logo
२०७९ माघ २० शुक्रवार



इतिहासमा तनहुँसुर

शनिवार |


इतिहासमा तनहुँसुर


दमौली
हिन माया मैसँगै रमौली

लोकलय, भाका र संस्कृतिमा सम्पन्न छ, गण्डकी प्रदेश । ग्रामीण पर्यटन विकास, प्राकृतिक सम्पदा संरक्षणका साथै लोकगायनमै समेत गण्डकी प्रदेश अगाडि छ । चर्चित अन्नपूर्ण पदमार्ग, घलेगाउँ होमस्टे यसका केही उदाहरण हुन् । अर्थात् गण्डकीको लोकजीवन नै लोकलय हुन् । त्यसैमा पर्यटनको सम्भावना खोजिरहेको छ, गण्डकी ।

गोरखा राज्य विस्तार हुनुअघिका चौबिसे राज्यका धेरै भूमाग, गण्डकी प्रदेशमै पर्छन् । तिनै भुरे, टाकुरे, थुमे राज्यका इतिहासप्रति न्याय गर्दै तिनका कोट, किल्ला, गढी, गौडा, दरबारसँग सम्बन्धित मूर्त वा अमूर्त संस्कृति संरक्षणमा ध्यान केन्द्रित गर्ने हो भने पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ । सांस्कृतिक र प्राकृतिक सम्पदा केन्द्रित गण्डकीको पर्यटनलाई इतिहाससँग जोड्न सकिन्छ । जसले, पलायन भएको पुस्ता, प्रविधि, ज्ञान, लगानी, श्रमशक्तिलाई समेत गाउँमा फर्काउन सकिन्छ । यही प्रयासको थालनी तनहुँको व्यास नगरपालिकाले गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने भन्नुहुन्छ, “कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर नगरको विकास योजना बनाउँदै आएका छौँ । जसमा युवा परिचालनलाई प्रमुख ध्यान दिएका छौँ ।”

नेपाली समाजमा समेत पछिल्लो समय घुमन्ते संस्कृतिको विकास भएको छ । तिनका लागि पोखरा विविध कारणले रोजाइमा पर्ने गरेको छ । यद्यपि, काठमाडौँबाट पोखरा जाँदाजाँदै गरेको पर्यटकलाई एक दिन रोक्ने हदसम्मको पर्यटन गन्तव्यको विकास तनहुँले गर्न सकेको छैन । यद्यपि, तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पुनर्जीवन पाएर पर्यटकीय गन्तव्यको रूपमा परिचित बनिसकेको छ । जसमा बन्दीपुरबाट पलायन भएको पुस्ताको मुख्य भूमिका छ ।
बन्दीपुरबाहेक तनहुँमा अन्य पर्यटकीय गन्तव्य हुन सक्दैन ? तनहुँको पर्यटन विकासमा डेढ दशकदेखि सक्रिय हरिसिं गुरुङ भन्नुहुन्छ, “तनहुँ ऐतिहासिक भूमि हो । ऋषिहरूको तपस्थल यो आध्यात्मिक भूमि पनि हो । कृषिको उर्बर क्षेत्रसमेत रहेको तनहुँमा अन्य थुप्रै पर्यटकीय स्थल छन् । जहाँ पर्यटक ल्याउन प्रयास थालिएको छ ।”

