logo
२०८१ बैशाख २४ सोमवार



बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’

मुख्य समाचार |


बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’


दीपक श्रेष्ठ

काठमाडौँ, भदौ ७ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ ।
कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको यो औषधि नेपाल ल्याउन अनुमति नहुँदा यसअघि पनि लुकिछिपी ल्याएर प्रयोग गरिएको थियो ।
औषधि व्यवस्था विभागले साउन ३१ मा सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित ‘रेम्डेसिभिर’ आयात गर्न अनुमति दिएको थियो । यो औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि अनुमति दिइसकेको छ । आयात अनुमति प्राप्त भएपछि नेपाली आयातकर्ताले शुक्रबार नै ‘रेम्डेसिभिर’ औषधि ल्याइसकेका छन् ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार भारतका तीनवटा कम्पनीमा उत्पादित दुई÷दुई हजार भाइल औषधि (खोप) ल्याउन अनुमति दिइएको छ । भारतमै समेत यो औषधिको अभाव रहेकाले प्रभावकारिताका आधारमा थप माग गरिने महानिर्देशक ढकालले बताउनुभयो । नेपालमा यो औषधि सिनर्जी ओभरसिज प्रालि र यतिकेम प्रालिले ल्याउने अनुमति पाएको छ ।
महानिर्देशक ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड अनुसार कोभिड–१९ सङ्क्रमितको अनुमतिमा मात्र ‘रेम्डेसिभिर’ प्रयोग गर्न पाइने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा तोकिएका अस्पतालको फार्मेसीबाट मात्र यो औषधि बेच्न पाइनेछ । अस्पतालको अति सघन कक्ष (आईसीयू)मा उपचाररत र भेन्टिलेटरमा जाने अवस्थामा रहेका बिरामीमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न पाइने महानिर्देशक ढकालले जानकारी दिनुभयो । कोरोनाको लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई यो औषधि प्रयोग गर्न मिल्दैन ।
उहाँले अनुसन्धानकै क्रममा रहेकाले ‘रेम्डेसिभिर’ खुलेआम बेच्न नमिल्ने र यसको प्रभावकारिता हेरेर थप निर्णय लिइने बताउनुभयो । उहाँले कोभिड–१९ उपचारमा अन्य विकल्प पनि छैनन्, त्यसैले जोखिम हेर्दै औषधि ल्याउन अनुमति दिइएको हो । कोरोना उपचारको अचुक औषधि चाहिँ यो होइन भनेर स्पष्ट पार्नुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. रक्षा श्रेष्ठले यसअघि पनि वैकल्पिक माध्यमबाट ल्याइएको ‘रेम्डेसिभिर’ को प्रयोगले बिरामीमा राम्रो परिणाम दिएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमित भई आईसीयूमा पुगेका बिरामीलाई यो औषधिले राम्रो काम गरेको छ । केही चिकित्सक निको भएर घर गइसक्नुभयो भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?