logo
२०८१ बैशाख २६ बुधवार



इतिहासको जीवन्त साक्षी गोरखापत्र

मुख्य समाचार |
फिचर |


इतिहासको जीवन्त साक्षी गोरखापत्र


नारद गौतम

काठमाडौं, वैशाख २४ गते । नेपाली भाषाको पहिलो समाचारपत्र अर्थात् ‘गोरखापत्र’ प्रकाशन सुरु भएको आज ११९ वर्ष पूरा भई १२० वर्ष लागेको छ । सूूचना प्रवाहका साथै नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र पुस्ता हस्तान्तरणमा अतुलनीय योगदान पु¥याएको गोरखापत्र वि.सं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक रूपमा प्रकाशन सुरु भएको हो । दक्षिण एसियामै यति लामो निरन्तरता भएको अखबार विरलै छन् ।
साप्ताहिक रूपमा प्रकाशन हुन थालेको यो अखबार हप्तामा दुई तीन पटक हुँदै दैनिक रूपमा प्रकाशित हुँदै आएको छ । गोरखापत्र प्रकाशनकै ऐतिहासिक दिन स्मरण गर्दै नेपाल सरकारले २०७३ सालबाट राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेअनुसार आजै पाँचौँ ‘राष्ट्रिय पत्रकारिता दिवस’ परेको छ । गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा भएका घटनाको जीवन्त साक्षी हो । आफ्नो प्रकाशनको प्रारम्भदेखि १९९१ वैशाख ८ सम्म हप्ताको एक दिन सोमबार र २००१ असोजदेखि बुधबार पनि प्रकाशन हुन थाल्यो ।
वि.सं. १९९५ वैशाख २४ बाट गोरखापत्र दर्ता नम्बरसहित प्रकाशन सुरु भयो । गोरखापत्रको दर्ता नम्बर ००२ हो । गोरखापत्र नेपालबाट प्रकाशित पहिलो समाचारपत्र भए पनि वि.सं. १९९४ देखि पत्रपत्रिका दर्ता गर्नुपर्ने व्यवस्था भएपछि पहिलो नम्बरमा ‘शारदा’ मासिक पत्रिका दर्ता भयो भने दोस्रो नम्बरमा गोरखापत्र दर्ता भयो ।
इतिहासका कालखण्डका गोरखापत्र धेरै पटक काँचुुली फेर्न सफल भएको छ । गोरखापत्र १९६९ सालबाट सर्वप्रथम बिजुलीबाट चल्ने मेसिनमा छापिन थाल्यो । सुरुमा ‘गोर्खापत्र’को नामबाट प्रकाशित भए पनि १९८३ जेठ ४ गते ‘गोरखापत्र’ लेखियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा पुनः ‘गोर्खापत्र’ नामकरण भए पनि जनआन्दोलन सफल भएपछि २०६३ वैशाख १८ बाट पुनः ‘गोरखापत्र’ नै लेख्न थालियो ।
नेपालमा फोटो पत्रकारिताको सुरुआतकर्ता पनि गोरखापत्र नै हो । वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको थियो । श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगन्जकी १२ वर्षीया सूर्यमती श्रेष्ठेनीको तस्बिर छापिएको दिनलाई नै आधार मानेर २०५३ सालदेखि वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाइने गरिएको छ । तस्बिर परिचय (क्याप्सन)सहित छापिएको त्यो तस्बिर नै फोटो पत्रकारिताको सुरुआतकर्ता तस्बिर हो ।
गोरखापत्रको प्रकाशन तत्कालीन राजा श्री ५ पृथ्वीवीरविक्रम शाहदेव र श्री ३ प्रधानमन्त्री देवशमशेरको पालादेखि सुरु भएको हो । गोरखापत्रका प्रथम तालुकवाला (व्यवस्थापक) पण्डित नरदेव पाण्डे हुनुुहुन्थ्यो । वि.सं. १९६० भदौ २२ मा श्री ३ चन्द्रशमशेर राणाका ज्वाइँ जयपृथ्वीबहादुर सिंह गोरखापत्रको दोस्रो तालुकदार नियुक्त हुनुुभयो । १९९१ जेठ ५ गते गोरखापत्रमा पहिलो पटक सम्पादक ‘प्रेमराज’ भनी प्रकाशन भएको छ ।
