logo
२०८१ बैशाख १५ शनिवार

   कार्यतालिका सार्वजनिक   



मङ्सिर २५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने

मुख्य समाचार |


मङ्सिर २५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने


नारद गौतम

काठमाडौँ, मङ्सिर १४ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको केन्द्रीय कार्यसमितिको निर्वाचन तालिकामा सो कुरा उल्लेख छ । निर्वाचन कार्यतालिका प्रकाशित भएसँगै काँग्रेस महाधिवेशन तोकिएकै मितिमा हुने करिब पक्का भएको छ ।

यसअघि पनि पटक–पटक महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदै आएकाले अब पनि सर्ने हो कि भन्ने चर्चा चलिरहँदा प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो । मङ्सिर २४ गते सुरु हुने महाधिवेशनको दिन नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यस केन्द्रीय कार्यसमितिको निर्वाचनमा ७७ वटै जिल्लाबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, भ्रातृ सङ्गठनबाट महाधिवेशनमा प्रतिनिधित्व गरेका महाधिवेशन प्रतिनिधिहरू यसका मतदाता हुनेछन् ।

महाधिवेशनमा चार हजार सात सयभन्दा बढी मतदाता रहने जानकारी निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले गोरखापत्रलाई दिनुभयो । यी मतदाताले केन्द्रीय कार्यसमितिका सभापति एक, उपसभापति दुई, महामन्त्री दुुई, कोषाध्यक्ष एक, सहमहामन्त्री आठ र १५३ केन्द्रीय सदस्य पदका लागि मतदान गर्नेछन् । काँग्रेसमा कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा निर्वाचन हुने प्रावधान छ । संसदीय दलको पदेन कार्यसमिति सदस्य हुनेछ ।
केन्द्रीय कार्यसमितिको कुुल सङ्ख्या १६७ रहने प्रावधान छ ।

निर्वाचन तालिकाअनुसार मनोनयनपत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने अवधि मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म तोकिएको छ । यसैगरी उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार (देवनागरी लिपि) पहिलो नाम प्रकाशित २६ गते मध्याह्न १२ बजेदेखि ३
बजेसम्म हुनेछ ।
समितिले मनोनयन फिर्ता लिनका लागि सोही दिन अपराह्न ३ देखि ४ बजेसम्मको अवधि तय गरेको छ । उम्मेदवारको अन्तिम नामावली सोही दिन साँझ ५ बजे प्रकाशन गरिने जानकारी पनि संयोजक घिमिरेले दिनुभयो ।
निर्वाचन तालिकाअनुसार काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मङ्सिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुनेछ ।

यसैगरी प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका पनि सोमबार नै सार्वजनिक भएको छ; जसअनुसार मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।
मनोनयनपत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने समय मङ्सिर १७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार (देवनागरी लिपि) पहिलो नाम प्रकाशित मङ्सिर १७ गते दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्मको अवधि तोकिएको छ ।

मनोनयन फिर्ता लिन सोही दिन तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली मङ्सिर १७ गते साँझ प्रकाशन गरिनेछ र १८ गते बिहान ८ बजेबाट मतदान सुरु हुनेछ ।
प्रदेश कार्यसमितिमा एक सभापति, दुुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र प्रदेश सभा क्षेत्रका आधारमा प्रदेश कार्यसमिति सदस्य सङ्ख्या निर्धारण हुने जानकारी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले दिनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?