logo
२०८१ बैशाख २३ आईतवार



स्थायी बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला चार गुणा बढी

स्वास्थ्य |
समाज |


स्थायी बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला चार गुणा बढी


काठमाडौँं, पुस १३ गते । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा झापाकी ३५ वर्षीया सीता (नाम परिवर्तन)ले १५ औँ पटक गर्भपतन गराउनुभयो । चिकित्सकले गर्भपतन गराउँदा स्वास्थ्यमा गम्भीर समस्या आउने र पाठेघरमा क्यान्सर हुने चेतावनी दिए पनि उहाँ बारम्बार गर्भपतन गराउन बाध्य हुनुहुन्छ ।

आफू धेरै मोटो भएकोले चिकित्सकले शल्यक्रिया नगर्न सुझाव दिएपछि उहाँ पटकपटक गर्भपतन गर्न बाध्य हुनुभएको हो । परिवार नियोजनका अन्य साधान प्रयोग गर्दा झन् स्वास्थ्यमा समस्या आउने भ्रमका कारण उहाँले बारम्बार गर्भपतन गराउनु परेको चिकित्सकलाई बताउनुभएको छ।

त्यस्तै, सिराहाकी ३० वर्षीया गीता केसी (नाम परिवर्तन)तीन सन्तानकी आमा हुनुहुन्छ । उहाँ शारीरीक रुपमा निकै कमजोर हुनुहुन्छ । सन्तानको रहर पुगेपछि पनि श्रीमानले स्थायी बन्ध्याकरणमा रुचि नदेखाएपछि उहाँ आफैँले स्थायी बन्ध्याकरण गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘तीन सन्तान भएपछि सन्तानको रहर पुग्यो । श्रीमानले बन्ध्याकरणमा रुचि देखाउनुभएन । उहाँले रुचि नदेखाएपछि मैले आफैँ बन्ध्याकरण गरेँ ।’

यी दुई प्रतिनिधि घटना मात्र हुन् । हाम्रो समाजमा पुरुषले बन्ध्याकरण गर्नुहुँदैन भन्ने गलत धारणा छ । त्यसैले, सरकारी तथ्याङ्कमा नेपालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा बढिरहेको छ ।

परिवार कल्याण महाशाखाको २०७७/२०७८ को तथ्याङ्क अनुसार स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा झन्डै चार गुणाले बढी छ ।  स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या १६ हजार ३९० रहेको छ । जसमध्ये १२ हजार ७९० (७८.१ प्रतिशत) महिलाको सङ्ख्या छ भने तीन हजार ५९७ जना (२१.९ प्रतिशत) पुरुष छन् ।

यौन क्षमतामा कमी आउने, कमजोर हुने भ्रमका कारण पुरुषले महिलालाई स्थायी बन्ध्याकरण गराउन लगाउने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. र्कीतिपाल सुवेदीले बताउनुहुन्छ । उहाँका अनुसार महिलाको तुलनामा पुरुषको स्थायी बन्ध्याकरण सुरक्षित र सजिलो हुन्छ ।

स्थायी बन्ध्याकरण सम्बन्धी अनेक भ्रमका कारण महिलाले नै धेरै स्थायी बन्ध्याकरण गर्ने गरेको परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्याल बताउनुहुन्छ । ‘स्थायी बन्ध्याकरण सम्बन्धी अझै पनि हाम्रो समाजमा धेरै भ्रम छन्’, अर्यालले भन्नुभयो, ‘बन्ध्याकरण गरेपछि यौन क्षमतामा ह्रास आउने, शरीर कमजोर हुने जस्ता भ्रम अझै पनि छन् ।’

परिवार नियोजन सेवाको दुई वटा विधि मात्र पुरुषले गर्न सक्छन् । एक, कण्डमको प्रयोग र दोस्रो, स्थायी बन्ध्याकरण । तर यी दुवै विधि प्रयोग गर्नेको पुरुषको सङ्ख्या निकै कम रहेको अर्यालले जानकारी दिनुभयो ।

घट्दै स्थायी बन्ध्याकरण
तीन वर्षमा स्थायी बन्ध्याकरण गराउनेको सङ्ख्या घट्दै गएको देखिएको छ । तीन वर्षमा ६४ हजार ७३६ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २६ हजार ९९४, जना, २०७६/७७ मा २१ हजार ३५२ र २०७७/७८ मा १६ हजार ३९० जनाले स्थायी बन्ध्याकरण गराएको तथ्याङ्क छ ।

आर्थिक वर्ष  २०७६/७७ मा स्थायी बन्ध्याकरण गराउनेको संख्या २०७५/७६को तुलनामा पाँच हजार ६४२ र २०७७/७८ मा २०७६/७७ तुलनामा चार हजार ९६२ ले घटेको देखाएको छ ।

