logo
२०८१ बैशाख २३ आईतवार

  संक्रमणकाे नयाँ लहरसँग सामना गर्ने कस्ताे तयारी ?  



आइसोलेसन, आइसीयू भेन्टिलेटर,अक्सिजन प्लान्ट दाेब्बर बृद्धि

स्वास्थ्य |


आइसोलेसन,  आइसीयू भेन्टिलेटर,अक्सिजन प्लान्ट दाेब्बर बृद्धि


काठमाडौं, पुस २६ गते । नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ । विश्वमा जस्तै नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । गत जेठमा देखिएको दोस्रो लहरमा अक्सिजनको सङ्कट र आईसीयू बेडको अभावले अनपेक्षित जनधनकाे क्षति भएकाे थियाे ।

अस्पताललगायतका क्षेत्रमा पूर्वतयारी गरिएकाले याे पटक ओमिक्रोन फैलियो भने पनि यस्तो समस्या नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारी बताउनुहुन्छ ।

‘पहिलो लहरमा स्वास्थ्य पूर्वाधार बनिसकेको थिएन, महामारी नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरु तयारीमा नै जुटे । दोस्रो लहरमा अक्सिजन र बेडको अभाव देखियो । तर अब यस्तो समस्या हुँदैन।’ उहाँले भन्नुभयो ।

नेपालमा ओमिक्रोनका २७ सङ्क्रमित फेला

अमेरिका, बेलायतलगायत छिमेकी देश भारतमा पनि ओमिक्रोन भेरिएन्ट तीव्रगतिमा फैलिरहेको छ । नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ। नेपालमा पनि ओमिक्रोन पुष्टि भइसकेकाले केही सातामै सङ्क्रमण बढ्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यो भेरियन्टले तेस्रो लहर फैलनसक्ने अनुमान गर्दै सरकारले अत्यधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रालयले पहिलाको तुलनामा आइसोलेसन, एचडीयु, भेन्टिलेटर, अक्सिजन सिलिन्डर र कन्सन्टेटर प्लान्ट पहिलाको तुलनामा दोब्बर बनाएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा ३२४ एचडीयु, २,७९७ आइसियु बेड र १,००८ भेन्टिलेटर

मन्त्रालयको तथ्याङ्क अनुसार देशभरमा आठ हजार २०२ आइसोलेसन, ३२४ एचडीयु, दुई हजार ७९७ आइसियु बेड र एक हजार आठ भेन्टिलेटर बेड छन् ।

देशभर १३ हजार ९३९ सिलिण्डर छन् । त्यस्तै,अक्सिजन कन्सन्टेटर ६९३, अक्सिजन प्लान्ट ४७ वटा छन् । त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४९४ आइसोलेसन, एचडीयु बेड ३२४, आइसियु बेड ४४५ र भेन्टिलेटर २५४ वटा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

कुन प्रदेशमा कति

प्रदेश १ मा ८१९ आइसोलेसन ,५६८ एचडीयु बेड, ३४२ आसियु बेड,१४८ भेन्टिलेटर बेडहरु छन् । एक हजार १४ अक्सिजन सिलिण्डर, ६६ अक्सिजन कन्सन्टेटर , ५ वटा अक्सिजन प्लान्ट छन् ।

त्यस्तै, प्रदेश २ मा एक हजार ६८०आइसोलेसन ,६९५ एचडीयु बेड, ३९६ आसियु बेड,१२४ भेन्टिलेटर बेड छन् । दुई हजार ३६८ अक्सिजन सिलिण्डर, ३६ अक्सिजन कन्सन्टेटर , ३ वटा अक्सिजन प्लान्ट छन् ।

यता, बाग्मतीमा ती हजार २८३ आइसोलेसन, एक हजार १९१ एचडीयु बेड, एक हजार ४ आसियु बेड, १२४ भेन्टिलेटर बेड छन् । त्यस्तै, दुई हजार ३६८अक्सिजन सिलिण्डर, ३६ अक्सिजन कन्सन्टेटर, ३ वटा अक्सिजन प्लान्ट छन् ।

उता, गण्डकीमा ६५१ आइसोलेसन ,४४४ एचडीयु बेड, २२८ आसियु बेड,८२ भेन्टिलेटर बेड छन् । त्यस्तै, दुई हजार ३०५ अक्सिजन सिलिण्डर, ८५ अक्सिजन कन्सन्टेटर, १३ वटा अक्सिजन प्लान्ट छन् ।

यस्तै, लुम्बिनीमा ४५२ आइसोलेसन, ६४० एचडीयु बेड, २३९ आसियु बेड, ५६ भेन्टिलेटर बेड छन् । दुई हजार ७६६ अक्सिजन सिलिण्डर, ६९ अक्सिजन कन्सन्टे«टर , ७ वटा अक्सिजन प्लान्ट छन् ।

कर्णालीमा ६०७ आइसोलेसन, ९६ एचडीयु बेड, ९७ आसियु बेड, ३५ भेन्टिलेटर बेड छन् । दुई हजार ४०५ अक्सिजन सिलिण्डर, ८० अक्सिजन कन्सन्टेटर, ३ वटा अक्सिजन प्लान्ट छन् ।

सुदूरपश्चिममा ७१० आइसोलेसन,२१३ एचडीयु बेड, ७२ आसियु बेड, ३१ भेन्टिलेटर बेड छन् । एक हजार ३९१ अक्सिजन सिलिण्डर, १९९ अक्सिजन कन्सन्टेटर, ४ वटा अक्सिजन प्लान्ट र छन् ।

मापदण्ड लागू गर्न आग्रह 

मन्त्रालयले ओमिक्रोनबाट बच्न खोप लगाउने, पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न सर्वसाधारणहरुलाई आग्रह गर्दै आएको छ।

जिन स्क्रिनिङ गर्ने सुविधा

त्यस्तै, मन्त्रालयले ओमिक्रोन भेरियन्ट पत्ता लगाउन एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पताललाई दिएको छ।  नेपालमा पछिल्लो केही दिनयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ।

छ हजार ७५५ जना सक्रिय सङ्क्रमित

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गर्दा ८३१ जनामा कोरोना पृष्टि भएको थियो । त्यस्तै, शनिबार ६९६, शुक्रबार ५७२, बिहीबार ४७८, बुधबार ३७०, मङ्गलबार ३५५ र सोमबार २९१ जनामा कोरोना पृष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ३२ हजार ५८९ पुगेको छ। जसमा आठ लाख १४ हजार २३० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ६०४ जनाको मृत्यु भएको छ । नेपालमा छ हजार ७५५ जना सक्रिय सङ्क्रमित छन् ।

४९.६ प्रतिशत पहिलो र ३६.७ प्रतिशतकाे पूर्णमात्राकाे खोप

नेपालमा कोरोना खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६१ लाख ४९ हजार ६१६ मात्रा खोप लगाइएको छ । कुल जनसङ्ख्याको ४९.६ प्रतिशतले पहिलो मात्रा र ३६.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै, लक्षित जनसङ्ख्याको ७५.६ प्रतिशतले एकमात्रा र ५५.९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् ।

बुस्टर खोप लगाउने तयारी

अग्रपङ्क्तिमा खटिएकाहरु र रोग प्रतिरोधात्मक क्षमता भएकाहरुलाई बुस्टर खोप लगाउने सरकारले तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिनुभयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?