसङ्ख्याले एक मात्रा पनि खोप लगाएका छैनन्

स्वास्थ्य |
मुख्य समाचार |


निर्वाचन आयोगको जोड सम्पूर्ण नेपाली नागरिकलाई पूर्ण खोप


काठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले आगामी वैशाख १० गतेसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धकोे पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो ।
खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमणको जोखिम कम हुने भन्दै आयोगले आगामी वैशाख १० गतेसम्म सबै नेपाली नागरिकलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई गत फागुन १६ गते लिखित रुपमा आग्रह गरेको थियो ।

त्यस्तै, सरकारले चैत मसान्तभित्र १८ वर्षमाथिका सबै लक्षित जनसङ्ख्यालाई पूर्णमात्रा खोप लगाउने लक्ष्य लिएको थियो । सरकारको तथ्याङ्क अनुसार, अझै ६ प्रतिशत १८ वर्ष माथिका लक्षित जनसङ्ख्याले पहिलो खोप लगाएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले पनि एक मात्रा डोज नलगाउने लक्षित जनसङ्ख्या ५.६ प्रतिशत मात्रा बाँकी रहेकाले निर्वाचनसम्म सबै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप लगाउने बताउनुभयो ।

डा अधिकारीले भन्नुभयो,‘‘एक मात्रा खोप लगाउने लक्षित जनसङ्ख्या लगभग ९४ प्रतिशत पुगेको छ । कम खोप लगाएका स्थानीय तहमा खोप लगाउन आग्रह गर्दै आएका छाैँ, निर्वाचनसम्म सबै लक्षित जनसङ्ख्याले एक मात्रा खोप भए पनि पाउँछन् ।’’

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गतको खोपशाखा प्रमुख सागर दाहालले नेपालले कोभिडविरुद्धको खोप लगाउनमा निकै राम्रो प्रगति हासिल गरेकोे बताउनुभयो । उहाँका अनुसार, सरकारले लिएको लक्ष्य अनुसार लगभग लगभग प्रगति हासिल गरिसकेका छौँ, जनस्वास्थ्यमा १०० प्रतिशत पु¥याउन निकै गाह्रो हुन्छ, १०० प्रतिशत खोज्न थाल्यौँ भने दुःख पाइन्छ ।

देशव्यापी रुपमा लगभग लक्षित जनसङ्ख्याले एक मात्रा खोप लगाएको भए पनि स्थानीय तह अनुसार कुनै प्रदेशमा शतप्रतिशत खोप लगाएको र कुनै प्रदेशमा ६० प्रतिशतले पनि खोप लगाएका छैनन् ।
खोप लगाउन बाँकी स्थानीय तहमा पनि खोप लगाउन अभियान तीव्ररुपमा चलेको डा. अधिकारी बताउनु हुन्छ । निवार्चनसम्म सबै नागरिकलाई कम्तीमा एक मात्रा भए पनि खोप लगाउने दाहाल बताउनु हुन्छ ।

१८ वर्षमाथिका कतिले पाए खोप
सरकारले एक करोड ९९ लाख २२ हजार १६४ जना १८ वर्षमाथिका लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।
लक्ष्य अनुसार, १८ वर्षमाथिका एक करोड ८६ लाख ८१ हजार २८ जना अर्थात् ९३.८ प्रतिशतले एक मात्रा र एक करोड ६५ लाख २७ हजार ५०९ जना अर्थात् ८३ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार अझै १८ वर्ष माथिका लक्षित जनसङ्ख्याको १२ लाख ४१ हजार १३६ जनाले एक मात्रा र ३३ लाख ९५ हजार ६५५ जनाले पूर्णमात्रा खोप लगाउन बाँकी छ ।

कुल जनसङ्ख्या कतिले पाए खोप

त्यस्तै, कुल जनसङ्ख्याको दुई करोड ९१ लख ९२ हजार ४८० जनालाई सरकारले खोप लगाउने लक्ष्य लिएको छ । कुल जनसङ्ख्यामध्ये सरकारले अहिलेसम्म दुई करोड २० लाख ९६ हजार ८५६ जना अर्थात् ७७.७ प्रतिशतले एक मात्रा र एक करोड ९२ लाख ८८ हजार ३४० जना अर्थात् ६६.१ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयको तथ्याङ्कलाई आधार मान्ने हो भने अझै पनि ७० लाख ९५ हजार ६३४ जनाले पहिलो मात्रा खोप पाएका छैनन् । त्यस्तै, ९९ लाख चार हजार १४० जनाले पूर्णमात्रा खोप नपाएको तथ्याङ्कले देखाएको छ ।

१२ वर्षमाथिका कतिले पाए खोप
त्यसैगरी, सरकारले १२ वर्षमाथिका ३४ लाख पाँच हजार ४५५ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार अहिलेसम्म सरकारले ३१ लाख ४० हजार ३३७ जना अर्थात् ९२ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने २५ लाख ६० हजार ९२ जना अर्थात् ७५ प्रतिशतले पूर्ण खोप लगाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो तथ्याङ्कलाई आधार मान्ने हो भने दुई लाख ६५ हजार ११८ जनाले पहिलो खोप पाएका छैनन् । आठ लाख ४५ हजार ३६३ जनाले पूर्णमात्रा खोप लगाएका छैनन् ।

अहिलेसम्म कतिले खोप लगाए
सरकार गत वर्ष माघ महिनाबाट कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । यो अवधिमा अहिलेसम्म चार करोड चार लाख १० हजार २४६ मात्रा खोप लगाइसकेको तथ्याङ्क छ ।
जसमध्ये एक करोड ८८ लाख नौ हजार ५३१ जनाले एक मात्रा र एक करोड ९२ लाख ८८ हजार ३४० जनाले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै, अतिरिक्त खोप लगाउनेको सङ्ख्या २३ लाख १२ हजार ३७५ छ ।
अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना, फाइजर र जान्सन एण्ड जान्सन गरेर विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार आठ सय खोप प्राप्त भएको छ ।

स्वास्थ्यको माप दण्ड अपनाउनुपर्ने
स्थानीय तहको निर्वाचन आउन एक महिना बाँकी छ । चुनाव नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म जमघट, भेला, आमसभा, गोष्ठी, समारोह बढ्दै गएका छन् ।
नेपालमा सङ्क्रमण कम भए पनि विभिन्न देशमा कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले सङ्क्रमणको जोखिम अझै कायम रहेकाले सभा, भेला सम्मेलनमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्र आग्रह गर्नुहुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले अझै पनि कोरोना महामारी विश्वबाट निमिट्यान्न भएको घोषणा गरेको छैन । साथै सङ्क्रमणदर कम भए पनि विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले चुनावको भेला, प्रचार प्रसार, सभा समारोहमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न बिर्सन नहुने जनस्वास्थ्यविद्हरुकाे सुझाव छ । त्यसैले स्थानीय तह निर्वाचनमा सहभागी हुने सबै जनस्वास्थ्यका मापदण्ड पालना गरेमात्र निर्वाचन हुने बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?