logo
२०८१ बैशाख १४ शुक्रवार



बागमती किनारमा गुरुयोजना विपरीत संरचना

मुख्य समाचार |


बागमती किनारमा गुरुयोजना विपरीत संरचना


काठमाडौँ, माघ २४ गते । बागमती नदी किनारमा हरियाली प्रवद्र्धन र सौन्दर्यका नाममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाले सार्वजनिक जग्गा कब्जा गरिरहेका छन् । हरियालीका नाममा टहरा, संस्थाका कार्यालय, भवन निर्माण र विभिन्न धार्मिक सम्प्रदायका मन्दिर स्थापना भइरहेका छन् ।

यी सबै कार्य अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुमतिमा नै भइरहेको छ । समितिले विभिन्न संस्थासँगको सहकार्यमा बागमती कोरिडोरमा केही वर्षदेखि हरियाली प्रवद्र्धनको कार्य थालेको थियो । सोही क्रममा धार्मिक, व्यावसायिक तथा सामाजिक संस्था गरी ३६ वटा संस्थाले पार्क तथा हरियाली प्रवद्र्धनको जिम्मा लिएका छन् ।

कतिपय संस्थाले नगरपालिका र प्रदेश सरकारसँग बजेट ल्याएर हरियाली प्रवद्र्धनको सट्टा नयाँ मठ–मन्दिर निर्माण गरिरहेका छन् । बागमती सफाइ अभियन्ता तथा सिभिल इन्जिनियर भुवन थापाले बागमती सभ्यता संरक्षण नभई हरियालीका नाममा विभिन्न संस्थालाई बागमती किनार जिम्मा लगाउने काम विकास समितिले गरिरहेको बताउनुभयो । उहाँले बागमतीको बहाव क्षेत्रलाई साँघुरो बनाउँदै नदी नियन्त्रणमा जोड दिइएकाले नदी किनारका बस्ती वर्षायाममा प्रभावित बन्दै आएको समेत बताउनुभयो ।

बागद्वारदेखि कटुवालदहसम्म बागमती नदीको लम्बाइ ४८ किलोमिटर छ । नदी किनारमा लगाइएको बिरुवाले हरियाली प्रवद्र्धनसमेत भएको छ । वातावरण अभियन्ता सौरभ ढकालले सहरका नदीमा पर्खाल उठाउनुभन्दा जैविक नियन्त्रणको विधि अपनाउनुपर्ने बताउनुभयो । त्यसो त सबै नदी किनारमा सडक बनाउने सरकारी योजना नै त्रुटिपूर्ण रहेको धारणा उहाँको छ ।

बागमती नदीको दुवै किनारमा प्रायः सडक निर्माण गरिएको छ । जसका लागि नदीको बहाव क्षेत्रको मापदण्डविपरीत पर्खाल निर्माण गरी नदी सभ्यता संरक्षण नभई नियन्त्रणमा जोड दिइएको पाइन्छ । नदी किनारमा पक्की पर्खाल लगाउनुका कारणबारे जिज्ञासा राख्दा समितिका इन्जिनियर तथा सूचना अधिकारी कमल अर्यालले भन्नुभयो, “नदीमा मानव पहुँच सहज हुँदा प्रदूषण बढ्छ । आवश्यक ठाउँमा सिँढीको व्यवस्था गरिएको छ ।”

सडक किनारमा विभिन्न संस्थाले घेराबेरा गरी हरियाली प्रवद्र्धन, उद्यान र पार्क निर्माण पनि गरेको पाइन्छ । त्यस्ता उद्यान र पार्क सार्वजनिक उपभोगका लागि बन्देज गरिएको छ । बागमती र मनोहराको दोभान शङ्खमूलमा ‘द आर्ट अफ लिभिङ’ले पार्क, ध्यान भवन र पूजाका लागि हवन स्थल बनाएको चार वर्ष भयो ।

विकास समितिको स्वीकृतिमा निर्माण भएको यो पार्कमा सर्वसाधारणले प्रवेश पाउँदैन । त्यस्तै शङ्खमूल क्षेत्रमा सत्य साई उद्यान निर्माण भइरहेको छ । मन्दिर पनि निर्माण गरिएको छ । सत्य साई उद्यान शङ्खमूलका संरक्षक नरेन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, “हामीले कतैबाट चन्दा नलिइकनै भक्तजनको सहयोगमा यो पार्क निर्माण गरेका हौँ ।” उहाँले अन्य संस्थाले के गर्छन्, त्यो आफूलाई थाहा नभएको तर आफ्नो पार्कमा सर्वसाधारणले निश्चित समयमा प्रवेश पाउने बताउनुभयो ।

समितिका सूचना अधिकारी अर्यालले समेत बागमती गुरुयोजनाविपरीत नदी किनारमा स्थायी संरचना निर्माण भइरहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस्ता संरचना हटाउन मार्क गरिसकेका छौँ र हटाउने प्रक्रियासमेत थालिसकिएको छ ।” बागमती नदी किनारका परम्परागत घाटको संरक्षणका साथै २८ वटा मठ–मन्दिरको संरक्षण कार्यसमेत भइरहेको उहाँले बताउनुभयो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०६६ सालबाट निजी संस्थालाई बागमती किनारमा उद्यान र हरियाली क्षेत्र निर्माण गर्न दिने निर्णय गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?