logo
२०८१ बैशाख ७ शुक्रवार

   कम्युनिस्टबाट हार खाएका वामदेव   



‘लोकतान्त्रिक शक्ति’ निर्माणमा

मुख्य समाचार |


‘लोकतान्त्रिक शक्ति’ निर्माणमा


दीपक श्रेष्ठ

काठमाडौँ, पुस ११ गते । विभाजित नेपालका कम्युनिस्ट समूहबीच सधैँ कार्यगत एकताका पक्षधर वामदेव गौतम यतिबेला स्वयं एक्लिनुभएको छ । राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने नेता वामदेव केही समयदेखि सार्वजनिक रूपमा देखिनुभएको पनि छैन ।

राष्ट्रिय सभाको बैठकमा उपस्थित भए पनि पछिल्लो समय त्यहाँ पनि उहाँले केही बोल्नुभएको छैन । नेपालको कम्युनिस्ट आन्दोलनमा छ दशक बिताइसक्नुभएका वामदेवले राजनीतिबाट सन्न्यास लिन लागेको हो त ? यो सम्भव लाग्ने प्रश्न पनि होइन । त्यसो भए के गर्दै हुनुहुन्छ त, वामदेव ?

वामदेवलाई लामो समयदेखि राजनीतिमा साथ दिँदै आउनुभएका डीबी कार्कीका अनुसार उहाँ निष्क्रिय हुनुहुन्न बरु पुराना दस्तावेजको अध्ययन, पुनरावलोकन, नयाँ दस्तावेज लेखन तथा सम्पादन र सार्वजनिक जीवनका विशिष्ट व्यक्तिहरूसँग भेटघाट बढाइरहनुभएको छ । सम्भवतः माघसम्ममा कम्युनिस्ट कार्यदिशा तर गैरकम्युनिस्ट नामको ‘लोकतान्त्रिक शक्ति नेपाल’ दललाई जन्म दिने प्रयत्नमा उहाँ सक्रिय हुनुहुन्छ । नेपालमा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पार्ने प्रयास असफल भएपछि वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट बनाएर समाजवादको दीर्घकालीन यात्रा थाल्न ‘लोकतान्त्रिक शक्ति’ निर्माणमा वामदेव लाग्नुभएको धारणा नेता कार्कीको छ ।

उहाँले भन्नुभयो, “वर्तमान निर्वाचन प्रणाली महँगो र विकृत भएको छ । त्यसैले पूर्ण समानुपातिक निर्वाचन प्रणाली एवं प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कार्यनीतिक लक्ष्यसहित नयाँ दलको जन्म हुनेछ । ”
उहाँका अनुसार जनताको बहुुदलीय जनवाद (जबज)लाई मागदर्शक सिद्धान्तका रूपमा लिइने छ । यद्यपि २१औँ शताब्दीको परिवेशमा परिमार्जनसहित जबजलाई लगिने छ । जबजकै सैद्धान्तिक आधारमा टेकेर ‘२१औँ शताब्दीको समाजवाद’ कार्यक्रमसमेत वामदेवले लेखिसक्नुभएको छ ।

नेकपा (एमाले) त्यागेर माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी)मा वामदेव गौतमसमेत जाने अड्कल धेरैले गरेका थिए । नेकपा (एस)ले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार नगरेका कारण आफू सो दलमा जान नसकेको कुरा वामदेवले सार्वजनिक गरिसक्नुभएको छ । वामदेव निकट विद्यार्थी नेता कमल बस्नेतका अनुसार वैचारिक र कम्युनिस्ट आन्दोलनको एक जना नेतृत्वकर्ताका हिसाबले वामदेव भर्खरै गठित नेकपा (एस) र नेकपा (माओवादी केन्द्र)मा जाने कुनै सम्भावना छैन ।

