logo
२०८१ बैशाख १७ सोमवार



बढ्दै छ अनलाइन जुवाको जालो

‘ट्र्याकिङ’ प्रविधि र कारोबारीविरुद्ध कानुन अभाव

मुख्य समाचार |


बढ्दै छ अनलाइन जुवाको जालो


काठमाडौँ, माघ १७ गते । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ ग¥यो । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला छन् ।

दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्‍टुरेन्टमा वीरेन्द्र मानन्धरले अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालन गरेको खुलेको छ । मोबाइलमा बिङ्गो एपबाट जुवाका खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइलसहित छ लाख १९ हजार २५० रुपियाँसमेत बरामद गरेको जनाएको छ ।

यही माघ ११ गते पनि काठमाडौँको ठमेलबाट अनलाइन जुवा सञ्चालन गर्ने बागलुङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह पक्राउ परेका थिए । सोह्रखुट्टेबाट खटिएको प्रहरीले उनीहरूका साथबाट एक लाख ५५ हजार नगद र लाखौँका बैङ्क भौचर तथा चेक बरामद गरेको थियो । पक्राउ परेका क्षेत्रीले सञ्चालन गरेको होस्टेलबाट अनलाइन बेटिङ र सट्टेबाजीसमेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जुवा कमिसन विवादपछि प्रहरीले सो घटना पत्ता लगाएको थियो ।

यस्तै काठमाडौँको कीर्तिपुरबाट यही माघ ६ गते अनलाइन जुवा तथा ‘मिनी क्यासिनो’ नै सञ्चालन गरेको आरोपमा १२ जना पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले पक्राउ गरेका उनीहरूले कीर्तिपुरका फरक–फरक तीन ठाउँबाट विदेशमा जुवा खेलाउने गरेका थिए । गत असार १४ गते ठमेलबाट पक्राउ परेका छ चिनियाँ नागरिकसमेत अनलाइन जुवा सञ्चालक भएको खुलेको थियो । उनीहरूबाट प्रहरीले एक लाख २३ हजार नगद तथा जुवा सञ्चालन गर्ने विभिन्न उपकरणसमेत बरामद गरेको थियो ।

अनलाइन एपमार्फत कम्तीमा पनि १० डलर वा सोभन्दा माथिको जुवाको कारोबार हुने गरेको खुलेको छ । पन्ध्रवटा फरक नम्बरबाट टिकट लिएपछि जुवा खेलमा सहभागी हुन पाइने र विजेताबाट सञ्चालकले कमिसन लिने बिङ्गो खेलमा विजेताले पाउने पुरस्कारको रकमसमेत पहिले नै तोकिएको हुन्छ ।

यसअघि गुल्मी, चितवन, नवलपरासी, धनगढी, नुवाकोटलगायतका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जुवाडे पक्राउ परेका थिए । यी घटनाक्रमले नेपालमा पछिल्लो समय अवैध रूपमा अनलाइन जुवाको कारोबार वृद्धि भएको देखाएको छ । यसमा अनलाइन जुवा पनि थपिएको छ तर त्यसका लागि अनुगमन र कारबाहीको पक्ष भने कमजोर छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले कोरोना सङ्क्रमण फैलिएसँगै अनलाइनको प्रयोग बढेपछि अवैध रूपमा हुने जुवाको कारोबार बढेको अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइन जुवाको ‘ट्र्याकिङ’ गर्ने प्रविधिको अभाव र जुवा कारोबारीविरुद्ध कडा कानुन नभएका कारण यस्तो गतिविधि बढ्नसक्ने देखिन्छ ।” उहाँले अवैध रूपमा सञ्चालन भइरहेको जुवाको कारोबार नियन्त्रण गर्न प्राविधिक पक्ष बलियो बनाउनुपर्ने र कानुनमा अझ कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अनलाइनबाट सञ्चालन हुने कतिपय एप्स नेपालमा खुलेआम प्रयोग हुनु र कानुनी कारबाहीको पक्ष कमजोर हुँदा यस्तो कारोबार बढ्ने क्रममा रहेको प्रहरीको दाबी छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?