logo
२०८१ बैशाख १५ शनिवार



अवकाशपछिको पुनर्मिलन

शनिवार |


अवकाशपछिको पुनर्मिलन


नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कैलालीकी १०६ वर्षीया पूर्वसैनिककी श्रीमती भद्रकाली कठायतको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सु–स्वास्थ्य दीर्घायुको कामना गर्दै सम्मान प्रकट गर्नुभयो । तत्कालीन कालीजङ्ग गुल्मबाट अवकाश प्राप्त स्वर्गीय जमदार घुमसिंह कठायतकी श्रीमती भद्रकाली कठायत भूपू सैनिक परिवारकै सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ ।

प्रधानसेनापतिसँगको प्रत्यक्ष कुराकानीपछि सेनापतिबाटै सम्मान पाउँदा डोटी, सिलगढी–५ निवासी पूर्वसैनिक ८४ वर्षीया जमदार लक्षिमन भण्डारी, केआई सिंह–५ निवासी ८६ वर्षीया एकल महिला श्रीमती खिमादेवी राना भावुक हुनुभयो । गत चैत ९ गते नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गत दिपायलको पाँच नम्बर बाहिनी अड्डाअन्तर्गतको राजपुर ब्यारेक र चैत १० गते कैलालीको तेघरीस्थित भवानी दल गणमा आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’मा देखिएका दृश्य हुन् यी ।
नेपाली सेना पूर्वसैनिकसँग पुनर्मिलन तथा भोगेका अनुभव साटासाट गर्ने उद्देश्यले सेनाको पश्चिम कमान्डअन्तर्गतका १९ जिल्ला भ्रमणको क्रममा छ । विभिन्न कार्यक्रममार्फत अवकाश प्राप्त सैनिकसँगको पुनर्मिलन गर्ने नेपाली सेनाको मौलिक चलन द्वन्द्व सुरु भएपछि वि.सं. २०५५ देखि २०७० सम्म रोकिएको थियो ।

सुदूरपश्चिम प्रदेशका नौ, कर्णाली प्रदेशका आठ र लुम्बिनी प्रदेशका दुई (बाँके र बर्दिया) समेटिएर बनेको नेपाली सेनाको पश्चिम कमान्डका जिल्लामा यस वर्ष अवकाश प्राप्त सैनिक र आश्रित परिवारलाई पायक पर्ने स्थान अर्थात् पेन्सन बुझिरहेकै स्थानमा सम्मेलन भइरहेका छन् । दिपायल तथा धनगढीमा आयोजना गरिएको सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने झन्डै तीन हजार पूर्वसैनिक परिवार र आश्रित परिवारसँग पुनर्मिलन सम्पन्न भएको छ ।

विशेषज्ञसहितको निःशुल्क घुम्ती स्वास्थ्य सेवा घरदैलो नजिकैमा पाउँदा दूरदराजका पूर्वसैनिक परिवार आफ्नो पूर्वसंस्थासँग थप नजिक रहेको अनुभूति गरिरहेका थिए । कर्णाली प्रदेशसहितका आठ जिल्लाका तेस्रो चरणको सम्मेलन चैत २० र २१ गते सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टरमा र चौथो चरणको सम्मेलन लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके, बर्दियालाई समेटेर नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा आयोजना गरिनेछ । पूर्वसैनिकलाई बोलीले हैन, कार्यक्रमले नै सम्बोधन गर्ने उद्देश्यले ‘वेलफेयर भिजन २०३०’ कार्ययोजना अघि बढाइएको छ । जसको माध्यमबाट सैनिकलाई थप प्रभावकारी र अवकाश प्राप्त तथा आश्रित परिवारका असीमित चाहनाको सम्बोधन गर्ने लक्ष्य राखिएको छ । सैनिक कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने तथा यस कार्यक्रममार्फत स्रोत, साधन र क्षमताले भ्याएसम्म सेवा सुविधा थप गर्दै लगिने पनि कार्यक्रम रहेको छ । अवकाशपछिको जीवन थप सहज बनाउने र पूर्वसैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान उँचो बनाउनेलगायतका बुँदा ‘वेलफेयर भिजन २०३०’मा प्राथमिकताका साथ समेटिएका छन् ।