तहुँको पर्यटन विकासका लागि तनहुँको ऐतिहासिक पक्षलाई पर्यटनसँग जोड्ने प्रयासको थालनीसमेत गरिएको छ । दमौली–तनहुँसुर महिला हाफ अल्ट्रा म्याराथन, मानहुँकोट–पुलिमराङ अल्ट्रा म्याराथनजस्ता खेलमार्फत समेत ऐतिहासिक स्थललाई पर्यटनसँग जोड्दै लगिएको छ । ‘पुराताìिवक सम्पदाहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न हातेमालो गरौँ’ भन्ने नारासहित तनहुँसुर पर्यटन सम्पदा वातावरण मेला–२०७८ समेत गरिएको पर्यटन अभियन्ता हरिसिंह बताउनुहुन्छ ।
पाल्पाका राजा मणिमुकुन्द सेनले विक्रम संवत् १५७५ देखि १६१० सम्म विशाल पाल्पा राज्यमा शासन गरेका थिए । विशाल पाल्पा राज्य उत्तरमा मुक्ति क्षेत्रदेखि दक्षिणमा हरिहर क्षेत्र र पश्चिम काली गण्डकीदेखि पूर्वमा टिष्टासम्म विस्तार भएको थियो । शासनकालको उत्तराद्र्धमा पाल्पाली राजा मणिमुकुन्द सेन देवघाटतिर झरेर तपस्यामा लिन भए । पाल्पाली नरेशका १३ भाइछोरा र भतिजहरू थिए । उनीहरूले पाल्पाली नरेश मणिमुकुन्द सेनको मरणोपरान्त आफू प्रशासक भई काम गरेका स्थानहरूमा पाल्पा राज्यको पैतृक सम्पत्ति सम्झेर भाइ अंशमा बाँडचुँड गरेर स्वतन्त्र राज्य घोषणा गरेका थिए । (नेपालको उद्भव तथा विश्लेषणात्मक इतिहास, ढुण्डीराज शास्त्री ।)

कुनै समयको विशाल खस राज्य विक्रम संवत् १४६० को अन्त्यसम्म आइपुग्दा पतन हुन पुग्यो । विशाल खसान राज्यको पतनपछि बाइसे र चौबिसे राज्यहरूको उदय हुन पुग्यो । सोही मेलोमा पाल्पामा सेन वंशी राज्यको उदय भयो । त्यो बेला पाल्पा राज्यले विशाल क्षेत्र ओगटेको थियो । पाल्पाका मणिमुकुन्द सेनको मरणोपरान्त छोराहरू माणिक्य सेनले पाल्पा, विनायक सेनले बुटवल, लोहाङ सेनले मकवानपुर, राम सेनले रिसिङ, कुवेर सेनले राजपुर र भृङ्गी सेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । लोहाङ सेनको मकवानपुर राज्य पनि भाइ अंश लाग्दै मकवानपुर, विजलपुरा (विजयपुर) र चौदण्डी राज्यमा विभाजन हुन पुगेको थियो । (खबरकुञ्ज डटकम, देवीबहादुर बस्नेत)

रिसिङका राजा राम सेन निसन्तान भएकाले तनहुँका राजा भृङ्गी सेनका जेठा छोरा हम्वीर सेनको हातमा अपुताली राज्य पुग्यो । तनहुँका राजा भृङ्गी सेनको वि.सं. १६२८ मा मृत्युपछि राजगद्दीको हकदारका विषयमा हम्वीर सेन र भाइ धर्माङ्गतबीच मनमुटाव भयो । राज्यको अधिकार कसको हातमा भन्ने विवादले तनहुँ राज्य कमजोर भएको अवस्थामा त्रिशूलीदेखि मस्र्याङ्दीसम्मको विशाल राज्य हम्वीर सेनले थाम्न सकेनन् । परिणाम स्वरूप गोरखा पूर्व खड्का, मगर, तामाङ र घलेहरूले थुमे राज्य सञ्चालन गरेका थिए । सोही समयमा विक्रम संवत् १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले गोरखामा स्वतन्त्र ठकुराई स्थापना गर्न सफल भएका थिए । यसरी तनहुँ राज्यको पूर्वी सिमाना मस्र्याङ्दीसम्म खुम्चिएको थियो । त्यति मात्र होइन, हम्वीर सेन र धर्माङ्गत सेन बीच तनहुँ राज्य कसले लिने भन्ने भाइ झगडाले तनहुँबाट छुट्टिएर मिर्लुङकोटले छुट्टै राज्यको अस्तित्व लिएको थियो । जसको नेतृत्व भाइ धर्माङ्गत सेनले गरेका थिए । हम्वीर सेनपछि तनहुँको राजगद्दीमा तुला सेन आए । त्यसपछि दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कामरीदत्त सेन र हरकुमारदत्त सेनले तनहुँको राज्य सम्हालेका थिए । तनहुँका राजा दिग्विजय सेनको पालामा गलेखामकोट, मिर्लुङ्कोट, गजरकोट, किहुँ र ढोर राज्यहरू तनहुँमा मिलाइएको थियो । त्यस्तै, राजपुरको राज्य अपुतालीमा पर्न आएको थियो । यसरी तनहुँ राज्य पहाडदेखि तराईसम्म फैलिएको विशाल राज्यका रूपमा उभिएको थियो । वि.सं. १८३४ साउन ३ गतेका दिन तनहुँको चितवन खण्ड र वि.सं. १८३९ माघ १८ गतेका दिन तनहुँको पहाडी खण्ड गोरखा राज्यमा विलय भएको थियो । यसरी २३० वर्षसम्म सेन शासित तनहुँ राज्यको अन्त्य भएको थियो । सन् १९५१ मा भारतले जमिन्दारी राज्य प्रथा उन्मूलन गरेपछि तनहुँको शेष जमिन्दारी राज्य पनि अन्त्य भएको थियो । (तनहुँसुर र सेरोफेरो, देव बस्न्यात)

