logo
२०८१ बैशाख २३ आईतवार



ओमिक्रोन समाजमा फैलिए भयावह हुन सक्छ, तीव्र तयारी गर्न जरुरी

स्वास्थ्य |


ओमिक्रोन समाजमा फैलिए भयावह हुन सक्छ, तीव्र तयारी गर्न जरुरी


काठमाडौं,पुस १६ गते । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको तथ्यांक अनुसार नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतमा समाजमा फैलिएको समाचारहरु आइ रहेका छन् ।

त्यस्तै दक्षिण अफ्रिकालगायत अन्य देशहरुको यो भेरिएन्ट तीव्रताका साथ फैलिएको छ । भारतका २१ राज्यमा पनि यो भेरिएन्ट फैलिसकेको छ । भारत र नेपालको सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलिएको विगतले देखाएको छ ।
कोरोनाको दोश्रो लहरको पिडा कम नहुँदै तेस्रो लहर आउँने हो की भनेर स्वास्थ्य क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

सीमा नाका खुला भएको कारण नेपालमा ओमिक्रोन फैलिने क्रम तीव्र भएको भन्दै विज्ञहरुले नेपालमा संक्रमण फैलन नदिन सरकारले तयारीमा तीव्रता दिनुपर्ने जोड दिएका छन् ।

छिमेकी देश भारतमा संक्रमण बढ्नु नेपालका लागि पनि निकै जोखिमपूर्ण रहेको त्यसैले यसलाई रोक्न सरकारले तीव्र रुपमा तयारी थाल्नु पर्ने त्रिभुवन विश्व विद्यालयका माइकोबाइलोजीका प्रध्यापक तथा कोभिड अनुसन्धानकर्ता प्रा डा. प्रकाश घिमिरे बताउँनु हुन्छ ।

‘खुल्ला सिमा नाकाका कारण संक्रमितहरु ओहोरदोहोर गर्ने हुँदा संक्रमण फैलिने सम्भावना बढी हुन्छ ।’, उहाँले भन्नु भयो, ‘पहिला पनि भारतमा कोरोना देखिएको साता १० दिनमा नेपालमा पनि फैलिएको थियो ।’  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले तेस्रो लहरको सम्भावनालाई ध्यानमा राखेर तयारी भइरहेको जानकरी दिनुभयो । पहिलाको जस्तो अवस्था नहोस भनेर स्वास्थ्य मन्त्रालयले अस्पताल आइसियूको व्यवस्थापन, अक्सिजनको व्यवस्थापनमा ध्यान दिइरहेको पनि सचिव पोखरेलले बताउनु भयो ।

ओमिक्रान फैलियो भने  बिरामी थेग्न गाह्रो हुन्छ
युरोपका सबै देशले ओमिक्रोन भेरिएन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन्। इटली, ग्रीस, पोर्चुगल र बेलायत सबैमा संक्रमणदर दैनिक रुपमा तीव्र गतिमा बढीरहको छ । विश्व स्वास्थ्य संगठनले युरोपमा बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ।

ओमिक्रोन भेरियन्ट संक्रमण तिब्र रुपमा फैलने अनुसन्धानले देखाएको छ । डेल्टा भन्दा पनि यो भेरिएन्ट पाँच गुण बढी फैलन सक्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रा डा. घिमिरेका अनुसार यो भेरिएन्ट त्यती घातक नभएपनि डबल रुपमा म्युटेशन हुने भएकाले यदि समाजमा फैलियो भने अस्पतालहरुले थेग्न नसक्ने गरि चाप बढ्छ ।

‘यो भेरिएन्ट त्यती घातक नभएपनि यसको म्युटेशन बढी हुने हुँदा यदि समाजमा दीर्घ रोगीहरुमा फैलियो भने स्वास्थ्य संरचनाहरुले थेग्न सक्दैँन ।’,उहाँले भन्नुभयो, ‘ २० जना हेर्ने स्वास्थ्य संरचनामा एकै पटक दुई सय बिरामी भर्ना भएभने स्वास्थ्य संरचनाले थेग्न गाह्रो हुन्छ ।’
यो भेरिएन्टलाई समाजमा फैलन नदिन जनस्वास्थ्यका मापदण्ड पालन गर्ने, माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने नै प्रमुख उपाए हो ।

के छ मन्त्रालयको तयारी ?
तेस्रो लहरका विषयमा सरकार सचेत रहेको मन्त्रालयका सहप्रवक्त डा समिर अधिकारीले जानकारी दिनुभयो ।

साथै नयाँ भेरियन्ट र कोरोनाको नयाँ लहरबाट जोगिन सरकारले परीक्षण बढाउने, खोप लगाउने कार्यलाई तीब्रता दिएको डा अधिकारीले बताउनु भयो ।

नयाँ भेरियन्ट समाजमा नफैलियोस भनेर नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआर गरेको तयारी मन्त्रालयले गरेको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्ने गरेको सहप्रवक्ता अधिकारीले बताउनुभयो । हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा.अधिकारीले जनाकारी दिनुभयो ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट समाजमा फैलने जोखिम रहिरहने भएकाले सबैले आफ्नो तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालन गर्नुपर्ने, भिडभाड नगर्न डा. अधिकारी सुझाव दिनुहुन्छ ।

दक्षिण अफ्रिकामा देखिएको बी १. १.५२९ नाम दिएको यो भेरियन्टलाई २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो । डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो। यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?