logo
२०८१ बैशाख २३ आईतवार



कोरोना रोकथाम गर्न छवटा कार्यदल, शङ्का लागे नियन्त्रण गरिने

मुख्य समाचार |


कोरोना रोकथाम गर्न छवटा कार्यदल, शङ्का लागे नियन्त्रण गरिने


दीपक श्रेष्ठ

काठमाडौँ, चैत ९ गते । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएका हाल सम्मका गतिविधिको समीक्षा गर्दै शनिबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सो समितिको संयोजक हुनुहुन्छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भए पनि क्वारेन्टाइन, आइसोलेसन र उपचारमा पठाइनेछ भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधन र निर्देशनको कार्यान्वयन, कार्ययोजना बनाउने र अनुगमन गर्ने विषयमा बैठक केन्द्रित भएको बताउनुभयो ।
मन्त्री डा. खतिवडाले जोखिम व्यवस्थापनका लागि उच्च तहको राजनीतिक एवं सामाजिक समन्वयको पनि आवश्यकता रहेको बताउनुभयो । उहाँले कोभिड–१९ का कारण आउनसक्ने सम्भावित जोखिम
बहन गर्न छवटा कार्यदल गठन भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उच्च तहको राजनीतिक, सामाजिक समन्वयका लागि पनि कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यस्तै क्वारेन्टाइन व्यवस्थापन सम्बन्धी कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई हुनुहुन्छ । त्यस्तै बिरामी व्यवस्थापन टिमको गृह मन्त्रालयले समन्वय गर्नेछ । सञ्चार तथा सूचना व्यवस्थापन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य सामग्री आपूर्तिका लागि परराष्ट्र मन्त्रालय, आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापन र कार्यान्वयन अनुगमन उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले संयोजन गर्ने व्यवस्था गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?