logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस सभापतिमा विजयी देउवाको राजनीतिक यात्रा

मुख्य समाचार |


काँग्रेस सभापतिमा विजयी देउवाको राजनीतिक यात्रा


काठमाडौं, मङ्सिर २९ गते । कुशल राजनीतिज्ञ शेरबहादुर देउवाले नेपाली काँग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गर्नुभएको छ । छात्र सङ्घबाट उदाउनुभएका देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन ।

डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएका देउवा नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गर्नुप-यो । विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएको छ । देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । वि.सं. २०२२ मा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभयो ।

उहाँ नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्न सफल हुनुुभयो । विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनुभएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनुभएको थियो । त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुग्नुहुन्थ्यो ।

लामो यात्राको फल
काँग्रेसको केन्द्रीय सदस्यमा रहँदै आउनुुभएका देउवा वि.सं. २०५७ मा पोखरामा भएको काँग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा पहिलो पटक प्रतिस्पर्धा गर्नुभयो । कुल एक हजार ४७७ मतमध्ये कोइरालाले ९३६ र देउवाले ५०७ प्राप्त गर्नुभयो ।

देउवाले राजनीतिक गुरु मान्नुुभएका कोइरालासँगको द्वन्द्वका कारण नेपाली काँग्रेस
(प्रजातान्त्रिक)को सभापति भएका कारण काँग्रेसको ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा रहनुुभएन । २०६२/६३ को आन्दोलनपछि दुवै पार्टी एक भएपछि १२औँ महाधिवेशनमा देउवा पुनः सभापतिको उम्मेदवार हुनुुभयो । सो महाधिवेशनमा सुशील कोइरालासँग उहाँको प्रतिस्पर्धा भयो । कोइरालाले एक हजार ६५२ र देउवाले एक हजार ३१७ मत प्राप्त गरेर उपविजेतामा चित्त बुुझाउनुुप¥यो । दुुई नेताबीच ३३५ मतको अन्तर थियो ।

सभापति सुशील कोइरालाको निधनपछि २०७२ फागुुनमा भएको १३औँ महाधिवेशनमा देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्नुुभयो । पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत पुुग्नलाई ११ मत कम भएपछि दोस्रो चरणको मतदान भएको थियो । त्यसमा देउवाले नेता पौडेललाई ५२६ मतान्तरले सभापतिको शिखर चुम्न सफल हुनुुभयो । देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । काँग्रेसको विधानमा काँग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ । सभापति पदमा विजयी भएपछि उहाँले ‘काँग्रेसलाई एकताबद्ध बनाउने अठोट’ व्यक्त गर्नुुभयो ।

कार्यकारी प्रमुखको निरन्तरता
काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएका सभापति देउवालाई ७५ वर्षको उमेरमा पाँचौँ पटक देशको कार्यकारी प्रमुख बन्ने सुअवसरसँगै पार्टी नेतृत्वलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ । यसअघि वि.सं. २०७४ मा उहाँकै कार्यकारी नेतृत्वमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचनमा काँग्रेस दोस्रो दल बनेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सौहार्दपूर्ण वातावरणमा उहाँले सत्ता हस्तान्तरण गर्नुभएको थियो । घुमिफिरी रुम्जाटार भनेझैँ झन्डै दुई तिहाइ मत पाएको नेकपा (एमाले)मा आएको विवादका कारण देउवालाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशको सेवा गर्ने सुअवसर मिल्यो ।

लगातार निर्वाचित जनप्रतिनिधि
पञ्चायत कालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित हुनुभयो । त्यसैगरी २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो । वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै विजयी हुनुभएको थियो ।

नेपालका समकालीन राजनीतिज्ञहरूमध्ये उहाँ ३० वर्षदेखि निरन्तर निर्वाचित विधायक हुनुहुन्छ । यसरी तीन दशकसम्म लगातार जनताबाट अनुमोदित विरालाकोटी नेतामा उहाँ पर्नुहुन्छ । शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट प्रशिक्षित देउवालाई पाँच वर्ष प्रतिपक्षको जनादेश हुँदाहुँदै अचानक प्रधानमन्त्री पद प्राप्त भएको छ । कतिपयले देउवालाई भाग्यमानी नेता पनि भन्ने गर्छन् । लोकतन्त्रप्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा निडर व्यक्तित्वका कारण उहाँलाई जनताले सधैँ विजयी गराउँदै आएका छन् ।
विज्ञान पढेपछि डाक्टर, इन्जिनियर बनी पैसा कमाइन्छ भन्ने छाप गाउँमा परेकाले परिवारको सल्लाहमा विज्ञान पढ्न काठमाडौँ आउनुभएका देउवा चिकित्सक तथा इन्जिनियर त बन्नुभएन तर मुलुक हाँक्ने सारथि बन्नुभयो । खासगरी दर्शन विषयका पुस्तक अध्ययन गर्न रुचाउने देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो । बेलायतको उच्च शिक्षाले देउवालाई लोकतन्त्रको फराकिलो क्षितिजसम्म विचार र विवेकलाई आत्मसात् गर्ने अवसर दियो ।

