logo
२०८१ बैशाख २३ आईतवार

  नेपालमा कस्तो छ सङ्क्रमणको अवस्था ?  



दैनिक सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि, आत्तिनु पर्दैन

स्वास्थ्य |


दैनिक सङ्क्रमितको सङ्ख्यामा  सामान्य वृद्धि, आत्तिनु पर्दैन


काठमाडौं, पुस १९ गते । नेपालमा पछिल्लो १८ दिनमा चार हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको छ । पुसको पहिलो हप्ता डेढ सयको हाराहारीमा सङ्क्रमित रहने गरेकोमा पुसको दोस्रो र तेस्रो हप्तामा सरदर दैनिक दुई अढाइ सय सङ्क्रमित फेला परेको पाइन्छ । दैनिक छ–सात हजाको आरसीपीटीआर परीक्षण हुने गरेको र सोही आधारमा एक डेढ सय सङ्क्रमित थपघट हुनु सामान्य गरेको चिकित्सकहरु बताउछन् । विश्वका केहीँ मुलुक र भारतमा पनि ओमिक्रोनको सङ्क्रमण फैलने दर ह्वात्तै बढे पनि नेपालमा सो अनुसार नबढे पनि सचेत रहनुपर्ने चिकित्सकको राय छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथयाङ्क अनुसार नेपालमा १८ दिनमा चार हजार २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले आइतबार पाँच हजार ९६२ जनाको आरटी पीसिआर परीक्षण गर्दा २१६ जनामा कोरेना पुष्टि भएको हो । शनिबार पाँच हजार सात जनाको आरटी पीसीआर परीक्षण गर्दा ३४२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

पुस १ गते १६०, पुस २ गते २६९, पुस ३ गते १५८, पुस ४ गते १३३, पुस ५ गते २१८,पुस ६ गते २५२, पुस ७ गते २१७, पुस ८ गते २४१, पुस ९ गते २३७, पुस १० गते १५७, पुस ११ गते २१३, पुस १२ गते २५१, पुस १३ गते २४१, पुस १४ गते २०९, पुस १५ गते २३५, पुस १६ गते २१२, पुस १७ गते २५२ र पुस १८ गते २१६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सरुवा रोगविशेषज्ञ डा. शेरबहादुर पुन नेपालमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या त्यति नबढेको बताउनुहुँदै एक–दुई सय सङ्ख्यामा तलमाथि हुनु सामान्य रहेको बताउनुभयो । नेपालमा ओमिक्रोनले कोभिडको तेस्रो लहर ल्याउने अनुमान हँुदै आएको छ ।
‘ओमिक्रोम फैलिएका देशहरुमा ओमिक्रोनका बिरामी हेर्दा उहाँहरुको स्वास्थ्य जटिलता र मृत्युदर पनि कम रहेको छ’, उहाँले भन्नुभयो, ‘यदि नेपालमा तेस्रो लहर फैलिहाले पनि पहिलाको अनुभव र स्वास्थ्य संरचना र जनशक्तिले रोग रोकथाम गर्न पहिलेको जस्तो चुनौती हुँदैन ।’
सरकारले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएका छ । महाशाखाले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका सङ्क्रमितहरुको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महाशाखाले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न निर्देशन दिएको छ ।

नेपालमा अहिलेसम्म आठ लाख २८ हजार ९८६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये आठ लाख १२ हजार ४१९ जनामा कोरोना मुक्त भएका छन् भने ११ हजार ५९६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरेको छ ।

नेपालमा चार हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये चार हजार ७४७ जना होम आइसोलेसनमा, २२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार ८३ जना आइसियू र १९ जना भेन्टिलेटरमा रहेका छन् ।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म नेपालमा दुई करोड ४६ लाख १४ हजार ४३६ मात्रा खोप लगाएको छ । जसमध्ये कुल जननङ्ख्याको ४६.५ प्रतिशतले एक मात्रा र ३४.६ प्रतिशले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसङ्ख्याको ७०.९ प्रतिशतले एक मात्रा र ५२.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?