logo
२०८० चैत्र १६ शुक्रवार



यौन हिंसाका घटना बढ्दै, फागुन महिनामा १२७ घटना भए

खुला |
समाज |


यौन हिंसाका घटना बढ्दै, फागुन महिनामा १२७ घटना भए



काठमाडौं, चैत २३ गते । गत फागुन महिनामा मोरङ्गकी ११ वर्षिया बालिकाको विद्यालयबाट एक्लै घर फर्किदा उहाँ घर फकिनन् । बालिका हराएको दुईदिनपछि परिवारले खोजी गर्दै जाँदा बालिकाको शब नग्न रुपमा खाल्डोमा पुरिएको अवस्थामा फेला प¥यो । शव खोज्ने क्रममै प्रहरीले स्थानीय आरोपितलाई शंका गरी सोधपुछ गर्दा बलात्कारपछि कसैलाई नभन्नु भनेर धाकधम्की दिएर छोडे पनि बालिकाले बाबालाई भनिदिन्छु भनेपछि ती बालिकाको घाँटी थिचेर हत्या गरी खाल्डोमा पुरेको बयान दिएका थिए ।

मृृतक बालिकाको शव पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । यस्तै, सुनसरी जिल्लामा सात बर्षीया बालिकालाई गत पुष महिनामा छिमेकी दाईले मोबाइल चलाउन दिन्छु भन्दै कोठामा लगेर बलात्कार गरे । कसैलाई भनेमा मार्ने धम्की दिएकोले घटनाको बारेमा कसैलाई थाहा भएन । त्यसको केही समयपछि बालिका पुनः बलात्कृत हुनुभयो । पीडकले धम्की दिएको भए पनि डराउँदै आफ्नो दाईसहित आफ्नो हजुुरआमालाई घटना सुनाउनुभयो ।

घटनाको बारेमा थाहा पाइसकेपछि पनि समाजमा लाज हुने, इज्जत जाने डरले परिवारले घटनालाई गुपचुपमा नै राख्यो । घटना भएको केही समयपछि बालिकालाई दिशा पिसाव गर्न गाह्रो हुने, बालिका बेलाबेलामा झस्किरहने, मलाई मारिदिन्छु भनेको छ भन्दै चिच्याउने गरेपछि बालिकाको आमाले उक्त घटनाको बारेमा थाहा पाउनुभयो । परिवारमा सल्लाह गरेर २०७८ फागुन १९ गते किटानी जाहेरी दिएपछि पीडकले प्रहरीमा आत्मसमर्पण गरे ।

अहिले पीडकलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानको म्याद थप गरी थुनामा राखिएको छ । प्रहरीमा घटना पुगेको कुरा प्रभावित बालिकाको विमारी बुबाले थाहा पाएर झुण्डिएर आत्महत्या गरेपछि परिवार थप तनाव र दुःखमा छ । त्यसैगरी, फागुन २७ गते मोरङ्गमा १८ महिनाकी बालिका साँझ ५ बजे घरबाट हराउनुभयो । बालिकाकी आमा र छिमेकीहरुले खोजी गर्दा साँझ ६ः३० बजे घर नजिकैको झाडीमा बालिका नग्न र अचेत अवस्थामा फेला प¥यो । बालिकाको टाउको सुनिएको थियो भने गुप्ताङबाट रगत बगिरहेको थियो । बालिकालाई नजिकैको अस्पतालमा उपचार सम्भव नभएपछि नोबेल अस्पतालमा लगियो । राति १२ बजे उपचारको क्रममा ज्यान गयो ।

माथिका फागुन महिनामा महिलाविरुद्ध भएका यौन हिंसाका प्रतिनिधि घटनामात्रै हुन् । सामाजिक न्याय र महिला अधिकारका लागि कार्यरत संस्था ओरेकको तथ्यांक अनुसार फागुन महिनामा मात्रै १२७ वटा महिला हिंसाका घटना भएका छन् जसमध्ये मध्ये २१ प्रतिशत (२७ वटा) बलात्कार र २ प्रतिशत अर्थात तीन वटा बलात्कारको प्रयास भएको पाइएको छ ।

घटना मध्ये तीन जनाको बलात्कारपछि हत्या भएको पाइएको छ । यसरी भएका बलात्कारका घटनाहरुका प्रमुख जिम्मेवार आफ्ना छिमेकीहरु ४८ प्रतिशत र आफूले मानेका साथीहरु १५ प्रतिशत रहेका छन् । बलात्कार भएका मध्ये सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरु र १७ देखि २५ वर्ष उमेर समूहका २६ प्रतिशत महिला रहेका छन् ।

सभ्य समाजको कलंकको रुपमा रहेको बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु न्यूनीकरण हुनुको साटो झनै भयानक प्रकृतिका घटनाहरु भइरहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार सदियाैँदेखि समाजमा जरो गाडेर बसेका सामाजिक मूल्यमान्यता र हानिकारक अभ्यासहरुले प्रत्यक्ष र परोक्ष रुपमा यस्ता अपराध जन्माउन सहयोग गरिरहेका छन् । जबसम्म जकडिएर रहेका परम्परागत अभ्यास भत्कँदैनन् र महिलाको आफ्नो शरीरमाथि आफ्नै नियन्त्रण रहने वातावरण तयार हुँदैन तबसम्म महिलामाथि हुने हिंसा अन्त्य हुन नसक्ने न्यौपाने बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?