logo
२०८१ बैशाख १८ मंगलवार

  के छ नेपालमा खोपको अवस्था ?  



साढे तीन करोड भित्रियो, एक करोड मौज्दात, ३९ लाखको अभिलेख छैन

स्वास्थ्य |


साढे तीन करोड भित्रियो, एक करोड मौज्दात, ३९ लाखको अभिलेख छैन


काठमाडौं, पुस ६ गते । नेपाललाई पुस २ गतेसम्म तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप प्राप्त भएको छ । प्राप्त खोपमध्ये पुस २ गतेसम्मै दुई करोड १४ लाख ४५ हजार १४५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले उपलब्ध गराएको खोपको आयात र वितरण भएको तथ्याङ्क हेर्दा नेपालसँग एक करोड ४० लाख २१ हजार ८३५ मात्रा खोप सुरक्षित हुनुपर्ने हो । तर, स्वास्थ्य सेवा विभागको आपूर्ति शाखामा पुस २ गतेसम्म केन्द्र र प्रदेश गरी सरकारसँग एक करोड १ लाख ५० हजार मात्रा खोप बाँकी छ ।

शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्रमा ६५ लाख खोप छ भने बाँकी प्रदेशमा रहेको छ । सरकारसँग हुनुपर्ने खोपमध्ये करिब ३९ लाख मात्रा खोप कता छ, मन्त्रालयसँग नै हिसाब छैन ।

मन्त्रालयका अधिकारीहरु कतिपय दुर्गम जिल्लाबाट खोप लगाएको विवरण ढिला प्राप्त हुने भएकोले पनि सबै तथ्याङ्क समेट्न नसकिएको जवाफ दिन्छन् । साथै पालिका र जिल्लाहरुमा पनि कति मात्रामा खोप गएको छ भन्ने यकिन तथ्याङ्क पनि मन्त्रालयसँग नभएको उनीहरु स्वीकार गर्छन् ।

सरकारको विवरणमा ३८ लाख ७१ हजार ८३५ मात्रा खोप समेटिएको छैन । ‘कतिपय दुर्गम जिल्लाबाट खोपको लगाएको विवरण अझै आइसकेको छैन,’ आपूर्ति शाखाका डा. सुरेन्द्र चौरसियाले भन्नुभयो, ‘पालिका तह र जिल्लाजिल्लामा पनि खोप पठाइएको छ । कुन पालिकामा कति गयो भन्ने यकिन विवरण पनि छैन । यसले गर्दा पनि तथ्याङ्कमा एकरुपता नआएको हुनसक्छ ।’

सरकारले आगामी वर्ष वैशाखसम्म कोरोनाविरुद्धको खोप लगाउन योग्य उमेर समूहका सबै नागरिकलाई खोप उपलब्ध गराउने नीति लिएको छ । साथै सरकारले खोपको अभाव हुन नदिने प्रतिबद्धता पनि जनाएको छ, तर खोपको आयात र वितरणमा सरकारी संयन्त्रहरुबीच नै प्रभावकारी समन्वयको अभाव देखिन्छ । जसका कारण केन्द्रबाट पठाइएको खोपको विवरणको सही तथ्याङ्क सरकारसँग छैन ।

सरकारले छिमेकी भारत र चीनसहित विभिन्न मुलुकबाट अनुदान र खरिद प्रक्रियामार्फत कोरोनाविरुद्धको खोप आयात गरेको हो । शाखा प्रमुख चौरसियाका अनुसार पुस ५ गते (सोमबार) भेरोसेलको ५९ प्यालेट अर्थात् १२ लाख एक हजार ८७ भाइल र कोभिसिल्ड १८ लाख ७० हजार पाँच सय डोज खोप थपिएको छ । यो खोप नेपालले अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको हो ।

कोरोनाविरुद्धको खोप लगाउन सुरु भएदेखि अहिलेसम्म नेपालमा दुई करोड १७ लाख ५६ हजार ७६३ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म कुल जनसङ्ख्याको ३९.८ प्रतिशतले एक मात्रा र ३१.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । जुन लक्षित जनसङ्ख्याको ६०.७ प्रतिशतले खोपको एक मात्रा र ४८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

नेपालमा अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, मोडर्ना, फाइजर खोप लगाइएको छ ।

खोपको भण्डारण कसरी हुन्छ ?
अहिलेसम्म खोप भण्डारणमा कुनै समस्या नआएको सरकारको दाबी छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत थापाका अनुसार खोप भण्डारणका लागि समस्या छैन । आपूर्ति शाखाले कोरोनाविरुद्धको खोप नेपालमा भित्रिएसँगै खोप भण्डारण गर्न १२ हजार लिटर बराबरको कोल्ड चेन रुम छुट्याएकाे थियो । सरकारले सुरुमा कोभिसिल्ड खोप ल्याउने तयारी गरेकाले त्यसको भण्डारणका लागि एक करोडभन्दा बढी खोप राख्न मिल्ने क्षमताको कोल्ड चेन रुम तयारी अवस्थामा राखेको थापाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘सुरुमा सरकारले कोभिसिल्ड खोप ल्याएको थियो र पछि पनि त्यही खोप आउने भन्ने थियो, त्यसैले कोभिसिल्ड एक करोडभन्दा बढी खोप अट्ने १२ हजार लिटरको कोल्ड चेन रुम छुट्यायौं । तर, पछि कोभिसिल्ड नै आएन ।’