वि.सं.१८३९ मा तनहुँ राज्य गुमेपछि राजा हरकुमारदत्त सेन भागी रामनगर पुगे । चम्पारन जिल्लामा पर्ने रामनगर त्यस बेलाराजपुरको मुख्य सहर थियो । सेन राजाहरूले मुगल बादशाहलाई तिरो तिरी राजपुरको भोगचलन गरी आएकाले राजपुर तनहुँ राज्यको अङ्गको रूपमा रहीआएको थियो । गोरखा र तनहुँको बारम्बारको लडाइँको मौका छोपी राजपुरका १५ तप्पा (जिल्लाको सानो इलाका वा भाग) मध्ये साढे १२ तप्पा आफ्नो नाउँमा दर्ता गर्न बेतियाका राजा सफल भएका थिए । तनहुँबाट भागेर हरकुमारदत्त सेन रामनगर पुगेपछि उनका कान्छा भाइ जानकीदत्त सेनको नाउँमा अढाइ तप्पा मात्र दर्ता हुन सक्यो । त्यही जग्गालाई पछि हरकुमारदत्त सेनले जानकीदत्तलाई इष्ट इन्डियाकम्पनीको राजधानी कलकत्ता पठाइ भाइको नाउँ कटाएर आफ्नो नाउँमा ती तप्पा दर्ता गरे । यसबाट तनहुँले सेनको उत्तराधिकारीसहितको राजा पदवी र अढाइ तप्पाबाट हुने राजकीय खानगी कायम रहन गई रामनगर राज्यभित्र ५८४ मौजा (गाउँ, जग्गा) पर्न गए । (महेशराज पन्त, हिमाल, फागुन ७, २०७७)

वर्तमानमा तनहुँसुर
पाल्पा राज्य भाइअंशमा बाँडफाँट भएर तनहुँ राज्य जन्मिएको थियो । जसको राजधानी सुरमा थियो । भनिन्छ सुरमा सातवटा गढी थिए । जसको भग्नावशेष पाउनसमेत अहिले मुस्किल छ । कुनैमा पार्क बनाइएको छ, कुनैमा मोबाइल टावर ठड्याइएको छ । सुरमा मुख्य रूपमा तीनवटा थुम्का छन् । जसलाई त्रितुङ्ग समेत भनिन्छ । ऐतिहासिक प्रमुख किल्लासहितको सुरलाई अचेल तनहुँसुरका रूपमा चिनिन्छ । जहाँबाट तनहुँ राज्यका सेन राजाले शासन सञ्चालन गरेका थिए । अहिले यो ब्यास नगरपालिकाको वडा नम्बर ११ पर्दछ ।
विक्रम संवत् १६१० मा भृङ्गी सेनले तनहुँ राज्यको जग बसालेका थिए । सोही क्रमम सुर दरबारको देब्रेतर्फ उकालोमा ‘सिरिङ््गे’ को बिरुवा रोपेर राज्यबसालेको स्थानीयहरूले अझै किंवदन्ती सुनाउँछन् । स्थानीयले ‘सिरिङ््गे’ लाई ‘सिलिङ्गे’ भन्छन् । जुन लोपोन्मुख वनस्पतिका रूपमा लिइने सिरिङ्गेको बूढो रूख र चौतारा सेन राज्यको सम्झना जिवित गराउँदै जिङरिङ्ग ठडिएको छ । त्यहीँ तल ‘गोदाम’ छ । जहाँ, सेन राजाले खाद्यान्न भण्डार गर्ने गरेको स्थानीय बालकृष्ण श्रेष्ठको भनाइ छ ।

