logo
२०८१ बैशाख १४ शुक्रवार



चार हिमाल सफाइमा नेपाली सेना

वार्षिक ५० हजार पर्यटक र ८० हजार सहयोगीले फ्याँकेका फोहोर सफा गरिँदै

मुख्य समाचार |


चार हिमाल सफाइमा नेपाली सेना


काठमाडौँ, चैत २८ गते । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उहाँका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् ।
आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल अरोहण सम्पन्न गरेका अनुभवी अधिकृतलाई सफाइ अभियानको जिम्मेवारी दिएको छ ।

सगरमाथा, ल्होत्से सफाइमा १२ जना र कञ्चनजङ्घा र मनास्लुमा नौ–नौ जना गरी ३० अनुभवी सेनालाई खटाइएको छ । यी फरक–फरक टोलीलाई नौजना हिमाल आरोही शेर्पाले समेत आवश्यक सहयोग तथा परामर्श दिनेछन् । अभियानमा सेनाका विशिष्ट चिकित्सक, प्राविधिक तथा सरोकारवाला निकाय गरी ९२ जना रहेका छन् ।

नेपाल सरकारले हिमाल सफा राख्ने अभियानअन्तर्गत सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो । हिमाल आरोहण क्रममा आरोहीले प्रयोग गरी बेवारिसे अवस्थामा फ्याँकेका वस्तुका कारण हिमाल फोहोर बन्दै गएपछि सरकारले यस्तो अभियान घोषणा गरेको हो । जसको कार्यान्वयन तथा नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।

सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको पहिलो वर्ष विभिन्न हिमालबाट झन्डै ११ टन, सन् २०२१ मा पाँचवटा हिमालबाट २६ टन फोहोर सङ्कलन गरेको थियो भने सन् २०२२ मा ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । जम्मा भएको फोहोर सङ्कलन गरी नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने र कुहिने फोहोर स्थानीय सरकारलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ । अभियानमा शेर्पा सैनी, समन्वय समिति, कार्यसमितिको समेत सहभागिता रहनेछ ।
नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठवटा र छ हजार मिटरभन्दा अग्ला एक हजार ३१० वटा हिमाल छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?