logo
२०८१ मंसिर २१ शुक्रवार



नेपालमा ८२ हजारभन्दा बढी टाइफाइडका बिरामी रहेको अनुमान

स्वास्थ्य |


नेपालमा ८२ हजारभन्दा बढी टाइफाइडका बिरामी रहेको अनुमान


काठमाडौं, चैत २२ गते । सरकारले टाइफाइडको जोखिम कम गर्ने उद्देश्यले यहीँ चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । यहीँ चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म २४ दिन देशव्यापी रुपमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइटविरुद्धको खोप दिइँदैछ ।

देशभरीका करिब ७५ लाख बालबालिकालाई खोप अभियानमा समेट्ने सरकारको लक्ष्य रहेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल टाइफाइड सङ्क्रमणको जोखिमको वर्गीकरणमा परेकोले नीतिगत निर्णय गरेर टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्न लागेको हो । सरकाले यो अभियानका लागि टाइफाइड कन्जुगेट भ्याक्सिन सञ्चालनमा ल्याउर्दै छ ।

दाहालका अनुसार यो खोप एक मात्रा डोज लगाए पुग्छ । खोपको प्रभावकारीता ९६.९६ प्रतिशत रहेको अध्ययनहरुले देखाएको उहाँको भनाइ छ ।

८२ हजारभन्दा बढी टाइफाइडका बिरामी
नेपालमा ८२ हजारभन्दा बढी टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ ।

ग्लोबल बर्डन अफ डिजिज २०१९ को तथ्याङ्क अनुसार नेपालमा ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको हो । जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समुहका बालबालिका रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले प्रति एक लाख जनसङ्ख्यामा एक सय जना बिरामी भएमा त्यस्तो अवस्थालाई उच्च टाइफाइडको जोखिम भनेर वर्गीकरण गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यान अनुसार नेपालमा एक लाखमा जनसङ्ख्यामा एक हजार ६२ जनामा टाइफाइड सङ्क्रमण देखिएको छ ।

चार वर्षसम्मका बालबालिकामा प्रतिलाख ७६४ मा टाइफाइड सङ्क्रमणदर रहेको छ भने पाँचदेखि नौ वर्षका बालबालिकामा प्रतिलाख छ हजार ७१३, यस्तै १० देखि १४ वर्ष उमेर समूहका बालबालिकामा प्रति लाखमा ३७ सय ५० मा टाइफाइडको सङ्क्रमणदर रहेको सरकारी तथ्याङ्क छ ।

स्वास्थ्य सेवा विभाग, हेल्थ सेक्टर इन्फोरमेसन सिस्टमको पाँच वर्षको प्रतिवेदन हेर्दा प्रत्येक वर्ष चार लाख ५० हजार जति टाइफाइडबाट बिरामी भेटिने देखिन्छ ।

जसमध्ये खाना र दूषित पानीबाट लाग्ने पानीजन्य रोगमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत भरत भण्डारी बताउनुहुन्छ । त्यस्तै, अस्पतालमा भर्ना हुने बिरामीमध्ये नेपालमा टाइफाइडको समस्या लिएर आउने चौथौं नम्बरमा पर्ने उहाँले जानकारी दिनुभयो ।

नेपाल टाइफाइडको उच्च जोखिममा रहेको र १५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा टाइफाइडको सङ्क्रमण चार गुण बढी हुने चिकित्सक बताउछन् ।

विश्व स्वास्थ्य सङ्गठन–डब्लुएचओले २०१७ मा नै टाइफाइडविरुद्धको खोप लगाउन सिफारिस गरिसकेको छ ।

त्यस्तै, डब्लूएचओका आकलन अनुसार कमजोर सरसफाइ र शुद्ध खाने पानीको अभावले वर्षेनी विश्वमा एक करोड १० लाखदेखि दई करोड व्यक्तिलाई सङ्क्रमित बनाउछ भनेएक लाख २८ हजारदेखि एक लाख १६ हजारको मृत्यु हुन्छ ।

सरकारले यो अभियानको लागि करिब १० हजार स्वास्थ्यकर्मीले खोप लगाउने छन भने एक लाख १२ हजार ८५८ जना स्वयं सेवकलाई परिचालन गरिनेछ । अभियानभरी ५६ हजार ४२९ खोप सेसन हुने अनुमान सरकारले गरेको छ ।

टाइफाइड के हो ?
चिकित्सकका अनुसार टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रमक रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट यो रोग सर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

उहाँका अनुसार यो रोग सबै उमेर समूहका व्यक्तिहरुमा लागेको पपाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

लक्षणहरु के के हुन ?
डा. पुनका अनुसार यो रोगका मुख्य लक्षणहरु उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेप लाग्ने हुन्छन् । त्यस्तै, पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण देखिन्छन् ।

यो रोगको सङ्क्रमण पश्चात केहीँ व्यक्तिहरुमा शरीरका विभिन्न भागमा सङ्क्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धि समस्या जस्ता जटिलताहरु प्नि देखिने डा. पुन बताउनुहुन्छ ।

टाइफाइड रोग लाग्न नदिन के गर्ने
चिकित्सकका अनुसार टाइफाइड जस्ता पानीजन्य सङ्क्रामक रोगबाट बच्नको लागि पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ । खाना खानु अघि, दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि र बालबालिकालाई खाना खुवाउनु अघि साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।

यो खोप कसले लगाउनु हुँदैन
यो खोप विगतमा कुनै पनि खोप लिदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेमा वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए ,एड्सको लक्षण देखा परेको अवस्था दिनु हुँदैन । साथै हाल उच्च ज्वारो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी भइसकेपछि यो खोप लिन सकिन्छ ।

साधारण बिरामी भएको अवस्था जस्तै हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?