उतार चढावको यात्रा
वि.सं. २०४६ मा गणेशमान सिंहको नेतृत्वमा नेपाली काँग्रेसले देशमा पहिलो जनआन्दोलन अगुवाइ ग¥यो । त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययनरत हुनुहुन्थ्यो । जनआन्दोलन सफल भएपछि उहाँ लन्डनबाट काठमाडौंँ आउनुभएको हो । वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्न सफल हुनुभयो । उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली काँग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो ।

गृहमन्त्री बनेको साढे तीन वर्षभित्रै उहाँ नेपाली काँग्रेस संसदीय दलको नेतासँगै संसद्मा प्रमुख विपक्षी दलको नेता बन्नुभयो र पाँचै वर्षमा मुलुकको प्रधानमन्त्री बन्नुभयो । राजनीतिमा धेरै उतार चढाव खेप्नुभएका देउवाले काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको साथ पाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ । कानुनमा स्नातक उहाँले भारतको जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)बाट मानार्थ विद्यावारिधि (पीएचडी) प्राप्त गर्नुभएको छ ।

स्थानीय क्षेत्रमा रहेका विद्यालयबाटै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका देउवा एलएलसी दिएपछि उच्च शिक्षाका लागि वि.सं. २०२१ मा काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । त्यसपछि उहाँ नेविसङ्घभित्र राजनीतिमा सक्रिय हुनुभयो । निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा काम गर्दा नै पञ्चायती व्यवस्थाका पक्षधरबाट पटक–पटक पक्राउ पर्नुभयो ।

वि.सं. २०४८ मा जनप्रतिनिधि भएर काठमाडौँ पसेपछिकोे राजनीतिक यात्रामा देउवाका सीमित विफलता तर धेरै सफलता हात लागेका छन् । काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा अलग पार्टी निर्माण गर्न पुग्नुभयो । त्यसअघि नै देशमा नेकपा माओवादीले अगाडि बढाएको सशस्त्र विद्रोह (जनयुद्ध)ले सरकार कमजोर हुँदै जाँदा तत्कालीन राजा र शाही सेनाको असहयोग पनि बढ्दै गएको थियो ।

यता एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेर निर्वाचित जनप्रतिनिधिहरूको संस्था प्रतिनिधि सभा चल्न दिएन । यस्तो अवस्थामा काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । त्यसपछि काँग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । संसद्मा पार्टीको बहुमत भएकाले उहाँ दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । पछि तत्कालीन राजाबाट उहाँ सत्ताच्युत हुनुप-यो ।

राजनीतिक घटना सँगसँगै वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कु’मार्फत देउवालाई दोस्रो पटक हटाइदिएर सत्ता आफ्नो हातमा लिनुभएको थियो । नेपाली काँग्रेसको राजनीतिमा पाँच दशकपछि वि.सं. २०७२ को १३औँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली काँग्रेसको पार्टी सभापतिमा विजयी हुनुभयो ।
उहाँ सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभयो भने सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष पनि हुनुभयो । देउवाका एक छोरा जयवीर र श्रीमती डा. आरजु राणा देउवा हुनुहुन्छ । डा. राणा काँग्रेसको राजनीतिमै सक्रिय हुनुहुन्छ ।

नेपाली काँग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सिपालु व्यक्तिका रूपमा परिचित हुनुुहुुन्छ । पाँचौँ पटक देशको प्रधानमन्त्री बन्न सफल देउवाले नेतृत्व गर्नुभएका अधिकांश सरकार संयुक्त सरकार छन् । देशको प्रतिकूल राजनीतिक अवस्थामा देउवाले कार्यकारी प्रमुखको नेतृत्व गर्दै नेपाली राजनीतिलाई ठूलो दुुर्घटना हुनबाट जोगाउनुुभएको छ । पार्टीभित्र मात्र होइन अन्य दलसँग सहकार्य गरेर जान सक्ने क्षमताकै कारणले देउवा दोस्रो पटक सभापति बन्न सफल हुनुुभएको हो । समकालीन नेपाली राजनेताहरूमा अन्तर्राष्ट्रिय स्तरमा समेत देउवाको छवि उच्च रहेको छ ।

वि.सं. २०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली काँग्रेस पार्टीको राजनीतिक प्रमुखको भूमिकामा रहनुुभयो । २०४८ सालमा डडेल्धुराबाट सांसद बन्नुभएका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री हुनुुभएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनपछि उहाँ संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बन्नुुभयो ।

वि.सं. २०५२ मा नेकपा (एमाले) नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उहाँ पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुुभयो । २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला डा. बाबुराम भट्टराईलगायतले ४० बुँदे मागपत्र बुझाएका थिए । त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो । पछि माओवादीसँग वार्ताका लागि सरकारको तर्फबाट पत्र लेख्ने व्यक्ति पनि देउवा नै हुनुहुुन्छ । १४औँ महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले यो विषय स्मरण गराउनुुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?