सेनकालीन तोप
सेन शासनकालको जीवन्त दसी बनेर कोतमा लडिरहेको छ, तोप । स्थानीय हटियाका बालकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “यो तोप, यहीँको खानीबाट निकालिएको फलामबाट यहीँका कालीगढले बनाएको भनेर बाबुबाजेले भनेका हुन् ।”
उहाँका अनुसार, दमौलीबाट तनहुँसुरसम्म सडक खन्ने क्रममा फलाम पिट्ने आरन र फलामका कीट थुप्रै भेटिएको थियो । उहाँको अड्कल छ, सायद हतियार बनाउने कारखाना त्यतैतिर थियो । गोठालाहरूले केही वर्षअघि तोपको पाङ्ग्रा भाग गुडाइदिए । अहिले नाल मात्र बाँकी छ । पाङ्ग्रालाई पाखामा भेटिएपछि त्यसलाई वडा कार्यालयमा सुरक्षित राखिएको श्रेष्ठ बताउनुहुन्छ । यो तोपलाई लमजुङ राज्यको दरबारतिर फर्काएर राखिएको थियो । अहिले पनि यो तोपको नाल, उतैतिर सोझिएको अवस्थामा छ । यही तोपको बलमा तनहुँसुर राज्यले लमजुङमाथि दबाब सिर्जना गर्ने गरेको भनाइ वरिष्ठ पत्रकार नारायण वाग्लेको छ ।

विक्रम संवत् १६१० मा स्थापित राज्यको अन्त्य १८३९ मा भयो । शक्तिशाली तनहुँ राज्यले करिब २३० वर्षसम्म खडा गरेका भौतिक संरचना वा अमूर्त संस्कृतिको खोज, अध्ययन र संरक्षण हुन नसकेको गुनासो स्थानीय श्यामकुमार श्रेष्ठको छ । स्थानीय अमरसिंह माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्रेष्ठ विगतको तनहुँसुर सम्झनुहुन्छ, “पहिला त तनहुँसुरमा रजगज नै थियो, ६० घर हटिया नेवारको बजार थियो । बन्दीपुरबाट दमौलीमा सदरमुकाम सरेपछि एक दुई घरबाहेक सबै नेवार पनि त्यतै गए । तनहुँसुरको दुर्दिन सुरु भए ।”
तनहुँसुर दरबार क्षेत्रको पहिचान र खोजी कार्यमा पुरातìवले समेत चासो देखाएको पाइन्छ । दरबार रहेको क्षेत्रको उत्खनन गरी संरक्षणको प्रयास गरिएको छ । दरबार नजिकै रहेको खड्गकाली मन्दिरको पुरानै स्वरूपमा मर्मत गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै, दरबार वरपर गद्दी चौतारा, रानी चौतारा, धान गोदाम, रानीधारा, साउने कुवा, रानी बगैँचा, सिलखान, जाकाटे ढुङ्गा, गोलघरलगायत सेनकालीन राज्यसँग किंवदन्ती जोडिएका ऐतिहासिक स्थान छन् । बीस वर्षअघि सो क्षेत्रको संरक्षणका लागि घेराबेरा, सिँढी मर्मत, तोपको संरक्षणजस्ता कार्य आफ्नै पहलमा सुरु गरेको ब्यास नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । सो क्षेत्रको बृहत्तर विकासका लागि भानु शान्ति निकुञ्ज विकास समितिमार्फत गुरुयोजना पनि निर्माण गरिएको छ । प्रदेश र ब्यास नगर मिलेर तनहुँुसुरको संरक्षण र विकासका लागि काम गरिरहेको र त्यहाँसम्म पुग्ने सडक १३ किलोमिटर कालोपत्रे गर्ने कार्य भइरहेको प्रमुख न्यौपाने बताउनुहुन्छ ।

