logo
२०८१ मंसिर ११ मंगलवार



राराको सौन्दर्य

पर्यटन |


राराको सौन्दर्य


रारा ताल कर्णाली प्रदेशकै सुन्दर ताल हो । यो सुन्दर मात्र होइन, नेपालको सबैभन्दा ठूलो ताल पनि हो । जैविक विविधताको हिसाबले पनि यो ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा सूचीकृत छ यो क्षेत्र । उच्च हिमाली क्षेत्रमा पाइने जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा र नेपालको सबैभन्दा ठूलो रारा ताल र त्यसको जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०३४ साल साउन २४ गते राजपत्रमा सूचना प्रकाशन भई रारा राष्ट्रिय निकुञ्जको स्थापना भयो । यो नेपालको सबैभन्दा सानो र एक अग्रणी राष्ट्रिय निकुञ्ज पनि हो ।

यो नेपालको उत्तर–पश्चिममा पर्ने कर्णाली प्रदेशको मुगु र जुम्ला जिल्लामा अवस्थित छ । मुगु जिल्लाको दक्षिण र जुम्ला जिल्लाको उत्तर–पश्चिममा पर्ने यस निकुञ्जको क्षेत्रफल १०६ वर्ग कि.मि. छ । निकुञ्जको अधिकतम अर्थात् ९० प्रतिशत भाग मुगु र बाँकी १० प्रतिशत जुम्ला जिल्लामा पर्छ । वरिपरि हरियो कोणधारी वनजङ्गलले घेरिएको उच्च हिमाली भूभागमा रहेको आकाशको रङअनुसार आफ्नो रङ फेरिरहने रारा तालमा सल्बलाउने कञ्चन पानी यस निकुञ्जको मुख्य आकर्षण भएको जानकारी रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बद्रीविनोद दाहालले दिनुभयो ।

यहाँ पाइने चराहरू, ताल वरिपरिको सौन्दर्य, यहाँका वनस्पति, जङ्गल, वन्यजन्तु सबै हिसाबले विश्व रामसार सूचीमा यो ताल सूचीकृत छ । नेपालले पनि रामसार अभिसन्धिलाई अनुमोदन गरेको छ । यो तालको राष्ट्रिय महत्व त छँदैछ, अन्तर्राष्ट्रिय महत्वको तालको सूचीमा पनि समावेश छ । रारा तालको दक्षिणतर्फ चुचेमारा टाकुरा, उत्तरतर्फ रुम काँध र मालिका काँध, उत्तर–पश्चिममा मुर्माडाँडाजस्ता चुचुरा पर्दछन् । यी चुचुराबाट रारा तालको मनमोहक दृश्यका साथै सैपाल, छायाँनाथ, चङ्खेली, कान्जीरोवा, पञ्चमुखी आदि हिमाल तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यी चुचुराबाट कर्णाली प्रदेशका पाँच वटा जिल्ला (मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालिकोट) र अन्य बाजुरा, अछाम, बझाङ र दैलेख गरी करिब नौवटा जिल्लाको भूभाग दृश्यावलोकन गर्न सकिन्छ, जसले गर्दा पर्यटकीय गन्तव्य र पर्यटन व्यवसायका लागि यी चुचुराले थप आकर्षण बढाएको छ ।

अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको उच्च हिमाली क्षेत्रको २९९० मिटरको उचाइमा अवस्थित रारा ताललाई सिमसार क्षेत्रहरूको अन्तर्राष्ट्रिय महासन्धि रामसारले सन् २००७ मा अन्तर्राष्ट्रिय महत्वको सिमसारको सूचीमा सूूचीकृत गरेको छ । यस तालको क्षेत्रफल १०.८ वर्ग कि.मि., अधिकतम लम्बाइ ५ किमी, अधिकतम चौडाइ ३ किमी र अधिकतम गहिराइ १६७ मिटर छ । यस तालको पानीको निकास निजार खोला हुँदै मुगु कर्णालीमा मिसिन्छ ।

