logo
२०८० चैत्र १५ बिहीवार

   बाध्यताको यौन बन्धन   



स्वतन्त्र खेल मैदानमा प्रतिस्पर्धा

मुख्य समाचार |
खेलकुद |


स्वतन्त्र खेल मैदानमा प्रतिस्पर्धा


काठमाडौँ, चैत २० गते । काठमाडौँको सानो गौचरणस्थित मैदानमा शुक्रबार लालीगुँरास र सुनाखरी समूहबीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा भयो । महिला मात्र सहभागी रहेको खेल अतिरिक्त समयमा सुनाखरीले एक गोल गरेपछि सकियो ।खेलमा सहभागी लालीगुँरास विभिन्न समयमा यौन शोषणका लागि भारतका कोठीमा बेचिएर माइती नेपालमार्फत उद्धार गरी फर्काइएका महिला सहभागी हुन् । लालीगुँरासमा भने बाध्यतावश नेपालमै यौन व्यवसायमा संलग्न महिलाको प्रतिनिधित्व थियो ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा नेपाली फुटबल टिमका पूर्वकप्तान अच्युतकृष्ण खरेलले बल दिएर खेल सुरु भएको थियो । खेलाडीसँगै मैदानमै रहनुभएकी माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले महिला तथा बालिकाको बेचबिखन मानवताविरुद्धको अपराध भएको बताउँदै भन्नुभयो “थोरै समयमा गरिएको अभ्यासबाट खेलाडीले राम्रो खेल प्रस्तुत गरे । यसबाट उनीहरूले अवसर पाए जस्तोसुकै चुनौतीलाई सामना गर्न सक्छन् भन्ने प्रमाणित हुन्छ ।”

माइती नेपालको ३०औँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलका दर्शकसमेत भारतका कोठीमा बेचिएर उद्धार गरिएका, बलात्कृत बालिका तथा महिला र बाबुआमाले अलपत्र छाडेका बेवारिसेसहित बाध्यतामा यौन व्यवसायमा संलग्नहरू थिए ।
विभिन्न प्रलोभन तथा झुक्याएर वार्षिक १२ हजारभन्दा बढी महिलाको बेचबिखन हुने गरेको र भारतका कोठीमा बेचिएका दुई लाखभन्दा धेरै महिलाको अझै पनि उद्धार हुन नसकेको विभिन्न अनुसन्धानबाट खुलेको छ । स्थापनाको ३० वर्षमा माइती नेपालले भारतका कोठीमा बेचिएका ५० हजारभन्दा बढी महिला तथा किशोरीको उद्धार गरेको छ ।

सानैमा अभिभावक गुमाएका, बेवारिसे र बलात्कारमा परेका झण्डै पाँच सय बालबालिकालाई माइती नेपालले संरक्षणसमेत गरिरहेको छ । माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले बेचबिखनमा परेका महिलालाई हेर्ने दृष्टिकोण, उनीहरूमा देखिएका एचआईभीलगायत स्वास्थ्य समस्या र उनीहरूमाथि हुने विभेदको अवस्था भयावह रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?