logo
२०८१ बैशाख १५ शनिवार



८८ लाख कोरोनाविरुद्धको खोप अझै आवश्यक

स्वास्थ्य |


८८ लाख कोरोनाविरुद्धको खोप अझै आवश्यक



काठमाडौं, फागुन १७ गते । सरकारले नेपालमा अझै ८८ लाखभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बुस्टर खोप लगाउन ८८ लाखभन्दा बढी खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना, फाइजर र जोन्सन एण्ड जोन्सन गरी विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ ।

कुन कुन खोप पाइप लाइनमा ?

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार ३० लाख मात्रा चीनको सिनोभ्याक खोप पाइप लाइनमा छ । उहाँकाअनुसार उक्त खोप कहिले आउने निश्चित छैन । तर उक्त खोप ल्याउन हवाइ खर्च नेपाल सरकारले व्यहोर्ने गरी कम्पनीसँग सहमति भएको छ । गाभी र कोभ्याक्सअन्तर्गत ९२ लाख मात्रा फाइजर खोप पाइप लाइनमा छ । उक्त खोप १२ वर्ष माथिकालाई लगाइने छ ।

कतिले लगाए खोप ?
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १३ महिनाको अवधिमा कुल जनसंख्याको तीन करोड ७१ लाख २५ हजार ७३२ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा एक करोड ८४ लाख ८८ हजार ३० जनाले एकमात्रा खोप लगाएका छन् भने एक करोड ७४ लाख ९० हजार ४७३ जनाले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म नेपालमा ११ लाख ४७ हजार २२९ जनाले जनाले अतिरिक्तमात्रा डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्यामा दुई करोड १५ लाख ७५ हजार २३ अर्थात ७३.९ प्रतिशतले एक मात्रा  एक करोड ७४ लाख ९० हजार ४७३ जना अर्थात ५९.९ प्रतिशतले पूर्णमात्रा र जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१८ वर्ष माथिका लक्षित जनसंख्यामा एक करोड ८२ लाख ३७ हजार ४४६ अर्थात ९१.५ प्रतिशतले एकमात्रा र एक लकरोड ५७ लाख नौ हजार ६८६ अर्थात ७८.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, लक्षित जनसंख्याको १२ वर्ष माथिका ३० लाख ६२ हजार ३१३ जना अर्थात् ८९ प्रतिशतले एक मात्रा र १६ लाख २८ हजार ५९२ जना अर्थात ४८ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

५ देखि ११ बालबालिकाले कहिले पाउँछन् खोप?

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले अझै लगाउन पाएका छैनन् । सो समूहका बालबालिकालाई सरकारले छिट्टै खोप दिने घोषणा गरिसकेको छ । बालबालिकालाई फाइजर खोप दिनका लागि खरिद सम्झौताको तयारी भइरहेको स्वास्थ्य विभाग महाशाखा अन्तर्गतको आपूर्ति शाखाले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा खोप आवश्यक पर्छ ।

तीन तहमा कति खोप भण्डारण छ ?
केन्द्र, प्रदेश र जिल्लाको खोप भण्डारणमा सरकारसँग ९७ लाख २७ हजार ९७९ मात्रा खोप र एक करोड ४३ लाख ९९ हजार चार सय सिरिन्ज भण्डारण छ । प्रदेश १ मा १३ लाख ३२ हजार ३६२ खोप र नौ लाख ७९ हजार ७७ सिरिन्ज भण्डारणमा रहेको तथ्यांकमा उल्लेख गरिएको छ। मधेश प्रदेशमा पाँच लाख ६७ हजार ४८४ खोप र ४१ लाख चार हजार चार सय सिरिन्ज भण्डारणमा रहेको छ । बागमती प्रदेशमा सात लाख ३१ हजार ७८ खोप र १३ लाख ६३ हजार एक सय सिरिन्ज भण्डारण छ ।

गण्डकी प्रदेशमा दुई लाख ७७ हजार ४१५ खोप र दुई लाख ५६ हजार ५० सिरिन्ज भण्डारण छ । लुम्बिनी प्रदेशमा सात लाख ३६ हजार ३३० मात्रा खोप र नौ लाख छ हजार सिरिन्ज छ । कर्णाली प्रदेशमा चार लाख २८ हजार ९३० खोप र आठ लाख ३८ हजार ११५ सिरिन्ज छ । त्यस्तै, सुदुरपश्चिममा तीन लाख ४१ हजार १२९ खोप र सात लाख २८ हजार सात सय सिरिन्ज भण्डारण छ । त्यस्तै, सेन्टर स्टोर टेकुमा ४६ लाख ४६ हजार ८० खोप भण्डारण छ भने सेन्टर स्टोर पथलैयामा ९५ लाख ४२ हजार सिरिन्ज भण्डारणमा छ ।

संक्रमणमुक्त भएको एक महिनापछि खोप कोरोना संक्रमणमुक्त भएको एक महिनापछि कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले ओमिक्रोन भेरियन्टलगायत आउँदा दिन उत्परिवर्तन भई नयाँ देखिनसक्ने भेरियन्टबाट बच्न अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको हो ।

१८ वर्षका सबैलाई बुस्टर डोज लगाउन आग्रह

सरकारले पूर्ण मात्रा खोप लगाएका १८ वर्ष उमेर समूहका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। पूर्ण मात्रा खोप लगाई छ महिना पूरा भएका १८ वर्षमाथिका नागरिकलाई उपलब्धताका आधारमा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या जनाएको छ । बुस्टर डोज लगाउँदा पहिला लगाएको खोप उपलब्ध भएको खण्डमा सोही खोप र उपलब्ध नभएको खण्डमा कोभिसिल्ड, मोडर्ना, अस्ट्राजेनिका, फाइजर, जोन्सन एन्ड जोन्सनमध्ये कुनै एक लगाउन मन्त्रालयले आग्रह गर्दै आएको छ।

यस्तै, जोन्सन एन्ड जोन्सन खोप लगाएको छ महिना पुगेकाहरुले बुस्टर डोज उपलब्ध भएको खण्डमा जोन्सन खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ । जोन्सन खोप बुस्टर डोजका रूपमा उपलब्ध भएको खण्डमा अन्य खोप (मोडर्ना, फाइजर, कोभिसिल्ड, अस्ट्रजेनिका) लगाएकाहरूले पनि लगाउन मिल्ने मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राले जानकारी दिनुभयो । सरकारले वैशाख मसान्तसम्म १२ वर्ष माथिका सबैलाई पूर्ण खोप लगाउने लक्ष्य लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?