पारिजातको जङ्गल
तनहुँसुर दरबारको उत्तर र दक्षिण तर्फको भिरालोमा पारिजातको ठूलो जङ्गल छ । त्यसो त, दरबारको उत्तरतर्फ रानीबगैँचा नै छ । जुन जङ्गलमा अहिले पनि अनेकन जातिका फूल र वनस्पति पाइन्छन् । मन्दिरमा चढाउनकै लागि मात्र सायद सेन राजारानीले यति ठूलो परिणाममा पारिजात लगाएका थिएनन् । साइकल अभियन्ता सौरभ ढकाल भन्नुहुन्छ, “पारिजात भन्नाले सौन्दर्य र सुगन्धको प्रतीक नै हो । जसमा औषधीय गुण पनि हुन्छ । यसैका लागि सायद यतिधेरै ठूलो पारिजातको जङ्गल लगाइयो ।”

ब्युँझाउने प्रयास
तनहुँसुरको ऐतिहासिक महìवलाई उजागर गर्दै मूर्त र अमूर्त सम्पदाको संरक्षणमा स्थानीय सरकार सजग बनेको भनाइ, प्रमुख न्यौपानेको छ । त्यसका लागि पुरातìव, प्रदेश सरकारसँग मिलेर कामसमेत भइरहेको छ । बन्दीपुरजस्तै गरी तनहुँसुरलाई पुरानै स्वरूपमा फर्काउन सकिने सम्भावनासमेत उहाँ देख्नुहुन्छ । त्यसका लागि दमौलीलगायत अन्यत्र रहेका तनहुँसुर मूलथलो भएका व्यापारी तथा बुद्धिजीवीले साथ दिनुपर्ने भनाइ उहाँको छ । तनहुँसुर घुम्न जाने पर्यटकका लागि घरबासको समेत व्यवस्था गरिएको छ । तनहुँसुर आउजाउ गर्ने पुराना पैदल मार्गसमेत मर्मत गरिएका छन् । गाउँमा व्यावसायिक कृषि कर्मको प्रवद्र्धन गरिएको छ । नगर प्रमुख न्यौपाने भन्नुहुन्छ, “तनहुँसुरका पुराना घर संरक्षण गर्नका लागि ५० प्रतिशत अनुदानको कुरा पनि गरेका छौँ । हामी सबै लाग्यौँ भने तनहुँसुरलाई फेरि ब्यँुझाउन सक्छौँ ।” स्थानीय सरकारका केही गतिविधि, मानिसको आवतजावत बढेसँगै स्थानीय हटियाका बालकृष्णमा केही आशा पलाएको छ । उहाँ भन्नुहुन्छ, “तनहुँसुर केही हुन्छ कि, केही बनाउन सकिन्छ कि भनेर यो चकमन्न गाउँमा एक्लै बसिरहेको छु ।” 

भाइरल मानहुँकोट
मानहुँकोट, कुनै समय गलेखामकोट राज्यको दक्षिणी सुरक्षा कवच गढीका रूपमा थियो । गलेखाम राज्यको यो एउटा दरिलो किल्ला थियो । छिमेकी राज्यहरू ढोर, घिरिङ, तनहुँ र रिसिङबाट हुनसक्ने आक्रमणबाट बच्न निर्माण गरिएका गढीहरूमध्ये मानहुँकोट एक हो । गढीका केही अवशेषहरू र मन्दिर अहिले पनि त्यहाँ देख्न सकिन्छ ।

दमौली बजारबाट पश्चिमतर्फ रहेको मानहुँकोट समुद्री सतहबाट एक हजार एक सय मिटर उचाइमा रहेको छ । मानहुँलाई मानुङ समेत भनिएको पाइन्छ । व्यास नगरपालिकाको वडा नं. ५ मा रहेको मानहुँकोट दमौलीबाट करिब सात किलोमिटर टाढा रहेको छ । दमौलीबाट पोखरातर्फ लाग्दा मादी नदीको पुल तर्नेबित्तिकै चापाघाट अलैँचेबाट उकालो लागेर मानहुँकोट पुगिन्छ । सङ्गमटोल, कटुवा, अलैँचे, सौराहा, धारादी, देउरालीहुँदै मानहुँकोट पुगिन्छ, जहाँबाट माछापुच्छे«, अन्नपूर्ण, मनासलु, बौद्ध, लमजुङ हिमालको हार देख्न सकिन्छ । दमौली बजारलाई हुस्सुको घुम्टोले लपक्क छोपेको रमाइलो दृश्य हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको आनन्द हेर्न रात्रीकालीन क्याम्पिङका लागि पनि मानहुँकोट पुग्नेहरू बढेको पाइन्छ । दमौलीलगायत वरपरका रात्रिकालीन दृश्य हेर्नसमेत मानहुँकोटमा क्याम्पिङ जाने गरेको पाइन्छ । जहाँबाट बिहान हुस्सुमाथि उभिएको अनुभूति हुन्छ ।