सुख–दुःखमा नेपाली सेना
सैनिक कल्याणकारी बोर्ड पूर्वसैनिकको अभिभावक हो भन्दा फरक पर्दैन । भूपू र आश्रित परिवारलाई कसरी समुन्नत बनाउने भन्नेबारे विभिन्न अध्ययन तथा कार्ययोजना बोर्डमार्फत तयार हुँदै आएको छ । यसको शृङ्खला पनि हो– भूतपूर्व सैनिक सम्मेलन ।
नेपाली सेनाको समन्वय तथा कल्याणकारी बोर्डको आयोजनामा जारी सम्मेलन पूर्वसैनिक र आश्रित परिवारसँग सुखदुःख साट्ने चौतारी बनेको छ । फौजी सेवासँगै रहेका हितैषीहरू अवकाशपछि लाखापाखा भई विरानो बन्ने अवस्थाको अन्त्य गर्ने उद्देश्य सेनाको देखिन्छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सैनिक कल्याणकारी बोर्ड र सैनिक कल्याणकारी महानिर्देशनालयको संयोजनमा भइरहेको सम्मेलन झन्डै ९० हजार भूपू सैनिक र आश्रित परिवारकै जमिनमा गएर पुनर्मिलन गर्ने उद्देश्य रहेको बताउनुभयो । प्रवक्ता सिलवालले बहालवाला, भूपू र आश्रित गरी झन्डै १० लाख हिताधिकारीलाई चार ‘स’ अर्थात् शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सेवासुविधासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । हिताधिकारीहरूको उत्साहपूर्ण सहभागिताबाट कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई अझ व्यापक तथा बहुआयामिक बनाउने लक्ष्य सेनाले लिएको छ । कार्यक्रममा फरक क्षमता तथा अशक्त पूर्वसैनिक परिवारलाई ह्विल चेयर, बैसाखी पनि वितरण गरियो ।

अवकाशपछिको अवसर
लामो समय सेनामा काम गरेर बाहिरिनेबित्तिकै अब के गर्ने भन्ने अन्योल आम पूर्वसैनिकमा हुनु स्वाभाविकै हो । घरायसी व्यवहार तथा र व्यावसायिक अनुभवबाट लामो समय टाढा रहेका पूर्वसैनिकलाई अवकाशपछि यस्तो अन्योल नहोस् भन्ने उद्देश्यले नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड गठन गरी पूर्वसैनिकको पुनर्उत्थान गर्ने लक्ष्य राखेको छ ।

सेनाले भूपू सैनिक र तिनका परिवारलाई समेत स्वावलम्बी तथा स्वरोजगार बनाउने उद्देश्यले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साना तथा मझौला व्यवसाय सञ्चालन गर्न बैङ्कहरूको सहकार्यमा बोर्डले हालसम्म १० हजारभन्दा धेरै पूर्वसैनिक र आश्रित परिवारलाई झन्डै सात अर्ब रुपियाँ सहुलियत दरमा ऋणसमेत उपलब्ध गराइसकेको छ । ऋण लिएर सफल व्यवसायी बनेका सर्वोत्कृष्ट उद्यमीलाई बोर्डले पुरस्कार तथा सम्मान प्रदान गरी उत्प्रेरित गरिरहेको छ ।

नेपाली सेनाका चार कमान्डअन्तर्गत नेपालभर ८५ हजार भूपू सैनिक र आश्रित एकल महिलासँग पुनर्मिलन गर्ने लक्ष्य सेनाले राखेको छ । फौजी समयमा रमाइलो गरी छुटेका साथी एक्कासि भेट हुँदा व्यक्त हुने खुसीको दृश्य सम्मेलनको आकर्षण बनेको छ । सम्मेलनमा वृद्धा भूपू सैनिकले गर्ने मार्चपास, स्थानविशेषको झाँकी, संस्कृति झल्किने नाच, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी मास तथा सैनिक ब्यान्डको प्रस्तुति पनि गरिन्छ ।

दूरदराजमा रहेका भूपू सैनिक र तिनका परिवारलाई प्रदान गरिने विशेषज्ञसहितको स्वास्थ्य शिविरमा शल्यक्रिया, स्त्रीरोग, बालचिकित्सा, आँखा, नाक, कान, घाँटी, दाँत, एक्स–रे, फार्मेसी, प्याथोलोजी, हाडजोर्नीलगायतका स्वास्थ्योपचार सेवा प्रदान गरिँदै आएको छ । दिपायलको पाँच नम्बर बाहिनी अड्डा राजपुर ब्यारेकमा ६५० र कैलालीको तेघरीस्थित भवानीदल गणमा आयोजना भएको सम्मेलनमा दुई हजार ३०० भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता थियो । स्रोत–साधन र क्षमताले भ्याएसम्म कल्याणकारी सेवा सुविधा विस्तार तथा अभिवृद्धि गर्ने लक्ष्य सेनाको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?