बरु नयाँ राजनीतिक धारको विकास गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको दाबी बस्नेतको छ । नयाँ ढङ्गले राष्ट्रको निर्माण गरिनुपर्ने र त्यसका लागि आर्थिक, सामाजिक र राजनीतिक विकास आवश्यक हुने तर त्यो काम गर्न राजनीतिक रूपमा पार्टीभित्रैबाट उमेरको हदबन्दी लगाउँदै छेकबार गरिएपछि ‘राष्ट्रिय विकास प्रतिष्ठान’ मार्फत राजनीतिक एवं सामाजिक गतिविधिमा सक्रिय हुने योजनासमेत वामदेवको छ ।

विचारको विषय उठाइए पनि नेकपा (एस)मा वरिष्ठ उपाध्यक्षको ‘बार्गेनिङ’ अन्तिम समयसम्म गरेको वामदेव निकट कार्यकर्ताकै दाबी छ । विद्यार्थी नेता दिनेश लोले भन्नुभयो, “अन्तिम अवस्थासम्म वामदेवलाई साथ दिएकै हो । एमालेमा रहन पनि नसक्ने र नयाँ दल पनि गठन नगर्ने स्थितिमा कहीँ कतै समाउने हाँगो नपाएपछि नेकपा (एस)मा हाम्रो समूह नै समाहित भएका हौँ । ”

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अहिले पनि वामदेव एमालेकै नेता भएको दाबी गर्नुभयो । पार्टीका पछिल्ला कुनै पनि कार्यक्रममा वामदेव नदेखिनुभएको र एमालेले समेत कुनै कारबाही नगरेको प्रसङ्गमा प्रमुख सचेतक भट्टराईले भन्नुभयो, “पार्टीमा सक्रिय हुने नहुने व्यक्तिको इच्छाको कुरा हो तर वामदेवले एमाले छाड्नु होला भन्ने लाग्दैन । ”

तर उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उपाध्यक्षबाट राजीनामा दिएर बस्नुभएको छ र एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा समेत देखिनु भएन । यद्यपि त्यही समय छोरीको बिहे तयारीमा जुट्नुभएका वामदेव यति बेला चाहिँ एमालेको सदस्यका रूपमा मात्र हुनुहुन्छ । एमालेको विधानतः ७० वर्ष उमेर कटेपछि सक्रिय राजनीतिमा रहन सक्ने अवस्था छैन । ७४ वर्षीय वामदेव एमालेमै रहँदा पनि कि त सल्लाहकार कि त ज्येष्ठ कम्युनिस्ट मञ्चबाहेक अन्यत्र भूमिका पाउने स्थिति छैन । वामदेवका राजनीतिक सहयोगी डीबी कार्कीले भन्नुभयो, “एमालेभित्रको यो व्यवस्था केही नेता लक्षित थियो । यो मानव अधिकार विरोधी विधानको व्यवस्थासमेत हो । ”

वामदेव मात्र होइन, नेकपा (एमाले)की सांसदसमेत रहनुभएकी महिला नेत्री एवं वामदेवकी पत्नी तुलसा थापासमेत महाधिवेशनमा जानु भएन । नेत्री थापाले भन्नुभयो, “अहिलेसम्म म एमाले सांसद नै हुँ तर छोरीको विवाहका कारण महाधिवेशनमा जान सकिएन । ”

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अन्तरसङ्घर्ष चर्को रूपमा उठिरहँदा कुनै पक्षमा नलागेका वामदेवले ६५१ सदस्यीय नेकपा (नेकपा) राष्ट्रिय एकता अभियान नै घोषणा गर्नुभएको थियो । त्यसमा १७५ सदस्यीय कार्य सम्पादन समिति थियो । यद्यपि अहिले न त्यो अभियान सक्रिय छ न अभियानमा रहेका कार्यकर्ता वामदेवतिर छन् । वामदेवको दाहिने हात मानिने हरि पराजुली, बलराम बास्कोटा, केशवलाल श्रेष्ठ, सावित्री भुसाललगायत नेताहरू भने नेकपा (एस)मा लाग्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?