सेती, मादी, सांगे र गुणादी नदीले घेरिएको मानुहुँकोटमा पानीको चाहिँ चर्को अभाव छ । पानीकै अभावमा सस्तोमा जग्गा बेचेर मानहुँकोटका ७० घरभन्दा बढी मगर जाति गुणादी, पाटन, साँगे र दमौलीतिर बसाइँ झरे । यद्यपि, मानहुँकोटमा आन्तरिक पर्यटक बढ्न थालेपछि पुरानै थातथलोमा फर्कनेहरू समेत बढ्दै छन् तर सस्तोमा जग्गा बेचेर बजार झर्नेहरू अहिले त्यही जग्गा महँगोमा किनेर फर्कंदै गरेको व्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहन श्रेष्ठ बताउनुहुन्छ ।

स्थानीय ज्ञानी थापाले मानहुँकोटमा सानोतिनो चिया खाजा पसल चलाउनुभएको छ । गाडीबाट पानी मगाउनुपर्ने र गाडी भाडा मात्रै एक हजार पाँच सय तिर्नुपर्ने बाध्यता रहेको थापा बताउनुहुन्छ । त्यस्तै, स्थानीय रेवती आले जवानीमा साग, मूला, करेला, जिरे खुर्सानी बेच्न दमौली झर्नुहुन्थ्यो । पहिलोदेखि नै पानीको समस्या भएकाले धेरै मानिस बसाइँ झरेको स्मरण गर्दै अहिले उत्पादन गर्नसके गाउँमै तरकारी बिक्री हुने रेवती बताउनुहुन्छ । वडा अध्यक्ष मोहनका अनुसार, मानहुँकोटमा लिफ्ट खानेपानीका लागि डीपीआर भइरहेको छ ।

मानहुँकोटलाई पर्यटकीय स्थल बनाउने पहिलोदेखिकै आफ्नो योजनाअनुसार संरक्षण र विकासको काम थालेको दावी अध्यक्ष श्रेष्ठको छ । मानहुँकोटको प्रवद्र्धनमा मिडियाबाट सहयोग प्राप्त भएको बताउनुहुने श्रेष्ठको थप योजना छ, “मानहुँकोट घुम्न आउनेलाई हावाहुरी, पानीबाट सुरक्षित राख्न विश्रामस्थल बनाइएको छ । सबैले टावर भन्छन् तर यो टावर होइन । कोटको टेलिफोन टावर हटाउन पहल भइरहेको छ ।”
पैदल मार्गबाट पनि मानहुँकोट पुग्न सकिन्छ । पुरानै पैदल मार्गलाई मर्मत गरी करिब चार किलोमिटर लामो पदमार्ग बनाइएको छ । त्यस्तै, पाटनबाट समेत हिँडेर मानुङकोट पुग्न सकिन्छ । यो बाटो अलि ठाडो उकालो छ । तर दुरी जम्मा दुई किलोमिटर छ । पाटन, सौराहा, सिखरडाँडाहुँदै मानुङकोट पुग्न सकिन्छ ।
दाइ काँ हो ?
दमौलीको बैनी ?
मै डुम्रे बजारको
तीर्थकुमारी थापा र रत्न बेहोसीको स्वरमा दमौली बजारको चर्चा उहिल्यै सुनिएको हो । गायक घमेश दुलाल र विमाकुमारी दुराले उहिल्यै गाएका थिए, ‘दमौलीमा गेट, मायालुले सम्झना गरेमा, हुन्थ्यो सधैँ भेट’ । गीत सङ्गीतको क्षेत्रबाट समेत दमौलीको चर्चा धेरै नै हुने गरेको पाइन्छ । पर्यटन प्रवद्र्धनमा समेत यस्ता गीतको महìवपूर्ण भूमिका हुन्छ । जसरी, मानहुँकोटलाई टिकटकले भाइरल बनाइदिएको थियो । अहिले मानहुँकोटमा दिनहुँजसो गीतको छायाङ्कन, टिकटकप्रेमीको जमघट बढ्दो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?