logo
२०८० चैत्र १६ शुक्रवार



एमालेमा सर्वसम्मत नेतृत्वको प्रयास

मुख्य समाचार |


एमालेमा सर्वसम्मत नेतृत्वको प्रयास


दीपक श्रेष्ठ

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ महाधिवेशन मूलतः पार्टी नेतृत्व निर्माणमा मात्र केन्द्रित हुँदैछ । महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ । यद्यपि १५ सदस्यीय पदाधिकारीसहित २३५ केन्द्रीय समितिमा धेरै आकाङ्क्षी हुँदा सर्वसम्मत नेतृत्व चयन त्यति सहज चाहिँ छैन ।
‘एउटै कक्षा नदोहो-याउने’ प्रतिबद्धता सार्वजनिक गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष हुने निश्चितप्रायः छ । अध्यक्ष ओलीविरुद्ध कसैले चुनौती दिने अवस्था यति बेला एमालेभित्र सम्भवतः छैन । यस महाधिवेशनमा नेतृत्व चयन मात्र हुने भएकाले फरक विचार राखेर नेतृत्वका रूपमा उभिने अवस्था पनि यस पटक छैन किनकि एमालेले विधान महाधिवेशन यसअघि नै सम्पन्न गरिसकेको छ ।

यद्यपि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्षमा उम्मेदवारी दिने चर्चा मिडियामा सार्वजनिक भइरहेका छन् । उपाध्यक्ष रावलले केही दिनअघि एक कार्यक्रममा आफूले अध्यक्षमा उम्मेदवारी दिने धारणा राख्नुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि सम्भवतः ईश्वर पोखरेल नै अगाडि हुनुहुन्छ । पार्टीका महासचिव पोखरेल विधानतः दोस्रो कार्यकाल रहन नसक्ने भएका कारण वरिष्ठ उपाध्यक्षमा मात्र उहाँका लागि ठाउँ खाली रहेको अवस्था छ ।

अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा धेरै आकाङ्क्षी रहे पनि अध्यक्ष ओलीले आफ्ना विश्वासपात्रलाई अगाडि बढाउने निश्चित छ । यस हिसाबले महासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेलले नै बाजी मार्ने प्रबल सम्भावना रहेको बताइन्छ । यद्यपि सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे पनि सो पदका लागि आकाङ्क्षी रहेको बताइन्छ । पार्टीका पुराना नेताहरू युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायतको व्यवस्थापन समेत चुनौतीपूर्ण छ । त्यस्तै कार्यकर्तामाझ लोकप्रिय योगेश भट्टराई, गोकर्ण विष्टजस्ता नेताहरूलाई पनि समेट्नुपर्ने अवस्था छ ।
त्यसमाथि एकता प्रक्रियाबाट आएर एमालेमा रहेका पूर्वमाओवादी नेतृत्व तथा कार्यकर्तालाई पार्टीमा उचित स्थान दिनुपर्ने चुनौतीसमेत एमाले नेतृत्वसामु छ । उता एमालेभित्रै पार्टी अन्तरसङ्घर्षमा रही १० बुँदे सहमतिपछि पार्टी काममा फर्किएका नेताहरूलाई उचित जिम्मेवारीमा ल्याउनुपर्ने परिस्थिति पनि छ । अध्यक्ष ओलीलाई अप्ठ्यारो अवस्थामा साथ दिनुभएका रामबहादुर थापा ‘बादल’ले महाधिवेशनबाट महìवपूर्ण जिम्मेवारी पाउनेमा शङ्का छैन ।

महाधिवेशनको संयोजक नै ‘बादल’ बनाइनुले समेत त्यस सम्भावनालाई सङ्केत गर्दछ । यस्तै माओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापाजस्ता नेतालाई समेत महाधिवेशनले समेट्नुपर्ने अवस्था छ । यस्तो परिस्थिति हुँदाहुँदै पनि १५ पदाधिकारीसहित २३५ केन्द्रीय समितिलाई सर्वसम्मत बनाउने अधिकतम प्रयास महाधिवेशनमा रहने कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेका कार्यकर्ताले नेताको मूल्याङ्कन सही तरिकाले गर्न सक्षम छन् । नवौँ महाधिवेशनको प्यानल निर्वाचनमा समेत कार्यकर्ताले विवेक राखेर पदाधिकारी चयन गरेका थिए ।”

पार्टीले वडा र पालिकास्तरमा सर्वसम्मत नेतृत्व चयन गर्न ‘सर्कुलर’ नै जारी गरे पनि धेरै ठाउँमा विवाद निस्किएको थियो । ती विवाद मिलाउन नेतृत्व तहलाई हम्मेहम्मे परेको स्थितिले एमालेको १०औँ महाधिवेशनमा पदाधिकारी सर्वसम्मत नेतृत्व चयन त्यति सहज चाहिँ छैन । अर्कोतर्फ पदाधिकारीमा समावेशी बनाउनुपर्ने अवस्था पनि छ । मङ्सिरमा नै महाधिवेशन हुने हुँदा ७० वर्ष उमेरको हदबन्दी एमालेका प्रायः नेतालाई यस पटक लाग्ने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?