logo
२०७९ माघ २० शुक्रवार



लिच्छविकालीन शिलालेख भेटियो

खुला |


लिच्छविकालीन शिलालेख भेटियो


दीपक श्रेष्ठ

ललितपुर, पुस ८ गते । राजा सिद्धिनरसिंह मल्लले मनिङ्ल राजप्रासाद विस्तार गर्ने क्रममा त्यहाँ रहेको बौद्ध विहार स्थानान्तरण गरेको किंवदन्तीलाई पुष्टि गर्ने गरी सोही क्षेत्रमा लिच्छविकालीन शिलालेख प्राप्त भएको छ ।
यसअघि २०७८ भदौ २९ का दिन उत्खननकै क्रममा पूर्व मध्यकालका शिलालेख पनि भेटिएको थियो । प्राप्त शिलालेखलाई पाटन सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो ।

पाटन दरबार सुवर्ण झ्यालअगाडि ढल खन्ने क्रममा छ फिट अग्लो लच्छिविकालीन शिलालेख भेटिएको हो । भीमसेन मन्दिरअगाडि उत्खनन हुँदै गर्दा २०७८ पुस ५ गते जमिनमुनि लिच्छविकालीन शिलालेख भेटिएको पुरातत्त्वविद् दर्नालले जानकारी दिनुभयो ।

सो क्षेत्रमा एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा ढल निर्माणको कार्य गरिरहेको छ । पुरातात्त्वविक क्षेत्र भएकाले पुरातात्त्व विभागको समेत निगरानीमा सो क्षेत्रको ढल निर्माण कार्य भइरहेको छ । उत्खनन समूहमा खटिएका पुरातत्त्वविद् दर्नालका अनुसार सो क्षेत्रमा ३०/३५ वर्षअघि भण्डारी बिल्डर्सले ढल निर्माण गरेको थियो । सोही क्रममा शिलालेख भेटिएको भए पनि त्यत्तिकै पुरिएको थियो । इतिहासकार धनवज्र वज्रचार्यले सङ्लकन गर्नुभएको लिच्छविकालीन शिलालेखमा समेत अहिले प्राप्त शिलालेखको उल्लेख गरिएको छैन ।

लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार शिलालेखमा १५ पङ्क्तिमा अभिलेखको पाठ छ । लिपि लिच्छविकालीन र प्रौढ संस्कृत भाषामा छ । यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न छ । यसले पनि बुद्ध विहारमा राखिएको शिलालेख भन्ने पुष्टि गर्ने विज्ञहरू बताउँछन् ।

लिपिविज्ञ राजवंशीले मनिङ्ल दरबार क्षेत्रमा पहिला बौद्ध विहार थियो भन्ने कुरालाई यस शिलालेखले थप प्रमाणित गरेको बताउनुभयो । दरबारअगाडि अहिले पनि स्थानीयवासीले साउनमा पानीको भाँडा राख्ने प्रचलन रहेको चर्चा गर्दै लिपिविज्ञ राजवंशीले भन्नुभयो, “यस शिलालेखका आधारमा इतिहासका नयाँ तथ्यहरू भेट्न सकिन्छ । यो खोज र अध्ययनकै विषय बन्यो ।”
शिलापत्रको लम्बाइ झन्डै छ फिट लामो भए पनि अभिलेख कुँदिएको भाग मात्रको नाप भने ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइ रहेको लिपिविज्ञ राजवंशीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?