कुन प्रदेशमा कति ?
तराईका अधिकांश जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिला नै बढी देखिएको छ । कुनै कुनै महिलाले परिवारको कमाउने मान्छे कमजोर हुन्छ भनेर आफैँले पनि स्थायी बन्ध्याकरण गराउने गरेको छ । महिलाले श्रीमानले काम गरेर परिवार पाल्नुपर्छ भनेर महिला आफैँ बन्ध्याकरण गर्ने गरेका धेरै घटना छन् ।

प्रदेश २ मा २०७७/२०७८ मा चार हजार ५५३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमा चार हजार ४२० महिला र १३३ जना पुरुष छ । २०७७/२०७८ प्रदेश १ मा तीन हजार ७४३ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । जसमा तीन हजार १४५ जना महिला र ५९८ पुरुष छन् । प्रदेश एकमा ८४ प्रतिशत महिला र १६ प्रतिशत महिला छन् ।

प्रदेश २ मा २०७७/२०७८ मा चार हजार ५५३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमा चार हजार ४२० महिला र १३३ जना पुरुष छन् । २०७७/२०७८ बाग्मती प्रदेशमा दुई हजार ७४ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । जसमा एक हजार १०५ जना महिला र ९६९ पुरुष छन् । बाग्मती प्रदेशमा ५३.३ प्रतिशत महिला छन् भने ४६.७ प्रतिशत पुरुष छन् ।

२०७७/२०७८ गण्डकी प्रदेशमा ८६० जनाले स्थायी बन्ध्याकरण गरेका छन् । जसमा ४६० जना महिला र चार सय पुरुष छन् । गण्डकी प्रदेशमा ५३.५ प्रतिशत महिला र ४६.५ प्रतिशत पुरुष छन् ।

२०७७/२०७८ लुम्बिनी प्रदेशमा दुई हजार ६६५ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । जसमा दुई हजार ३८७ जना महिला र २७८ पुरुष छन् । लुम्बिनी प्रदेशमा ८९.६ प्रतिशत महिला र १०.४ प्रतिशत पुरुष छन् ।

त्यस्तै २०७७/२०७८ कर्णाली प्रदेशमा ८२८ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । जसमा १९६ महिला र ९३३ पुरुष छन् । २३.६ प्रतिशत र ७६.४ प्रतिशत पुरुष छन् । र, २०७७/२०७८ सुदुरपश्चिम प्रदेशमा एक हजार ६६६ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । जसमा एक हजार ८० जना महिला र ५८६ पुरुष छन् । ६४.८ प्रतिशत महिला र ३५.२ प्रतिशत पुरुष छन् ।

स्थायी बन्ध्याकरण भनेको के हो ?
सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरण गर्ने गर्दछन् । महिला, पुरुष दुवैलाई बेहोस नबनाई लोकल एनेस्थेसिया (जहाँ गर्ने हो, त्यहाँ मात्र सुई लगाएर गरिन्छ) मार्फत स्थायी बन्ध्याकरण गर्ने गरिन्छ । स्थायी बन्ध्याकरण पुरुष र महिलाको लागि फरक फरक तरिकाले गरिन्छ । पुरुषको लागि गरिनेलाई भ्यासेक्टोमी भनिन्छ भने महिलाको स्थायी बन्ध्याकरणलाई मिनील्याप भन्ने गरिन्छ ।

डा. सुवेदीका अनुसार भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शुक्रकीट बहने नलिलाई काट्ने प्रक्रिया हो । पुरुषको स्थायी बन्ध्याकरणमा शुक्रकीट जाने नलीलाई मात्र बन्द गर्ने हो । महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । महिलाको डिम्बको दुई वटा नसा काट्नुपर्ने हुन्छ । स्थायी बन्ध्याकरणपछि पुरुषमा यौन क्षमतामा कमी आउने, कमजोर हुने भन्ने कुरामा कुनै सत्यता नभएको डा. सुवेदीले स्पष्ट पार्नुभयो ।

निःशुल्क स्थायी बन्ध्याकरण गर्न आग्रह
बन्ध्याकरण वर्षभरी नै गर्न मिल्ने भए पनि अधिकांशले मङ्सिरदेखि चैत महिनासम्ममा मात्र गर्छन् । जिल्लास्थित सरकारी स्वास्थ्य संस्थामा कुनै पनि व्यक्तिले निःशुल्क रुपमा स्थायी बन्ध्याकरण सेवा लिन सकिने अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार यो महिनाहरुमा सरकारले विभिन्न शिविर आयोजना गरेर निःशुल्क रुपमा स्थायी बन्ध्याकरण गर्ने गरेको छ । महिलाको तुलनामा पुरुषको स्थायी बन्ध्याकरण सुरक्षित र सजिलो हुने बताउँदै अर्यालले सन्तानको रहर पुगिसकेका दम्पतीलाई स्थायी बन्ध्याकरण गर्न आग्रह गर्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?