कोभिसिल्ड खोप आयातमा विलम्ब भएपछि सरकारले भेरोसेल, जोनसन, फाइजर मोडर्नालगायतका खोप खण्डारण गर्दै आएको छ । यी खोपको आकार कोभिसिल्डभन्दा ठूलो भएकोले यति नै अट्छ भन्ने यकिन नभएको थापा बताउनुहुन्छ । ‘तर अहिलेसम्म खोप भण्डारणमा कुनै पनि समस्या आएको छैन,’ उहाँले भन्नुभयो, ‘खोप बढी मात्रामा आयो भने कन्टेनर ट्रकमा लाइन जोडेर भण्डार गर्ने गरेका छौँ ।’

शाखासँग नियमित खोप राख्ने ३३/३४ हजार लिटरको कोल्ड चेन पनि तयारी अवस्थामा छ । केन्द्रमा २२/२५ हजार लिटरको कोल्ड चेन रुप तयारी अवस्थामा रहेको र छिट्टै सञ्चालनमा आउने थापाले जानकारी दिनुभयो । विमानस्थलमा समेत कोल्ड चेन रुम रहेकाले त्यहाँ पनि कोरोना खोप राख्न सकिने सरकारले जनाएको छ ।

प्रदेशमा खोपको भण्डारण कसरी हुँदैछ ?
कोरोनाविरुद्धको खोप राख्न भनेर सरकारले विराटनगरमा साढे दुई हजार लिटरको कोल्ड चेन छुट्याएको छ । त्यस्तै विराटनगर र प्रदेश २ लाई लक्षित गरी पथलैयामा तीन वटा कोल्ड चेन रुम बनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

‘१२ हजार लिटरको एउटा प्रदेश २ लाई छुट्याइएको छ । हेटौँडाका लागि पथलैयामा चार हजार लिटरको कोल्ड चेन राखिएको छ’ विभागका फार्मेसी अधिकृत थापा बताउनुहुन्छ ।

त्यस्तै, थापाका अनुसार सरकारले पोखरामा चार हजार लिटर, बुटवलमा चार हजार लिटर, नेपालगञ्जमा चार हजार लिटर र धनगढीमा तीन हजार लिटरको कोरोनाविरुद्धको खोप राख्न कोल्ड चेन छुट्याइएको छ । त्यस्तै १० हजार लिटरको कोभिड खोप राख्न र नियमित खोपको लागि १० हजार लिटर कोल्ड चेन रुम जनकपुरमा बनाइएको छ ।

खोप बढी भएको ठाउँमा भण्डारण गर्नुपर्ने भएमा नियमित खोप राख्ने ठाउँलाई कोल्ड चेनका रुपमा खोप राख्ने व्यवस्था गरिने विभागले जनाएको छ । ‘तर ठूलो मात्रामा एकै पटक खोप आएमा भण्डारण गर्न अहिलेकै क्षमताले भने धान्दैन,’ थापाले भन्नुभयो ।

कति छ आउन बाँकी खोप ?
सरकारले अनुदानसँगसँगै खरिद गरेर कोरोना खोप ल्याउने नीति बनाएको छ । कोरोना खोपको अभाव हुन नदिने सरकारी प्रतिबद्धता छ । पुस ७ गते ११ लाख ८४ हजार ९१३ भेरोसेल आउँदै छ भने पुस १४ गते छ लाख ६४ हजार मात्रा फाइजर खोप आउन पाइपलाइनमा रहेको थापाले जानकारी दिनुभयो ।

खोपको भण्डारणसम्बन्धी कानुनी व्यवस्था के छ ?
कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन निर्देशिका २०७७/७८ मा खोप भण्डारण, ढुवानी र वितरण गर्दा २ डिग्रीदेखि ८ डिग्री सेल्सियस तापक्रममा कायम गर्ने गरी कोल्ड चेन व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । त्यस्तै खोप अभियानको समयमा केद्रबाट जिल्ला तहमा खोप पठाँउदा प्रत्येक चरणको लागि एक मात्राको दरले हिसाब गरेर पठाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।

‘सङ्घ, प्रदेश र जिल्लाको भण्डारण क्षमताको आधारमा खोप आपूर्ति गर्दा एक मात्रा वा दुवै मात्रा आपूर्ति गर्ने हो, सोको पहिचान र समन्वयमा गर्नुपर्दछ,’ निर्देशिका भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?