logo
२०८१ बैशाख २५ मंगलवार



कोरोनाविरुद्ध सबै मिलेर लडौँ : प्रधानमन्त्री

मुख्य समाचार |


कोरोनाविरुद्ध सबै मिलेर लडौँ : प्रधानमन्त्री


नारद गौतम

काठमाडौँ, असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९)को सङ्क्रमणबाट बच्न देशव्यापी रूपमा सचेतना ल्याउने कार्यमा जुट्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । उहाँले कोरोना कुनै राजनीतिक दल वा सरकारको मात्र समस्या नभई साझा समस्या भएकाले सबै मिलेर यसको रोकथाम र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसको संसदीय टोलीको १३ बुँदे ज्ञापनपत्र मङ्गलबार बुझेपछि उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशमा ठूलो सङ्ख्यामा भारतबाट एकै पटक नेपाली स्वेदश आउँदा क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ भएको धारणा प्रधानमन्त्रीको रहेको जानकारी भेटपछि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले दिनुभयो । प्रधानमन्त्रीले कोरोना उपचारका लागि खरिद गरिएका सामग्रीमा भ्रष्टाचार नभएको र सङ्कटका बेलामा खरिद गर्दा केही महँगो भएको धारणा पनि काँग्रेस टोलीसँग राख्नुभएको जानकारी प्रधानले दिनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाका अनुसार टोलीमा काँग्रेस संसदीय दलका प्रमुुख सचेतक बालकृष्ण खाँण, सांसदहरू भीमसेनदास प्रधान, गगन थापा, पुुष्पा भुसाल र राजन केसी सम्मिलित हुनुुहुन्थ्यो । प्रधानमन्त्रीसँगको भेटमा नेपाली काँग्रेस संसदीय टोलीले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन माग गरेको छ । क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाब परीक्षण गर्नुपर्ने माग काँग्रेसले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपद्बाट जोगाउन अझै पनि सरकारले गर्नैपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसले स्वाब सङ्कलन भएको हप्तौँसम्म परीक्षणको रिपोर्ट नआउने, कैयाँै दिनसम्म स्वाब सङ्कलन नहुने अवस्था तत्काल अन्त्य गर्न माग गर्दै निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालासँग साझेदारी गर्न, क्वारेन्टाइन व्यवस्थापन राम्ररी गर्न, स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोतसाधन तथा जनशक्ति तत्काल उपलब्ध गराउन जोड दिएको छ ।
सङ्क्रमितहरूको पहिचान हुने बित्तिकै सम्पर्कमा आएका व्यक्तिलाई उचित क्वारेन्टाइन, परीक्षण र आइसोलेसन गराउन माग गरिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री, सुरक्षा र सुविधा तथा प्रोत्साहनको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
काँग्रेसको ज्ञापनपत्रमा भनिएको छ, “सरकारले हरेक प्रदेशमा तुरुन्त एक अक्सिजन प्लान्ट बनाउन पहल गरोस्, यो केही करोड रुपियाँमा र केही हप्तामै पूरा हुन सक्ने र हजारौँको ज्यान जोगाउन सक्ने योजना रहेको छ ।” स्वास्थ्य सामग्रीहरू समयमै आपूर्ति, भण्डारण गर्ने र प्रयोग गर्नुपर्ने निकायमा पनि समयमै पर्याप्त रूपमा उपलब्ध गराउने व्यवस्था गरियोस् भन्दै काँग्रेसले कोरोनाका लागि भएको खर्चको पूरा विवरण सार्वजनिक गर्न माग गरेको छ । सरकारले यसअघि नै करिब नौ अर्ब रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरिसकेको छ ।
विदेशबाट नागरिक उद्धार गर्दा हवाई भाडा, चार्टर विमानको भाडा लगायतमा घोटाला भएका तथ्यहरू बाहिर आएका छन् भन्दै ज्ञापनपत्रमा सम्पूर्ण विवरण संसद्मा प्रस्तुत गर्न आग्रह गरिएको छ । यस्तै जोखिममा रहेका परिवारलाई न्यूनतम राहत सामग्री उपलब्ध गराउन स्थानीय सरकारलाई आवश्यक स्रोत सुनिश्चित गर्न, गुणस्तरीय राहत वितरण, पारदर्शी र व्यवस्थित गर्न पनि माग गरिएको छ ।
अविलम्ब सम्बन्धित गन्तव्य मुलुक, रोजगारदातासँग समन्वय गरी परीक्षण गरेर ल्याउने, क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर घर पठाउने व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ । देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारी सिर्जना गर्न आवश्यक भएकाले स्थानीय तहमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न आग्रह गरिएको छ ।
अहिलेको विपद्ले खाद्य, मल, बीउको अभाव भई भोकमरीको सङ्कट आउन सक्छ भन्दै काँग्रेसले बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजार सुनिश्चित र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउन आग्रह गरेको छ । यस्तै सानो ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र यातायात क्षेत्रका श्रमिक मजदुर, सञ्चालकलगायत तमाम श्रमिक मजदुर र उद्यमीहरूको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस आर्थिक उत्प्रेरणाको प्याकेज घोषणा गर्न पनि माग गरिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थी, अपाङ्गता भएका विद्यार्थी यस्तो वैकल्पिक सिकाइमा समावेश हुन नसक्ने भएकाले स्थानीय तहलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई विद्यालयसम्म पुग्ने सुनिश्चित गर्न जोड दिइएको छ । मनोसामाजिक परामर्शको व्यवस्था गर्न र महिलामाथि हुने हिंसालगायतका घटनाको नियन्त्रणका लागि प्रभावकारी सुरक्षाको व्यवस्था गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?