यस्तै २०१२ भदौ १२ गतेबाट गोरखापत्रमा ‘प्रधान सम्पादक’ राखी प्रकाशन गरियो र पहिलो प्रधान सम्पादक लेख्ने गौरव बालकृष्ण समलाई मिलेको छ भने दैनिक रूपमा प्रकाशित हुन थालेपछिको गोरखापत्रको प्रधान सम्पादक गोपालप्रसाद भट्टराई हुनुहुन्थ्यो ।
वि.सं. २००० बाट काठमाडौँमा ‘समाचारदाता’ राख्न सुरु भयो र २०१७ फागुन ७ बाट गोरखापत्र दैनिक रूपमा प्रकाशन हुँदै आएको छ । नेपालको पत्रकारिताको इतिहासमा सन्ध्याकालीन समाचार दिने श्रेय पनि गोरखापत्रलाई नै छ । २०१९ कात्तिक २ देखि २०२२ असोज २२ गतेसम्म बिहान र साँझ गरी एकै दिनमा गोरखापत्र दुई पटक प्रकाशन भएको पाइन्छ । राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायतबाट वि.सं. ९०८ मा फर्कंदा साथमा ल्याएको कोलम्बियन प्रेसबाट गोरखापत्रको प्रकाशन सुरु भएको हो । यो प्रेस नेपालमा ‘गिद्दे प्रेस’को नामबाट परिचित छ । २०३८ सालमा वेभ अफसेट मेसिनबाट गोरखापत्रको छपाइ सुरु भयो भने २०५९ असार १० बाट रङ्गीन कलेवरमा छापिन थाल्यो ।
बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर विश्व पत्रकारिताको इतिहासमा गोरखापत्रले नयाँ इतिहास रचेको छ । २०६४ असोज १ बाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृभाषा)हरूको प्रकाशन सुरु भई हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् ।
राष्ट्रिय पत्रकारिता दिवस घोषणा भएपछि गोरखापत्र संस्थानले २०७३ सालमा पहिलो पटक ५५ हजार ५५५ रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना ग¥यो । नेपालको छापा पत्रकारितामा विशिष्ट योगदान पु¥याएका पत्रकारलाई प्रदान गरिने यस पुरस्कारबाट हालसम्म ध्र्रुवहरि अधिकारी, पी. खरेल, भैरव रिसाल र पोखराका पुण्य पौडेल पुरस्कृत भइसक्नुभएको छ ।
गोरखापत्रका सहप्रकाशनहरूमा अङ्ग्रेजी भाषाको दी राइजिङ नेपाल, मासिक पत्रिकाहरू मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन तथा राइजिङ नेपाल अनलाइन संस्करण प्रकाशन हुँदै आएका छन् ।
गोरखापत्रले २०७६ सालमा पूर्वाधार विकास र पाठकसम्मको पहुँच विस्तारमा फड्को मारेको छ । नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै २०७६ असोज ३ देखि विराटनगरबाट क्षेत्रीय प्रकाशन सुरु गरेको छ भने फागुन ७ देखि कोहलपुरबाट पनि प्रकाशन सुरु गरेको छ ।
औपचारिक कार्यक्रम नहुने
कोरोनाको विश्वव्यापी महामारीका कारण देश बन्दाबन्दीमा रहेकाले नेपाल सरकारकै आयोजनामा मनाइने गरिएको पत्रकारिता दिवसको औपचारिक कार्यक्रम स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सबै औपचारिक कार्यक्रम हालका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?