logo
२०८१ बैशाख १७ सोमवार

  किन बढ्दैछ मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ?  



जटिल स्वास्थ्य समस्या, दीर्घरोग र खोप नलगाउनु मुख्य कारण

स्वास्थ्य |
पढ्नै पर्ने |


जटिल स्वास्थ्य समस्या, दीर्घरोग र खोप नलगाउनु मुख्य कारण


काठमाडौं, माघ २६ गते । नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमणदर घटे पनि मृत्युदर बढेको छ । योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २४ दिनको तथ्याङ्कलाई केलाउँदा दैनिक मृत्युदर बढेको देखिएको छ । २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमणको कारणले २४ दिनमा २२५ जनाको मृत्यु भएको छ । माघ १ गते चार जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । त्यसैगरी, माघ ८ गो १६, माघ १३ गते १५, माघ १६ गते ३२, माघ १९ गते १२, माघ २१ गते १६ ,माघ २३ गते ११ जना, माघ २४ गते १३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार पछिल्लो केही दिन यता सङ्क्रमितको मृत्युदर बढ्दै गएको छ । मृत्युदर सबैभन्दा बढी बागमती प्रदेशमा ४३ प्रतिशत र सबैभन्दा थोरै कर्णाली प्रदेशमा चार प्रतिशत रहेको डा. पौडेल बताउनुहुन्छ ।

९४ प्रतिशत सङ्क्रमितको अस्पतालमा र छ प्रतिशतको बाटोमा र होम आइसोलेसनमा मृत्यु हुने गरेको डा. पौडेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा जटिल स्वास्थ्य समस्या र दीर्घ रोगी, खोप नलगाएका बढी रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउनुहुन्छ ।

‘मृत्यु हुनेमध्ये अधिकांश ५० देखि ८० वर्ष उमेरका हुनुहुन्छ उहाँहरुलाई केहीन/केही स्वास्थ्य समस्या रहेको र खोप पनि नलाएको देखिएको छ ।’ डा. अधिकारीले भन्नुभयो अस्पतालमा मृत्यु भएकाहरु मध्ये धेरै जस्ता दीर्घरोगीहरु रहेको शिक्षण अस्पतालका फोकल पर्सन डा. निरज बम बताउनुहुन्छ ।

‘अस्पतालका आइसीयूमा दीर्घ रोगी र खोप नलगाएका आइसीयूमा र भेन्टिलेटर आवश्यक परेको छ । र मृत्युदर पनि दीर्घ रोगी र खोप नलगाएकाहरु बढी छन् ।’

कुन उमेर समूहका कतिको मृत्यु
अहिलेसम्म ११ हजार ८३८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर १.३ प्रतिशत रहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार उमेर अनुसार ० देखि ९ उमेरको ५१, १० देखि १९ वर्षका ५७, २० देखि २९ वर्षका ३६०, ३० देखि ३९ वर्षका ९५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ४० देखि ४९ का १६ सय ५९, ५० देखि ५९ का २२ सय ८२, ६० देखि ६९ का २४ सय ८५, ७० देखि ७९का २३ सय ५२ ,८० वर्षमाथिका १६ सय १२ र अज्ञात समूहका १३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

नेपालमा अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन विधिबाट ११ लाख चार हजार २१६ जनामा कोरोना भाइसर पुष्टि भएको छ । जसमध्ये नौ लाख २० हजार ५९२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको छ ।

सक्रिय सङ्क्रमित ३६ हजारभन्दा बढी
नेपालमा ३६ हजार १८१ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । सङ्क्रमित सङ्क्रमितमध्ये ३४ हजार ९८३ जना होम आइसोलेसनमा र एक हजार १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५६ जनाको आइसीयूमा र ३८ जनाको भेन्टिलेटरमा उपचार हुँदैछ ।

नेपालमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरु मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, लतपुर, चितवन, काभ्रे, कास्की, बाँके, रुपन्देही गरी १३ वटा  छन् ।

त्यस्तै, दुई सयभन्दा बढी सक्रिय जिल्लाहरु सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, स्याङ्जा, बाग्लुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ कञ्चनपुर गरी १७ छन् । मनाङमा भने शून्य सङ्क्रमित छन् ।

कतिले लगाए खोप
मन्त्रालयका अनुसार सरकारले खोप अभियान सुरु गरेदेखि मङ्गलबारसम्म तीन करोड ४३ लाख ५८ हजार २१७ मात्रा खोप लगाएको छ ।

जसमा पहिलो मात्रा एक करोड ७९ लाख ११ हजार ९३९, पूर्णमात्रा एक करोड ५८ लाख एक हजार ७३४ र अतिरिक्त मात्रा छ लाख ४४ हजार ५४४ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?