logo
२०८१ बैशाख २३ आईतवार



मनकारीहरू जाे आफ्नाे कटाएर अरूकाे भाेक मेटाउँछन्

समाज |


मनकारीहरू जाे आफ्नाे कटाएर अरूकाे भाेक मेटाउँछन्


दीपक श्रेष्ठ

काठमाडौँ, वैशाख १६ गते । बन्दाबन्दीपछि राजधानीका सडक पेटीमा जीविका चलाउनेको दैनिक भोजनमा ठूलो संकट आइलाग्यो ।  मागेर खानेदेखि भारी बोक्ने भरियाहरु भोकभोकै पर्न थाले । सडकमा फोहोर टिपेर जिविका चलाउनेहरु भोकले अलपत्र परे ।

यस्ता नागरिकलाई सामुहिक भान्सादेखि ‘प्याकेट’ मा खाना वितरण गर्न दर्जनौं संस्था र व्यक्तिहरु यतिबेला सक्रिय छन् । बन्दाबन्दीको मारमा परेका परिवारलाई राहतको प्याकेज बाँड्दै हिँडेका थिए, रामेछापका प्रदीप घिमिरे । सडकमा बसेर जिन्दगी गुजार्नेहरुले एकदिन प्रदीपसँग खान मागेपछि चैत २९ गतेदेखि तयारी खाना प्याकेट बाँड्न सुरु गरिएको थियो ।

मैतिदेवीका घरपेटीले पनि खाना पकाउन स्थान उपलब्ध गराए । भाँडाकुडा, ग्यासको जोरजाम गरे । सोही घरमा बस्ने १० जनाजति डेरावालहरु मिलेर निरन्तर रुपमा वसन्तपुर, क्षेत्रपाटी, ढल्कु, नरदेवी, विष्णुमति किनार, जैसीदेवल, किलागल, टेकू क्षेत्रमा दैनिक करिव दुई सय जनालाई साँझको खाना खुवाउँदै आएका छन् । यी मनकारी युवाको संयोजन प्रदिप घिमिरेले गर्नुभएको छ ।

यो समुहले चैत १६ गतेदेखि राजधानीका विभिन्न क्षेत्रमा असहाय, अनाथ, अशक्त, अपांङ्गता भएका व्यक्तिलाई दैनिक उपभोग्यवस्तु वितरण गर्दै आएका छन् । सामान जोरजाम गर्ने, खाना पकाउने, प्याक गर्ने, गाडीको व्यवस्थापन र वितरण गर्ने कार्यमा समुहमा कार्य विभाजन गरिएको छ । सो कार्यमा पुजन घिमिरे, शरद काफ्ले, शुलभराज उप्रेती, पूर्णिमा श्रेष्ठ, प्रिनम शर्मा, नविन घिमिरे, रोजिना भट्टराई, महेन्द्र गौतम र रामबाबु सिंह रहेका छन् ।

यो समुहका लागि तरकारी, चामल, तेल कहाँबाट जुट्छ ? अभियन्ता प्रदिप भन्नुहुन्छ, “फेसबुकबाट जुटाइरहेको छु । जन्मदिनको उपलक्ष्यमा सहयोग गर्नेहरु पनि हुनुहुन्छ । मनकारीहरुले सम्पर्क गरेर सामान ल्याइदिनुहुन्छ ।” ‘कोही पनि भोकै बस्न नपरोस्’ अभियानमा सहयोग गर्ने आफैँले खाना बाँड्ने इच्छा राखेमा त्यसको समेत व्यवस्था गरिएको छ ।

स्थानीय टोल सुधार समिति, प्रहरी र जनप्रतिनिधिको समन्वयमा दैनिक दुई सय जनाका लागि साँझाको खाना र पानी एक बोटल दिने गरिएको जनाइएको छ । पानीको बोतलको बिर्को खोल्दै अभियानकर्मी भन्नुहुन्छ, “बिर्को नखोली दिँदा पानी बेचेर रक्सी खाएको गुनासो आएपछि बिर्को खोल्न थालिएको हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?