रारा राष्ट्रिय निकुञ्जमा सल्ला, तालिसपत्र, भोजपत्र, धुपी, खस्रु, ओखरलगायत विभिन्न प्रकारका वनजङ्गल तथा खर्क (घाँसे मैदान) छन् । सल्लाको जङ्गल र मिश्रित चौडापाते वन यहाँको मुख्य वनका प्रकारहरू हुन् । यस निकुञ्जमा कस्तुरी मृग, रेडपाण्डा, हिमाली कालो भालु, थार, घोरल, रतुवा, बँदेललगायत ५५ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् भने नेपालको राष्ट्रिय पन्छी डाँफे, चिरकालिज, मोनालसहित २९६ प्रजातिका चरामध्ये ४९ प्रजातिका बसाइँ सरी आउने जलपन्छीहरू पाइन्छन् । निकुञ्जको रारा ताल र वरिपरिको कोणधारी वनक्षेत्र चराहरूको उपयुक्त वासस्थान मानिन्छ । नेपालमा पाइने विभिन्न प्रजातिका रैथाने माछामध्ये रारा तालमा तीन प्रजातिका असला माछासहित सात प्रजातिका माछा पाइन्छन् । जसमध्ये कालो असला माछा विश्वमा रारा तालमा मात्र पाइन्छ ।

संरक्षणको प्रयास
नेपाल सरकारले २०३२ सालदेखि नै प्रयास सुरु गरेको छ । त्यति बेलै यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरियो । रारा राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख दाहालका अनुसार, २०२० सालमा तत्कालीन राजा महेन्द्र ताल अवलोकन गर्न आइपुगेपछि संरक्षणको प्रयास सुरु भएको हो । राजाको यस क्षेत्रमा सवारी हुँदा तालको मनमोहक दृश्यले निकै प्रभावित पारेछ । त्यसपछि राजा महेन्द्रले स्थानीयबासीसँग छलफल गरेर संरक्षण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको पाइन्छ ।

त्यतिबेला राष्ट्रिय निकुञ्ज बनाउने कानुन बनिसकेको थिएन । वन तथा वन्यजन्तु संरक्षण ऐन २०२९ आइसकेपछि कानुनी बाटो खुल्यो । तत्कालीन राजा वीरेन्द्रको पालामा रारा राष्ट्रिय निकुञ्जको घोषणा गरियो । २०३२ सालदेखि नै वन तथा वातावरण मन्त्रालयअन्तर्गतको विभाग स्थापना भयो र नेपाली सेनाको एउटा टुकुडी तैनाथ गरियो । अहिले त नेपाली सेनाको गुल्म नै तालको संरक्षणमा खटिएको छ ।

वि.सं २०३४/३५ मा यस क्षेत्रमा रारा तालको क्षेउमा रारा गाउँ र छाप्रु गाउँ थिए । यी दुई गाउँमा करिब १६५ घर थिए । तालकै संरक्षणका लागि यहाँका बासिन्दालाई बाँके र बर्दियामा जग्गा प्रदान गरेर स्थानान्तरण गरियो । यसको मुख्य उद्देश्य नै यो सुन्दर ताल फोहोर नहोस् र अतिक्रमणको चपेटामा नपरोस् भन्ने हो । ती बासिन्दाले खेती लगाउने घरबारी अहिले जङ्गलमा परिणत भएको छ । यहाँ मानवबस्ती नहुँदा वन्यजन्तु र तालको संरक्षणमा पनि सहयोग पुगेको छ । यहाँ आइपुग्ने जोसुकैलाई तालको मनोरम दृश्यले लठ्ठ पार्ने गर्दछ ।

विगत केही वर्षदेखि सडक सञ्जालमा जोडिएपछि यो क्षेत्र एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा क्रमशः विकास हुँदै आएको छ । कर्णाली प्रदेशमा अवस्थित यस निकुञ्जलाई देशकै एक मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । राष्ट्रिय आय एवं स्थानीयस्तरमा रोजगारी सिर्जनाद्वारा यस क्षेत्रको समग्र सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउनेतर्फ आगामी दिनका योजना तथा कार्यक्रम लक्षित हुनुपर्ने आवश्यकता छ ।

चुनौती र अवसर
रारा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा विभिन्न किसिमका फोहोर थुप्रिएको देखिन्छ । पर्यटकीय गतिविधि बढिरहेको अवस्थामा पर्यटकमार्फत उत्सर्जन हुने प्लास्टिक, पानीका बोतल, टिनलगायतका फोहोर अत्यधिक मात्रामा छन् । त्यसैगरी पर्यटकलाई सुविधा प्रदान गर्न प्रयोग हुने यस क्षेत्रका करिब २५० घोडाको लिदीलगायत अन्य जनावरबाट पैदा हुने गोबरले यस क्षेत्रको सौन्दर्यलाई बिगार्नुुका साथै यी जैविक पदार्थ तालमा मिसिन गई तालको प्राकृतिक अवस्थालाई असर पारिरहेको छ ।

अत्यधिक चरिचरन
रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब २६ हजार भेडा, १० हजार गाईवस्तु तथा करिब १३ सयको हाराहारीमा भैँसी छन् । वर्षाको समयमा यी चौपाया खुला रूपले ताल वरपर तथा जङ्गल क्षेत्रमा चरिचरन गर्ने गर्छन् । यसले गर्दा घाँसे मैदान क्षेत्रमा फूल्ने फूलहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यी जनावरको गोबर अन्ततः तालमा मिसिने भएकाले ताल प्रभावित भइरहेको जानकारी निकुञ्जका प्रमुख दाहालले दिनुभयो । यसैगरी चरिचरनले गर्दा उच्च भागमा रहेका कस्तुरी, रेडपाण्डालगायतका संरक्षित जनावरलाई नकारात्मक असर परिरहेको छ ।

ताल क्षेत्रका संरचना
रामसार सूचीमा सूचीकृत रारा ताल परिसरमा राष्ट्रिय निकुञ्जको कार्यालय, राराको सुरक्षाका लागि तैनाथ नेपाली सेना तथा यहाँ रहेका होटलहरूको संरचना तथा गतिविधिले ताल परिसरलाई दूषित बनाइरहेका छन् । संवेदनशील क्षेत्रमा यी संरचना बनाइएका छन्, त्यसबाट ताल क्षेत्रमा पर्ने असरबारेमा जति ध्यान पुग्नुपर्ने हो त्यति पुगेको देखिएन । यद्यपि केही प्रयास भने नभएका होइनन् । यो क्षेत्रमा पर्यटकको आकर्षण बढ्दैछ । निकुञ्जका प्रमुख दाहालका अनुसार, कोभिड–१९ को महामारी सुरु हुनुभन्दा अघि आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको थियो ।

आन्तरिक पर्यटन
नेपाली पर्यटकीय आवागमन उल्लेखनीयरूपमा बढेको छ । २०७५ सालपछि मात्रै नेपाली पर्यटकको अभिलेखीकरण सुरु भएको हो । प्रत्येक वर्ष १० देखि १२ हजारसम्म पर्यटक आउने गरेका छन् । कोरोना सङ्क्रमण बढेका कारणले पछिल्ला दुई वर्षमा खासै वृद्धि हुनसकेन । यस आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा झण्डै पाँच हजार नेपाली पर्यटकले रारा ताल र यस क्षेत्रको भ्रमण गरेका छन् ।

२०६६ सालपछि विदेशी पर्यटकको अभिलेख राख्न थालिएको र प्रतिवर्ष साढे चार सयको सङ्ख्यामा आउने गरेका थिए । कोरोनाका कारणले पछिल्ला वर्षमा भने यो सङ्ख्या स्वाट्टै घटेर हरेक वर्ष १५–२० को सङ्ख्यामा झरेको भनाइ निकुञ्ज प्रमुख दाहालको छ ।

पर्यटकलाई अझ आकर्षण गर्न रारा तालको वरिपरि घुम्न साइकल लेन बनाउने प्रयास सुरु भएको छ । यस प्रयोजनका लागि प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै बजेट विनियोजन गरे पनि आशातीत विकास भइसकेको छैन । यसले ताल क्षेत्रको संरक्षणमा कतिको असर पार्छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

रारा पुग्ने जोसुकै हुन्, यहाँको सौन्दर्यले मोहित हुन्छन् । उनीहरूले सामाजिक सञ्जालमा होस् वा आमसञ्चारका माध्यमबाट व्यक्त विचार निकै मननीय छन् । रारालाई प्रकृतिको अनुपम उपहार, स्वर्गको टुक्रा, पुग्नैपर्ने ठाउँ, कर्णालीकी रानी, देशकै वैभव, कर्णालीको वरदानजस्ता शब्दले राराको सौन्दर्यलाई शब्दमार्फत परख गरेको पाइन्छ ।

रारा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएकाले यस क्षेत्रमा पर्या–पर्यटकीय सम्भावनाको उजागर हुँदै गएको छ । सुन्दर दृश्य, मुगाली संस्कृति, चराहरूको वासस्थान आदिले यस क्षेत्रको आकर्षणलाई झन् बढाएको छ । जसले गर्दा स्थानीयको जीवनशैलीमा शीघ्र परिवर्तन ल्याउन सकिने सम्भावना पनि प्रशस्त छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?